
जाजरकोट । छेडागाड नगरपालिकामा सोमबार एक कार्यक्रमबीच आँखा उपचार केन्द्र स्थापना गरिएको छ। छेडागाड नगरपालिका र नेपाल रेडक्रस सोसाइटीको समन्वयमा सुर्खेत आँखा अस्पतालको प्राविधिक सहयोग तथा नगरपालिकाको आर्थिक सहकार्यमा वडा नं ५ फुर्किचौरमा उक्त केन्द्र स्थापना गरिएको हो।
नगर प्रमुख रत्न बहादुर खड्काले केन्द्रको उद्घाटन गरेका हुन्। सूचना अधिकारी देव बहादुर बुढाका अनुसार उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य खडक बहादुर बुढा, नगर उप–प्रमुख चन्द्र बहादुर थापा, नेपाल रेडक्रसका केन्द्रिय सदस्य तथा सुर्खेत आँखा अस्पताल सञ्चालक समिति संयोजक रामलाल आचार्य, जाजरकोट रेडक्रस शाखाका सभापति हरि बहादुर बस्नेत, विभिन्न राजनीतिक दलका प्रतिनिधि, वडा अध्यक्षहरू, सञ्चारकर्मी तथा स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
उपचार केन्द्रको मुख्य उद्देश्य नियमित आँखाको जाँच गरी आँखाको स्वास्थ्यमा सुधार ल्याउने, समयमै रोग पहिचान गर्ने, जनचेतना अभिवृद्धि गर्ने, चस्मा तथा लेन्ससम्बन्धी सेवा प्रदान गर्ने रहेको नगर प्रमुख खड्काले जानकारी दिए।
कार्यक्रममा वक्ताहरूले उपचार केन्द्रलाई भरपर्दो र विश्वसनीय सेवा केन्द्र बनाउन दक्ष जनशक्ति र उपकरणहरूको व्यवस्थापन गर्दै शीघ्र स्तरोन्नति गर्न आवश्यक रहेकोमा जोड दिएका थिए। केन्द्र स्थापना संगै नगरपालिका भरिका वडाबाट स्क्यानिङ गरिएका १५० जना आमाबुवाको मोतिविन्दु शल्यक्रिया समेत सुरु भएको छ। नेत्र विशेषज्ञ डा. मञ्चु पन्तको नेतृत्वमा भएको शल्यक्रिया जारी छ भने बाँकीको मंगलबार शल्यक्रिया गरिनेछ।
यसअघि शल्यक्रिया गरिएका बिरामीलाई सुर्खेत गएर फ्लोअप गर्नुपर्ने बाध्यता रहेकोमा, यसपटक भने सो प्रक्रिया स्थानीय केन्द्रमै सम्पन्न हुने संयोजक रामलाल आचार्यले जानकारी दिए ।






द मालिका पोष्ट । २०८२ बैशाख १६ गते मङ्गलवार