कविता- सपना सकियो, जिन्दगी खोसियो !

कविता- सपना सकियो, जिन्दगी खोसियो

सबथोक साथमा छ भन्नेहरूका पनि
काल साथमा नहुने रहेछ,
पानीबिना बाँच्न नसक्नेले पनि
आज पानीकै कारण मर्नुपर्ने रहेछ।

सपनाको यो संसारमा
आज सपना हरायो,
आशा हरायो,
सास हरायो,
ऊ हरायो,
अन्ततः आफ्नै लास पनि हरायो।

तिमी माछा पर्खन्छौ,
ग्यास पर्खन्छौ,
सुन, चाँदी, हिरा र मोती पर्खन्छौ।
ऊ सबथोक गुमाएर पनि
जीवन पर्खेको छ,
आशा पर्खेको छ,
सास पर्खेको छ,
केही नभए पनि
लास पर्खेको छ।

त्यो पनि नभए
शरीरका टुक्रा पर्खेको छ।

बन्न बाँकी केही नरहेको
यो संसारमा
अब एकपटक
मान्छेलाई मान्छे बन्नु छ।

के हुन्छ होला
बाको हातको मिठाई कुरिरहेका
ती कलिला नानीहरूको मनमा,
जब बाढीले बाबाबाट छुटाएको
हात मात्र घर फर्कन्छ?

छोराछोरीको भविष्यको आश सकियो,
बहिनीको निधारको टीका सकियो,
साथीभाइको दौतरी सकियो,
अनि दुश्मनको दुश्मनी पनि सकियो।

श्रीमतीको सिन्दुर खोसियो,
जवानी खोसियो,
सबैभन्दा पहिले
उसको सपना सकियो,
अनि…
जिन्दगी खोसियो।

अब पनि
बन्न बाँकी केही छ भने
एकपटक मान्छे बनौँ।

लेखक:  मनोजराज गौतम 

ठेगाना: छेडागाड नगरपालिका ११, जाजरकोट




  • फेसबुकबाट तपाईको प्रतिक्रिया