जाजरकोटमा ६ केजी लागुऔषधसहित तीन जना पक्राउ

जाजरकोट । भेरी नगरपालिका–१ रिम्ना बजारस्थित जाजरकोट–डोल्पा सडकखण्डमा ६ केजी लागुऔषधसहित तीन जना पक्राउ परेका छन्।

पक्राउ पर्नेहरूमा नलगाड नगरपालिका–१० बस्ने २३ वर्षीय हरि बाँनिया, नलगाड नगरपालिका–९ बस्ने ३० वर्षीय दिपक सिंह र सोही वडाका २३ वर्षीय सुरेश सिंह रहेका छन्।

सोमबार इलाका प्रहरी कार्यालय रिम्नाबाट प्रहरी नायब निरीक्षक शिउ कुमार चौधरीको नेतृत्वमा खटिएको टोलीले नियमित चेकजाँचका क्रममा कर्णाली प्रदेश ०२००१ च ११४५ नम्बरको रातो प्लेटको डबल क्याप बोलेरो जिपलाई रोकी जाँच गर्दा लागुऔषध फेला पारेको हो। उक्त बोलेरो जिप नलगाड नगरपालिका–१० बस्ने हरि बाँनियाले चलाइरहेका थिए।

जिपमा सवार दिपक सिंह र सुरेश सिंहको साथबाट कालो रङ्गको सेन्थेटिक झोलामा लुकाइ छिपाइ राखिएको अफिम जस्तै देखिने ३/३ केजी अर्धठोस (गिलो) पदार्थ तथा दिपक सिंहको साथबाट नगद २५ हजार रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी प्रहरी निरीक्षक हरिराम डाँगीले जानकारी दिए।

बरामद गरिएको ६ केजी लागुऔषधसहित बोलेरो जिपलाई नियन्त्रणमा लिइ तीनै जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय जाजरकोटको हिरासतमा राखिएको छ। उनीहरूविरुद्ध थप अनुसन्धानका लागि जाजरकोट जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिइएको सूचना अधिकारी डाँगीले जानकारी दिएका छन्।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया