जाजरकोट । जाजरकोटको भेरी नगरपालिका-१ रिम्नास्थित भेरी करिडोरअन्तर्गत जाजरकोट-डोल्पा सडकखण्डमा लागुऔषध तथा मादक पदार्थ सेवनविरुद्ध संयुक्त चेकिङ गरिएको छ।
शनिवार इलाका प्रहरी कार्यालय रिम्ना, स्वास्थ्य सेवा कार्यालय जाजरकोट र जिल्ला ट्राफिक प्रहरी कार्यालय जाजरकोटको संयुक्त टोलीले चिकित्सकसहित गरेको चेकिङमा ५३ वटा सवारीसाधन परीक्षण गर्दा १० चालक कारबाहीमा परेका छन्।
चेकिङका क्रममा लागुऔषध सेवनतर्फ ३ जनाको परीक्षण गर्दा १ जना, मादक पदार्थ सेवनतर्फ १५ वटा सवारीसाधन जाँच गर्दा २ जना र अन्य ट्राफिक नियम उल्लंघनमा ३५ वटा सवारीसाधन जाँच गर्दा ७ जना कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय जाजरकोटका कार्यालय प्रमुख प्रहरी सहायक निरीक्षक शैलेन्द्रकुमार मल्लले उक्त जानकारी दिनुभयो।

लागुऔषध सेवन गरेको पाइएपछि ना.१ क ४९२३ नम्बरको ट्रेलर चालक दाङको लमही नगरपालिका-२ का ३० वर्षीय उमेश चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सडक दुर्घटना न्यूनीकरण, ट्राफिक नियमको पालना तथा सुरक्षित र जिम्मेवार सवारी सञ्चालनका लागि चेकिङ गरिएको प्रहरीले जनाएको छ। प्रहरी सहायक निरीक्षक मल्लका अनुसार आगामी दिनमा पनि यस्ता चेकिङ अभियानलाई निरन्तरता दिइनेछ।







विनोद कुमार घर्ती (रिदम) । २०८३ भाद्र २० गते शनिवार