“मानो रोप्नेहरू पलायन भए, मुरी फलाउने आशा ओइलाए”


असारको महिना, मानो रोपेर मुरी फलाउने समय फेरि आइपुग्यो । रातभर सिमसिम पानी परिरहेको छ, आकाशमा गड्याङ्गुडुङ्ग छुट्दैन, खोलानालामा पानीको बहाव बढ्दै छ । खोल्साहरु सुस्केरा हाल्दै उकालो ओरालो गर्दै छन्, डिल चिरेर खसेको पँधेरोको पानी खेतसम्म आइपुग्न थालेको छ । कुनै दिन बाँझो रहेको खेतमा जब रोपाइँ नजिकिँदै आउँथ्यो, त्यसको अघिल्लो दिन बिहानै बुवासँग हलगोरु लतार्दै खेततिर लागिन्थ्यो । त्यो हलो जोत्न सकिनसकेसम्मको थकाइभन्दा अगाडि बुवाको आँखामा खेतको चिन्ता स्पष्ट देखिन्थ्यो । बुवाले राति अबेरसम्म खोलाबाट खेतसम्म पानी लगाउनु हुन्थ्यो । बुवा चुपचाप मलिदिन्छन्, “सुत् बाबु, भोलि बिहानै उठ्नुपर्छ,” भन्थे । तर आफू राति उठेर खेतभरि पानी पुगेन कि भनेर थाल लिएर पानीको सतह नियालिरहन्थे । बिहान मिरमिरे उज्यालो हुन्थ्यो, जब आकाशको काखबाट सुनौलो घाम चिरफार गर्दै ओर्लिन्थ्यो । बुवाले फेरि हलो समाउनुहुन्थ्यो, म पछि लाग्थेँ । डाँडाबाट मान्छे झर्ने बाटो हेरिरहन्थ्यौं — कहिले आइपुग्लान् हाम्रो खेताला र रोपाइँ गर्ने दिदीबहिनीहरू?” गाउँमा हरेक असार यस्तै हुन्थ्यो—“रोपाइँ कहिले गर्ने? हलो लगाउने बाउसे को हुने ? गोरु कस्का लिने ?” भन्दै निधो गरिन्थ्यो, बाउबाजेले खन्दै, संजोदै ल्याएका ती थुम्के थुम्के खेतहरू अहिले पनि हाम्रै प्रतीक्षामा छन्, तर तिनमा बिउ छर्ने हातहरू भने विदेशका बन्द कोठाभित्र थुनिएका छन् । असारे रोपाइमा साथी जस्तै रमाउने जन्म दिने बाबानै परदेशि हुनु भएको छ । तर अब त्यस्तो गाउँ नै छैन । “असार आयो, पानी आयो, बिउ छ, खेत छ–तर न गोरु छ, न हलो, न त त्यो मानो रोप्ने,मुरी भर्ने मान्छेहरू नै छन“ पहिलाको रोपाइँ, सायद अचेलको पुस्ताले कल्पनासमेत गर्न सक्दैन । असारे गीत गुञ्जिन्थे “स्याउलीको डाली झुकेको छ है, बैना लिन जा नाता मिलेको छ है…“ वा “खेतको आलीमा हाँसो फुल्दछ, दिदीबहिनीको झ्याउँरी लाज खुल्दछ…“। “ भनेर भाका कण्ठाग्र बनाउने दिदीबहिनी अहिले काम नपाएर भौतारिएका छन् । जहाँ पहिल्यै असारे गीत गुञ्जिन्थे,अहिले ती खेतहरू मौन छन्, र बिउ रोप्ने हातहरू हजारौँ माइल टाढा छन“। खेतको डिलमै हिलो खेल्दै खाजा खाने, टिनको डिब्बामा राखेको अचार बाड्ने चलन थियो । “रोपाइँको झरझरे मौसमी खुसीले भिजेको गाउँ, जहाँ रमाइलो गर्थ्यो, असारे गीत गुञ्ज्थ्यो–अब त्यो सबै सहर र परदेशले बगाइदियो“।

तर गाउँभरी त्यसरी रोपिने खेतहरू अहिले किन बाँझो छन ?कहिल्यै नथाक्ने ती खेत, अहिले किन यति थकितजस्ता देखिन्छन ? आँखै अगाडि बर्खे नदीहरू हाम्रा आँखाका डिल जस्तै सुस्केरा हाल्दै बगिरहेछन् । तर ती रोपाइँ गर्ने हली, ती फरुवा र बाउसो चलाउने बाउसे, ती स्थानीय मौलिक गीत गाउने आमाहरु , हिलोमा खुट्टा डुबाएर नाच्ने रोप्न्यानरी सबै हराउँदै गएका छन् ।
बाले खेतमा पानी पुर्‍याउन हलो लिएर जाने, आमा घरबाट भकारो लिएर डिलमा आउने, म भने पछि पछि हिँड्ने — त्यो मेरो बाल्यकालको असार थियो ।
बज्न थालेको पन्चेबाजामा छमछम नाच्न थालेको हाम्रो गाउँ — त्यो गाउँ अब अस्तव्यस्त छ । दिदिबहीनिहरु अब गीत गाउनुहुन्न, दाजुभाई खाडि मुलुक जानु भएको छ । गाउँ अब सम्झनाको चौतारी बन्दै गएको छ । धेरै अगाडि, हजुरआमाले भन्नुहुन्थ्यो–“जुन खेत बिउसँग रिसाउँछ, त्यो खेत कहिल्यै राम्रो फल्याउँदैन ।” तर अहिले त मान्छेहरूले नै आफ्नै गाउँसँग रिसाएको जस्तो लाग्छ । उता सहरको क्याफेमा कफी पिउँदै असार १५ मा फेसबुक स्टाटस लेखिन्छ । ” I miss my village during Asar ” तर उता गाउँमा बाउ बाजेका खेतले हेरिरहेका छन् ।“कोही छैन रोप्ने ! खेत त छ, तर किसान खोइ ? ” वैदेशिक रोजगारले पेट त पाल्यो होला, तर सिङ्गो पुस्ता गुमाउदै छ गाउँले । जसको घरमा तीन गोरु हुन्थे, आज उनीहरूको छोराछोरीले गोरु चित्रमा देख्ने अवस्था सृजना हुदै छ ।

यो पनी पढ्नुहोला – https://themalikapost.com/2025/03/1204.html

“मानो रोपेर मुरी फलाउने असारमा न किसान छ, न गीत, न त्यो गँथन—छ त केवल रित्तिएका डिल र बिउको प्रतीक्षा “बाउ बजेका ती जुवा हलोहरू आज पनि कुइनेटोको छेउमा थन्किने अवस्था आउदै छ । जसलाई प्रयोग गर्ने हात अब कम हुदै जाने अवस्थामा पुग्दै छन् । सहरको विकाससँगै युवा पुस्ताको पलायनले गाउँ रित्तिँदै गयो । खेत, बारी, वन — सबै बाँझिँदै गयो । बाँझिएको माटोभन्दा खल्लो लाग्छ–बाँझिएको गाउँ । अहिले जन्मीयको गाउँ पुग्दा पुराना साथीहरु रोजगारको लागि बाहिर छन् । “रोपाइँको रमाइलोमा पञ्चेबाजा, झ्याउँरी र हिलोमा हाँसो हराउँदै गर्दा गाउँको खेती परदेशी सपना बन्यो“। कुनै दिन जब त्यो गाउँको अन्तिम रोपाइँको दिन थियो, पन्चेबाजाको तालमा गाउँभरि “रोपाइँ सकियो अब भ्यागुताको बिहे हुन्छ” भन्दै रमाइलो गरिन्थ्यो ।
म गाउँको एक सामान्य किसानको छोरो हुँ । त्यो असारमा मैले देखेको रमाइलो, आज असारमै म सम्झिरहेछु –आँखा रसाउँछ् । सहरमा बसेर मोबाइल स्क्रोल गर्दा पनि खेतको हरियाली मनको कुनामा झल्झली आइरहन्छ । शायद अब त्यो असार कहिल्यै फर्केर आउँदैन । न त्यो बाजा, न त्यो रमाइलो, न त्यो रोपाइँ । म सहरको बाटोमा हिँड्दैछु । त्यो असारे सपनाले मलाइ हरेक वर्ष सम्झाउँछ ।

” गाउँ रित्तिएको छैन, तिमी फर्किए मात्र “

सरकारले भने जति लगानी कृषिमा गर्न थालेको छ, अनुदान घोषणा र प्रविधिका कुरा हुन् तर पहुँचवालाको हातमा पुगेपछि ती असल बीउ बिउनै नफुट्ने गरी नष्ट हुन्छन् । उही परम्परागत किसानका हात खाली छन्,। नयाँ पुस्ताको मनमा खेतीप्रतिको मोह मरेको छ । सहर र गाउँको खाडल यति फराकिलो भएको छ कि रोपाइँ अब खेतमा होइन, फेसबुकको स्टोरीमा मात्र देखिन्छ ।
अहिलेको रोपाइँ त उस्तै देखावटी भएको छ–स्पिकर, मासु–भतेर, भाडामा लिइएका गोरु र काठको हलो, ज्यालामा भन्दा पनि “इज्जतको मूल्य“ सोध्ने मान्छे । पहिला चार मानापाथी दिएर खेत रोपिन्थ्यो, अहिलेका खेताला पाँचहजार दिए पनि खेतमा पस्न चाहँदैनन् । बाउबाजेले आशीर्वाद दिने त्यो “रोप्ने खान्छ, हेर्नेले भोकै जान्छ” भन्ने भनाइ अब व्यंग्यजस्तो लाग्न थालिसकेको छ । असारको झरीसँगै मन पनि भिजिरहेका छन । त्यो हरियो खेत अब चिटिक्क छैन, त्यो हिलोमा भिज्ने पसिना अब पसिना होइन, केवल सम्झना भएको छ । गाउँमा अब त्यो रोपाइँपछिको अन्तिम पञ्चेबाजा बज्दैन, न त त्यो काम सकेर सँगै हाँसो गर्ने साथीहरू छन् । गाउँको छातीमा उभिएका खेतहरूको हाँसो सुकिसकेको छ । , खेतका बिउ कुरिरहेका छन् । “कुन दिन फर्किन्छ त्यो असार…?“

लेखकः रेशम बहादुर खड्का
सचिव, नेपाल पत्रकार महासंघ, जाजरकोट ।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया