जाजरकोटको गैरीखालीमा जिप दुर्घटना, दुई घाइते

जाजरकोट । भेरी नगरपालिका–४ गैरीखालीमा बलेरो जिप सडकबाट करिब ३० मिटर तल खस्दा चालक र सहचालक घाइते भएका छन्। दुवै जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार, शुक्रबार राति करिब ११ः५५ बजे गैरीखालीबाट थाप्लेतर्फ जाँदै गरेको ध १ ज ९६९ नम्बरको बलेरो जिप दुर्घटनामा परेको हो।

कुशे गाउँपालिका-८, जन्तला निवासी २९ वर्षीय चालक प्रकाश सिंह ठकुरीले चलाएको जिपको टायर स्लीप हुँदा सडकबाट करिब ३० मिटर तल खस्न गई दुर्घटना भएको हो। दुर्घटनामा जिपमा क्षति पुगेको प्रहरीले जनाएको छ।

दुर्घटनामा चालक ठकुरी र जिपका २२ वर्षीय सहचालक भविन्द्र खत्री सामान्य घाइते भएका छन्। दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल जाजरकोट पठाइएको र उनीहरूको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

प्रहरीका अनुसार उक्त जिपमा चालक र सहचालकबाहेक अन्य यात्रु थिएनन्। दुर्घटनामा परेको जिप घटनास्थलमै रहेको छ।

दुर्घटनाको कारणबारे थप अनुसन्धान तथा आवश्यक प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया