
नेकपा (एमाले) छेडागाड नगर कमिटीले छेडागाड नगर अस्पताललाई कुमारी ट्रस्टको नामबाट नामकरण गर्ने निर्णयको कडा विरोध जनाएको छ । नगर कमिटीले उक्त कदमलाई जनताको स्वास्थ्य अधिकारमाथि कुठाराघात र नगरवासीको अपमानजनक भएको टिप्पणी गरेको छ । नगर कमिटीका अध्यक्ष मोतिलाल वलीले नगर प्रमुखकाे निर्णयले नगरवासीको भावनाविपरीत रहेको बताएका छन् । उनका अनुसार सार्वजनिक संस्थाहरूको नामकरण गर्दा ऐतिहासिक महत्व, स्थान विशेष, वा नगरभित्रका विशिष्ट व्यक्तिहरूको योगदानलाई प्राथमिकता दिनुपर्छ। तर, कुमारी ट्रस्टजस्तो निजी संस्थाको नाम अस्पतालसँग जोडिनु सार्वजनिक सम्पत्तिलाई निजीकरण गर्ने रणनीतिको हिस्सा भएको उनकाे आरोप छ ।
नेकपा (एमाले) छेडागाड नगर कमिटीले एक विज्ञप्ति जारी गर्दै अस्पताल जस्तो सार्वजनिक सेवामूलक संस्थालाई निजी स्वार्थमा प्रयोग गर्ने नगर सरकारको कदमले दीर्घकालीन रूपमा जनतामा नकारात्मक असर पर्ने चेतावनी दिएको छन् । विज्ञप्तिमा नगर अस्पताल स्थानान्तरणसम्बन्धी सहमतिका बुँदाहरूलाई पनि औंल्याइएको छ। सहमतिका शर्तहरूप्रति असहमति जनाउँदै, नगर सरकारको यो निर्णयले सरकारी सम्पत्ति विस्तारै निजीकरण गर्ने षड्यन्त्रको स्पष्ट संकेत गरेको उल्लेख गरिएको छ ।
नगर कमिटीले नगरवासीको सहयोगमा अस्पतालको नामकरणबारे पुनर्विचार गर्न माग गरेको छ। “यदि नामकरण नै गर्नुपर्ने हो भने, छेडागाडकै ऐतिहासिक स्थानहरू वा नगरका विशिष्ट व्यक्तिहरूको नामलाई मान्यता दिनुपर्छ,।“ सार्वजनिक सम्पत्तिको संरक्षण गर्न नगर सरकारसँग माग गरेका छन् । नेकपा (एमाले) छेडागाड नगर कमिटीले यस्ता निर्णय नगरवासीको हितमा नभएको र यसको कार्यान्वयन भएमा कडा विरोध गर्ने चेतावनी दिएको छ ।
नगर अस्पतालको नामकरणप्रति एमालेको आपत्ति






द मालिका पोष्ट । २०८१ पुष २५ गते बिहिवार