एमाले निकट युवा नेता खिम शाहीमाथि अज्ञात समुहद्धारा आक्रमण

जाजरकोट । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघका बारेकोट गाउँपालिका सह–संयोजक खिमराज शाहीमाथि अज्ञात समूहले आक्रमण गरेको छ । बिहिवार जिल्लाको नलगाड नगरपालिका–५ सिर्केमा ४ जनाको समुहमा आएका अज्ञात समुहले आक्रमण गरेको हो । बिहिवार चैत १ गते साँझ भएको आक्रमणबाट शाही सामान्य घाइते भएका छन् । शाही आफ्नो गाउँ फर्कँदै गर्दा दाइ नाता पर्ने पहलबहादुर वलीको घरमा खाजा खाइरहेका थिए । त्यही बेला मुखमा माक्स लगाएका आफूलाई राजाबादी बताउने हातमा हतियार बोकेका चार जनाको समूह आएर उनिमाथि आक्रमण गरेका थिए । स्थानीयवासीहरूले समयमै उद्धार गरेपछि उनी गम्भीर चोटबाट बच्न सफल भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । शाही जाजरकोटको बारेकोट गाउँपालिका–९ सक्लाका स्थायी बासिन्दा हुन् । उनका बुबा बारेकोट ९ का वडा अध्यक्ष दानबहादुर शाही हुन् ।

प्रहरीले प्रारम्भिक अनुसन्धानमा आक्रमण “पूर्वनियोजित र राजनीतिक कारणले प्रेरित” हुन सक्ने बताएको छ ।“आक्रमणमा संलग्न समूहले मुखमा माक्स र टोपी लगाएका थिए, उनीहरूलाई स्थानीयले नचिनेका हुन्,” इलाका प्रहरी कार्यालय दल्लीका एक अधिकारीले भने, “गणतन्त्र र लोकतन्त्रको पक्षमा सक्रिय भएकै कारण उनीमाथि लक्षित आक्रमण भएको हुन सक्छ ।”शाही लामो समयदेखि ग्रामीण क्षेत्रमा राजतन्त्र पुनःस्थापनाको जोखिमबारे सचेतना फैलाउँदै आएका थिए । उनले जाजरकोटको विभिन्न गाउँमा सडक नाटक, गीत, कविता र छलफलमार्फत लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणमा आवाज उठाउँदै आएका थिए । “देशमा फेरि राजा आउने कुरा केवल भ्रम हो,” उनले केही समयअघि एक कार्यक्रमा भनेका थिए, “राजा फर्कने कुरा गणतन्त्रको अपमान हो र युवा पुस्ताको भविष्यमा ठेस हो ।”
नेकपा (एमाले) जाजरकोटले घटनाप्रति कडा आपत्ति जनाएको छ । पार्टीका जिल्ला अध्यक्ष खिम बहादुर शाहले घटनाको आपत्ति जनाएका छन् ।, जिल्ला सदरमुकाम खलंगामा एक कार्यक्रमको आयोजना गरि अध्यक्ष शाहीलाइ आक्रमण गर्ने समुहलाई तत्काल कारबाहीको दायरामा ल्याउन जोडदार माग गरेका छन् । “हाम्रो पार्टीका युवा संघको सह–संयोजक खिमराज शाहीमाथि भएको आक्रमण केवल एक व्यक्तिमाथिको हिंसा होइन, यो गणतन्त्रको पक्षमा बोल्ने आवाजलाई धम्क्याउने प्रयास हो ।”पार्टीले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरेको छ । “राजनीतिक असहमतिलाई हिंसात्मक रूप दिनु अत्यन्त निन्दनीय काम हो,” शाहीले भनेका छन्, “गणतन्त्र र संविधानको रक्षाका लागि एमाले र यसको जनसंगठन सदैव अग्रपंक्तिमा रहन्छ ।” “खिमराज शाहीजस्ता सचेत युवा नेतामाथि भएको आक्रमणले राज्यको सुरक्षा संयन्त्रप्रति प्रश्न उठाएको छ ।

हामी आक्रमणकारीलाई चाँडो पहिचान गरी कानुनी कारबाहीको माग गर्दछौं ।” शाहीमाथि आक्रमण भएको खबर सुन्नासाथ गाउँभरका स्थानीयहरु घटनास्थल पुगेको नलगाड नगरपालिका ४ का वडा अध्यक्ष बद्री बहादुर पन्तले बताए । स्थानीय युवाहरूले घटनापछि गाउँमा असुरक्षाको भावना बढेको बताएका छन् । “खुलेर विचार राख्ने मान्छेलाई यसरी धरपकट, धम्क्याइने हो भने गाउँमा बोल्ने संस्कार हराउँछ,” अर्को एक युवाले भने, “प्रहरीले तुरुन्त दोषी पक्राउ गर्नुपर्छ ।”
आक्रमणपछि केही समय विश्राममा रहेका खिमराज शाही अहिले सामान्य अवस्थामा छन् । उनीले आफ्ना समर्थकहरूलाई नआत्तिन आग्रह गरेका छन् ।
“मलाई डर छैन,” उनले फोनमार्फत भने, “यो आक्रमणले मेरो उत्साह घटाएको छैन, बरु गणतन्त्र र जनताप्रतिको जिम्मेवारी अझ बढाएको छ ।” जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार घटनामा संलग्न समूहको पहिचान गर्न खोजीकार्य भइरहेको छ । “हामीले शंकास्पद व्यक्तिहरूको विवरण संकलन गरिरहेका छौं,” प्रहरी प्रवक्ताले भने, “छिट्टै दोषी पत्ता लगाएर कानुनी कारबाही गरिनेछ ।” शाही नेकपा एमालेको सकृय राजनितिमा रहेका छन् ।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया