नेपाल-भारत मैत्री संघद्वारा रिसाङका बाढीपीडितलाई खाद्यान्न सामग्री हस्तान्तरण

जाजरकोट । जाजरकोटको भेरी नगरपालिका-२ रिसाङका बाढीपीडितका लागि नेपाल–भारत मैत्री संघ, केन्द्रीय कार्यालय काठमाडौंले खाद्यान्न सामग्री सहयोग गरेको छ।

नेपाल-भारत मैत्री संघ जाजरकोटको समन्वयमा पठाइएको राहत सामग्री जिल्ला प्रशासन कार्यालय जाजरकोटको सहजीकरणमा बाढीपीडितलाई हस्तान्तरण गरिएको हो। राहत सामग्रीमा ६२५ केजी चामल, ३० लिटर तेल र २० केजी दाल रहेको छ।

उक्त राहत सामग्री नेपाल-भारत मैत्री संघ जाजरकोटका अध्यक्ष प्रवेशविक्रम शाहले बुधबार होल्डिङ सेन्टरमा पुगेर हस्तान्तरण गरेका हुन्। बाढीपहिरोबाट प्रभावित रिसाङका परिवारलाई तत्काल खाद्यान्न सहयोग पु¥याउने उद्देश्यले राहत सामग्री उपलब्ध गराइएको जनाइएको छ।

राहत सामग्री हस्तान्तरण कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता कमाण खड्का, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य दिपक खनाल, नेपाल तरुण दलका केन्द्रीय सदस्य रमेश चन्द, नेपाल विद्यार्थी संघ जाजरकोटका अध्यक्ष अनिश कार्की तथा जाजरकोटका सक्रिय युवा अभियन्ता द्वय मविन जङ्ग शाह, विरेन्द्र शाही लगायतको सहभागिता रहेको थियो।

विपद्को समयमा बाढीपहिरो प्रभावित परिवारलाई आवश्यक खाद्यान्न तथा अन्य राहत सामग्री उपलब्ध गराउन सबै पक्षबाट सहयोग र सहकार्य आवश्यक रहेकोमा कार्यक्रममा सहभागीहरूले जोड दिएका थिए।

यसैबीच, रिसाङसम्म पुग्ने चारैतिरका सडक बाढीपहिरोका कारण अवरुद्ध भएपछि राहत सामग्री सम्बन्धित स्थानसम्म पु¥याउन स्थानीय युवाहरूले आफैंले बोकेर लैजानुपरेको थियो। सडक अवरुद्ध हुँदा सवारीसाधनमार्फत राहत सामग्री लैजान सम्भव नभएपछि युवाहरूले जोखिम मोलेर खाद्यान्न सामग्री बोकी प्रभावित परिवारसम्म पु¥याएका हुन्।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया