
जाजरकोट । कर्मचारीहरूको हक–हित र राष्ट्रहितको आन्दोलनका क्रममा सहादत प्राप्त गरेका शहीदहरूको स्मृतिमा जाजरकोटका कर्मचारीहरूले हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरेका छन्। बिहीबार स्वास्थ्य सेवा कार्यालयको सभाहलमा उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
सहिद झपेन्द्र कार्की, मनोज जोशी र सुरेन्द्र विकको स्मृतिमा नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति जाजरकोटले कर्मचारीस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको नेपाल निजामती कर्मचारी संगठन जाजरकोटका अध्यक्ष निराजन बिसीले बताए ।
शहीद स्मृति दिवसको अवसरमा आयोजना गरिएको उक्त कार्यक्रम जिल्लाभरका विभिन्न कार्यालयबाट ९ वटा समूहको प्रतिनिधिमूलक टोलीहरूको सहभागिता रहेको थियो । प्रतियोगितामा देवेन्द्र प्रशाद उपाध्याय नेतृत्वको जिल्ला हुलाक कार्यालय जाजरकोटको टोलीले प्रथम स्थान प्राप्त गर्न सफल भयो । उक्त टोलीमा हरिभक्त विस्वकर्मा र कृति बुढा मगर दुबै डिभिजन वन कार्यालयका रहेका थिए । विजेता टिमलाई नगद रु. ८ हजार रुपैया र प्रमाणपत्र प्रदान गरिएको थियो ।

त्यसैगरी, आशिष बहादुर बिष्ट नेतृत्वको नापी कार्यालयको टोली द्वितीय स्थानमा रह्यो । उक्त टोलीमा दीपक बुढा नापी कार्यालय र रत्नरुपा शाही कोष तथा लेखा नियन्त्रण कार्यालय थिए । दोस्रो हुने टोलीलाई नगद रु. ६ हजार रुपैया र प्रमाणपत्र प्रदान गरियो ।
तेस्रो स्थान भेरी नगरपालिकाको टोलीले प्राप्त गर्यो । सनत दवाडीको नेतृत्वमा रहेको यस टोलीमा धन बहादुर रोकाया र शारदा शर्मा सहभागी थिए । तेस्रो स्थान प्राप्त टोलीलाई नगद रु ४ हजार ५ सय रुपैया र प्रमाणपत्र प्रदान गरियो ।
कार्यक्रमको अध्यक्षता संगठनका जिल्ला अध्यक्ष वि.सी.ले गरेका थिए । प्रमुख अतिथिका रूपमा संगठनका केन्द्रीय सचिवालय सदस्य तथा जाजरकोट जिल्ला इञ्चार्ज डम्बर बहादुर बिष्ट र विशेष अतिथिका रूपमा नेकपा एमाले प्रदेश कमिटी सदस्य टिका वली सहभागिता रहेको थियो भने उक्त हाजिरीजवाफ प्रतियोगिताको संचालन सहजिकरण जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रशासकीय अधिकृत समिर गाैतमले गर्नुभएको थियो ।







विनोद कुमार घर्ती (रिदम) । २०८२ साउन १५ गते बिहिवार