जाजरकोटको भेरी नगरपालिका–९ पोषणमैत्री वडा घोषणा

जाजरकोट । भेरी नगरपालिका वडा नं–९ लाई औपचारिक रूपमा पोषणमैत्री वडा घोषणा गरिएको छ। नेपाल सरकारले तोकेको ४९ वटा पोषण सूचकहरू पूरा गरेपछि यो वडा जिल्लामै दोस्रो पोषणमैत्री वडा बन्न सफल भएको हो।

वडाका जनप्रतिनिधि, स्वास्थ्य संस्थाहरू, महिला समूह, समुदायका अगुवा तथा विभिन्न संघसंस्थाको समन्वय र सक्रियताले यो उपलब्धि हासिल गरिएको हो। वडाध्यक्ष हिराप्रसाद शर्माका अनुसार पोषण क्षेत्रमा देखिएका कमजोरीहरू पहिचान गरी निरन्तर अनुगमन, सचेतना कार्यक्रम सञ्चालन र सेवा पहुँच विस्तारसँगै परिणाममुखी कार्यान्वयन गरिएका थिए।

“बालबालिकाको वृद्धि विकास, गर्भवती तथा सुत्केरी महिलाको अवस्था सुधार, पोषणयुक्त खाना तथा सरसफाइको प्रवर्धन जस्ता क्षेत्रमा वडाले प्राथमिकता दिएको थियो,” शर्माले बताए।

पोषणमैत्री वडा बन्नका लागि सूनिश्चित गरिनुपर्ने सूचकहरूमा बालबालिकाको तौल र उचाइ अनुसारको अवस्था, नियमित खोप सेवा, स्तनपान, आयोडिनयुक्त नुन प्रयोग, सरसफाइ, विद्यालयमा पोषण शिक्षा, कुपोषणको पहिचान र उपचार, किशोरी तथा महिलामा रगतको कमी न्यूनीकरण लगायत रहेका छन्।

यो घोषणापछि वडामा थप योजनाबद्ध रूपमा पोषण सुधारका कार्यक्रमहरूलाई निरन्तरता दिने योजना रहेको वडाध्यक्ष शर्माले जानकारी दिए। कार्यक्रममा महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा, स्वास्थ्य शाखा, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा स्थानीयको बाक्लो उपस्थिति थियो।

यसअघि भेरी नगरपालिका–१३ कुदु पोषणमैत्री वडा घोषणा भइसकेको छ। वडा नं–९ को सफलताको सराहना गर्दै अन्य वडाहरूले पनि यही बाटो अवलम्बन गर्नुपर्ने सुझाव सरोकारवालाहरूले दिएका छन्।

भेरी नगरपालिका १३ वडा जिल्लाकै पहिलो पोषणमैत्री वडा घोषित

 




  • फेसबुकबाट तपाईको प्रतिक्रिया