
जाजरकोट । अविरल वर्षासँगै गएको पहिरोबाट प्रभावित भेरी नगरपालिका-२ रिसाङका अति विपन्न तथा पूर्णरूपमा घरबास क्षति भएका ४१ जनालाई करिब १ लाख ५० हजार रुपैयाँ बराबरको राहत सामग्री वितरण गरिएको छ।
गंगा जमुना स्टोर जाजरकोटका सञ्चालक रमेश श्रेष्ठले मंगलबार पहिरो प्रभावित क्षेत्र रिसाङमै पुगेर पीडित परिवारलाई व्यक्तिगत रूपमा राहत सामग्री वितरण गरेका हुन्। श्रेष्ठले लत्ताकपडा, चाउचाउ, बिस्कुट र फ्रुटीलगायतका सामग्री उपलब्ध गराएका छन्।
राहत वितरण कार्यक्रममा भेरी नगरपालिका-२ का वडा अध्यक्ष भीमबहादुर कार्की, जाजरकोटका युवा अभियन्ता तारा शर्मा, फत्तेजंग शाहलगायतको उपस्थिति थियो।

राहत वितरण गर्दै श्रेष्ठले विपद्को समयमा आफ्नो सानो सहयोगले पनि पीडितलाई केही राहत पुग्ने विश्वासका साथ व्यक्तिगत रूपमा सहयोग गरेको बताए। विपद्मा परेका नागरिकलाई आफ्नो क्षमताअनुसार सहयोग गर्नु सबैको सामाजिक दायित्व भएको उनको भनाइ थियो।
गत श्रावण ३० गतेको अविरल वर्षाका कारण रिसाङका विभिन्न गाउँमा गएको पहिरोमा परी ४ जनाको दुःखद निधन भएको थियो। पहिरोमा परी गम्भीर घाइते भएका ११ जनाको नेपालगन्ज तथा काठमाडौंमा उपचार भइरहेको छ।

पहिरोका कारण चौपाया, बालीनाली तथा घर–जग्गामा ठूलो क्षति पुगेको छ। ठाउँ-ठाउँमा जमिन भासिने तथा निरन्तर पहिरो जाने क्रम जारी रहेकाले स्थानीयको जनजीवन अझै जोखिमपूर्ण बनेको छ।
हाल ८९३ परिवार रिसाङको होल्डिङ सेन्टरमा बस्दै आएका छन्। लामो समयदेखि अस्थायी बसोबासमा रहेका प्रभावित परिवारलाई खाद्यान्न, लत्ताकपडा तथा अन्य आधारभूत सामग्रीको आवश्यकता अझै रहेको स्थानीयले बताएका छन्।







विनोद कुमार घर्ती (रिदम) । २०८३ भाद्र १६ गते मङ्गलवार