ब्लड क्यान्सर पीडित सुस्मिता विकको जीवन बचाउन परिवारको हृदयविदारक अपिल

जाजरकोट । भेरी नगरपालिका–२ की १७ वर्षीया सुस्मिता विक ब्लड क्यान्सरबाट पीडित छिन् । हाल काठमाडौंस्थित पाटन अस्पतालको हेमाटोलोजी वार्ड, बेड नम्बर ५ मा उपचाररत सुस्मिताको जीवन बचाउन उनका परिवारले हृदयविदारक अपिल गरेका छन् ।

सुस्मिताकी आमा सुन्तोली चनराले आर्थिक अभावका कारण छोरीको उपचार गराउन नसक्ने बताएकी छन् । ‘मेरो परिवार अहिले ठूलो संकटमा छ । मेरो आर्थिक अवस्थाले अब सुस्मितालाई बचाउन सक्ने स्थिति छैन,’ उनले भनिन् । उनका श्रीमान् आरनको काम गरेर गुजारा चलाउने भए पनि दैनिक आवश्यक खर्च जुटाउनसमेत मुस्किल पर्ने अवस्था रहेको छ ।
चिकित्सकका अनुसार, सुस्मितालाई निरन्तर अस्पतालमै राखेर उपचार गर्न आवश्यक छ, जसका लागि ठूलो आर्थिक खर्च लाग्नेछ । तर, परिवारको आर्थिक अवस्था अत्यन्त कमजोर भएकाले थप उपचारका लागि सहयोगको आवश्यकता परेको छ ।


आमाले सहयोगका लागि सबैलाई आग्रह गर्दै भनिन्, ‘भगवानरूपी सहयोगी मनहरू समक्ष म विनम्र अनुरोध गर्दछु, तपाईंहरूको सानो सहयोगले मेरो छोरीलाई नयाँ जीवन दिन सक्छ । कृपया सकेको सहयोग गरी सुस्मिताको जीवन बचाइदिनुहोस् । म छोरीको कम्प्युटर अपरेटर बन्ने सपना पूरा गर्न चाहन्छु, म उनलाई खुला आकाशमा फर्काउन चाहन्छु । पैसाको जोहो गर्न मैले भएको सबै सम्पत्ति बेचिसकेँ, तर औषधि किन्नसमेत पुग्दैन ।’

सुस्मिता विकलाई आर्थिक सहयोग गर्न इच्छुक व्यक्तिहरूले नेपाल बैंकको खाता नम्बर ०७५१०६०७८५७४५१००००१ मा रकम जम्मा गर्न सक्नुहुन्छ । थप जानकारीका लागि सुस्मिताकी आमासँग ९८४१८३६७८७ नम्बरमा सम्पर्क गर्न सकिन्छ ।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया