कार्कीज्युला मेलामा भएको गोली प्रहारप्रति एमाले जाजरकोटको गम्भीर ध्यानाकर्षण

जाजरकोट । बारेकोट गाउँपालिकामा परम्परागत रूपमा लाग्ने कार्कीज्युला जात्रामा मंसिर २ गते भएको गोली प्रहार घटनाप्रति नेकपा (एमाले) जिल्ला कमिटी जाजरकोटले कडा आपत्ति तथा गम्भीर ध्यानाकर्षण जनाएको छ। जात्रा व्यवस्थापन समितिका संयोजक तथा एमालेका पूर्व जिल्ला कमिटी सदस्य विष्णु बहादुर सिंहका छोरा, राष्ट्रिय युवा संघ नेपाल अन्तर जिल्ला विशेष प्रदेश कमिटी सदस्य यमराज सिंहमाथि ज्यानमार्ने उद्देश्यले गोली चलाइएको भन्दै पार्टीले घटनाको तीव्र भर्त्सना गरेको हो।

विज्ञप्ति अनुसार वडा नं. ६ बस्ने बि.क.ले जात्राको भीडभाडकै बीच लक्ष्यित रूपमा गोली प्रहार गरी सिंहलाई गम्भीर घाइते पारेका छन्। स्थानीय संस्कार, परम्परा र सामुदायिक सद्भाव प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको जात्रामा दिनदहाडै भएको यस्तो अमानवीय घटना, समाजमा फैलँदो अराजकताको स्पष्ट उदाहरण भएको एमालेको निष्कर्ष छ।

जिल्ला कमिटीका अनुसार टेकबहादुर बि.क. यसअघि पनि गैरकानुनी हातहतियार गतिविधिमा संलग्न रहेको तथ्य सार्वजनिक भइसकेको हुँदा पुनः आतंक फैलाउन नदिन राज्य संयन्त्रले तत्काल कडास्तरसम्मको कारबाही गर्नुपर्ने आवश्यकता औँल्याइएको छ।

एमालेले अपराधीलाई शीघ्र पक्राउ गरी कडा कानुनी कारबाही गर्न, गम्भीर घाइते यमराज सिंहको उपचार खर्च तथा आवश्यक व्यवस्थापन तुरुन्तै राज्यले सुनिश्चित गर्न तथा आगामी दिनमा यस्ता घटना पुनः नदोहोरियोस् भनेर जिल्लामा शान्ति–सुरक्षा प्रवर्द्धनका उपायहरू कडाइका साथ लागू गर्न सम्बद्ध निकायको ध्यानाकर्षण गराएको छ।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया