
जाजरकोट । राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च-नेपाल (मानव अधिकार एलाइन्स) जिल्ला शाखा जाजरकोटले आयोजना गरेको जिल्ला भेलामा नेकपा एमालेका केन्द्रीय सदस्य तथा भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले मानव अधिकारको महत्व र सामाजिक न्यायका विषयमा जोड दिनुभएको छ।
उहाँले भन्नुभयो, “सामाजिक र आर्थिक रुपान्तरणका लागि मानव अधिकारको सुनिश्चितता सुसंस्कृत, समुन्नत र समृद्ध नेपाल निर्माणको आधार हो।”
कार्यक्रममा घर्तीले जिल्लाका सातै पालिकामा संगठनको गठन गर्न आग्रह गर्दै प्रभावकारी नेतृत्व चयन र समाजसेवाको यात्रा निरन्तर अघि बढाउन सुझाव दिनुभयो।
मानव अधिकार एलाइन्सको भूमिका प्रभावकारी
भेलामा मानव अधिकार एलाइन्सले पछाडि परेका समुदायको अधिकार सुनिश्चित गर्न खेलेको भूमिकाबारे चर्चा गर्नु भएको थियो । संगठनले दलित, महिला, बालबालिका र अन्य पिछडिएको वर्गका मुद्दालाई सम्बोधन गर्दै राष्ट्रिय र स्थानीय तहमा प्रभावकारी काम गर्नु पर्ने उनको जाेड थियो ।

कार्यक्रममा जिल्लाका विभिन्न पालिकाका प्रतिनिधिहरू, सामाजिक अभियन्ता, र जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो। राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च-नेपाल (मानव अधिकार एलाइन्स), जिल्ला शाखा जाजरकोटका अध्यक्ष हरि बहादुर सिंहको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ ।






सुरन्द्र बहादुर खड्का । २०८१ माघ १५ गते मङ्गलवार