सुरुङभित्र फसेकाको उद्धारमा ढिलाइप्रति सांसद बुढाको आपत्ति : ‘अब आश्वासन होइन, परिणाम चाहिन्छ’

सांसद बुढाले गत भदौ १० गतेदेखि सयौं कर्मचारी तथा कामदार सुरुङभित्र फसेको अवस्थामा एक सातासम्म पनि उद्धार कार्य अपेक्षित गतिमा अघि बढ्न नसक्नु अत्यन्त गम्भीर विषय भएको बताएका हुन्।

जाजरकोट ।  नेपाली कांग्रेसका संघीय सांसद खडकबहादुर बुढाले नुवाकोटको अपर त्रिशूली–३ ‘ए’ लगायतका पावरहाउस तथा सुरुङभित्र फसेका कर्मचारी र कामदारको उद्धारमा भइरहेको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराएका छन्। सांसद बुढाले गत भदौ १० गतेदेखि सयौं कर्मचारी तथा कामदार सुरुङभित्र फसेको अवस्थामा एक सातासम्म पनि उद्धार कार्य अपेक्षित गतिमा अघि बढ्न नसक्नु अत्यन्त गम्भीर विषय भएको बताएका हुन्।

पुराना र प्रभावहीन उपकरणको भरमा उद्धार सम्भव नभएको भन्दै उनले अत्याधुनिक उद्धार उपकरण, आधुनिक प्रविधि र दक्ष प्राविधिक जनशक्ति तत्काल परिचालन गर्न सरकारसँग माग गरेका छन्। सांसद बुढाले सञ्चारमाध्यममा सुरुङको मुखसम्म उद्धार टोली पुगेको प्रचार भइरहे पनि वास्तविक उद्धारमा ठोस प्रगति हुन नसकेको भन्दै चिन्ता व्यक्त गरे। समयमै आवश्यक उपकरण र दक्ष प्राविधिक टोली परिचालन गर्न नसक्दा बाँच्ने सम्भावना भएका नागरिकको जीवन जोखिममा पर्न सक्ने उनको भनाइ छ।

राजनीतिक वा अन्य कुनै हस्तक्षेपका कारण प्राविधिक उद्धार कार्य प्रभावित हुन नहुने बताउँदै सांसद बुढाले सुरुङभित्र फसेका सबैको जीवनरक्षाका लागि युद्धस्तरमा उद्धार कार्य अघि बढाउन सरकारसँग आग्रह गरे। पीडित परिवारको अनुनयलाई सरकारले बेवास्ता गर्न नहुने भन्दै उनले भनेका छन्, “सयौं नागरिकको जीवनसँग खेलवाड गर्ने छुट कसैलाई छैन। अब आश्वासन होइन, तत्काल परिणाम चाहिन्छ।”

नागरिकको जीवनभन्दा ठूलो राज्यका लागि अरू केही हुन नसक्ने उल्लेख गर्दै बुढाले सुरुङभित्र फसेकाहरूको तत्काल उद्धारका लागि सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया