
जाजरकोट । जाजरकोटको भेरी नगरपालिका–१, बराहथानमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित चारजना घाइते भएका छन्।
मंगलबार बिहान करिब ९ः१० बजे जाजरकोट कुशे गाउँपालिका–५ का २५ वर्षीय भीम परियारले चलाएको भे.२ त.१६७३ नम्बरको ट्याक्टर सरिया लोड गरेर खलंगाबाट कालेगाउँतर्फ जाँदै गर्दा ओरालोमा सडकमै ट्रयाली पल्टिएर दुर्घटना भएको थियो।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक हरिराम डाँगीका अनुसार दुर्घटनामा घाइते हुनेहरूमा ट्याक्टर चालक कुशे गाउँपालिका–५ बस्ने २५ वर्षीय भीम परियार, भेरी नगरपालिका–४ बस्ने २१ वर्षीय प्रकाश वादी, छेडागाड नगरपालिका–५ बस्ने १८ वर्षीय बालकृष्ण परियार र सोही ठाउँका १८ वर्षीय धर्मराज खड्का रहेका छन्।
घाइते चारजनालाई थप उपचारको लागि जिल्ला अस्पताल जाजरकोटबाट नेपालगंज रिफर गरिएको प्रहरी निरीक्षक डाँगीले जानकारी दिए।






विनोद कुमार घर्ती (रिदम) । २०८१ फाल्गुन २१ गते बुधवार