
सुर्खेत।
जाजरकोटकी कामना विष्ट भलिबल खेलाडी हुन् । उनले प्रदेशस्तर हुँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितासम्म सहभागिता जनाउँदै कर्णालीको नाम उज्ज्वल बनाएकी छन् । खलंगा, जाजरकोट स्थायी ठेगाना भएकी विष्टको परिवारका धेरै सदस्य विभिन्न खेल विधामा सक्रिय छन्, जसले उनलाई खेलतर्फ लाग्न सहज बनायो । विभागीय टिम ‘नेपाल पुलिस क्लब’ मा आवद्ध भएपछि उनको खेल यात्रा अझ निखारिएको हो ।
शनिबारदेखि सुर्खेतको वीरेन्द्रनगरमा श्री ज्योति फाउण्डेशनद्वारा आयोजित ‘कर्णालीका खेलाडी छोरी’ सत्रको तेस्रो दिन विष्टले आफ्नो अनुभव साझा गरिन् । खेलप्रति सानै उमेरदेखि रुचि भए पनि उनले यस क्षेत्रमा आफ्नो भविष्य बनाउन धेरै चुनौतीहरू पार गर्नुपरेको बताइन् ।

“खेल भनेको केवल केही पाउने माध्यम होइन, यसले अनुशासन सिकाउँछ । तर धेरैले अझै पनि खेलको महत्व बुझ्दैनन्,” उनले भनिन् । विष्टका अनुसार नेपाली महिला खेलाडीहरू प्राविधिक पक्ष, प्रशिक्षण र अवसरको अभावमा अन्तर्राष्ट्रिय अभ्यासभन्दा धेरै पछाडि छन् ।
उनले थपिन्, “निरन्तर अभ्यासले मात्रै सफलता आउँदैन । प्रशिक्षण, सेवा र सुविधामा व्यवस्था नभए नतिजा हात पार्न सकिँदैन ।” सरकारबाट खेलाडीलाई न आर्थिक सहयोग प्राप्त भएको छ न नीति नै प्रभावकारी देखिएको बताउँदै उनले खेल क्षेत्रबाट जीवनयापन गर्न असहज भएको उल्लेख गरिन् । “खेलाडीहरू आर्थिक हिसाबमा सबल हुन नसक्दा पलायन हुनु परेको छ, जुन विशेष गरी महिलाका लागि निराशाजनक स्थिति हो,” उनले भनिन् ।
सुर्खेतकी एलिसा रास्कोटी कराँते खेलाडी हुन् । उनले पनि ठूला प्रतियोगितामा सहभागिता जनाउँदै सफलता हासिल गरेकी छन् । तर, आर्थिक अवस्था र पूर्वाधार अभावले उनी निराश छिन् । “कर्णालीमा खेल पूर्वाधार कमजोर हुँदा खेलाडी अगाडि बढ्न सकेका छैनन्,” उनले भनिन् ।
त्यस्तै, हम्लाकी फुटबल खेलाडी दीपा शाहीले पनि राज्यको उपेक्षा प्रति आक्रोश व्यक्त गरिन् । “अन्य प्रदेशमा मेडल विजेता खेलाडीलाई सम्मान गरिन्छ, तर कर्णालीमा अझैसम्म राज्यले खेलाडीलाई चिन्न सकेको छैन,” उनले भनिन् । आगामी दशौं राष्ट्रिय खेलकुदका लागि तयारीमा रहेकी शाहीले सरकारले आयोजनाका नाममा अनेक बहाना बनाएको भन्दै असन्तुष्टि व्यक्त गरिन् । “हाम्रो प्रदेशमा मंसिरमै हुने भनिएको राष्ट्रिय खेलकुद अझै हुन सकेको छैन, जुन लज्जास्पद कुरा हो,” उनले भनिन् ।
कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय र श्री ज्योति फाउण्डेशनको आयोजनामा सुरु भएको ‘छोरी सम्मेलन’मा प्रदेशभरिका ७९ वटै पालिकाबाट करिब दुई सयभन्दा बढी छोरीहरूको सहभागिता रहेको छ । यो सम्मेलन कर्णालीमा पहिलोपटक आयोजना गरिएको हो ।






कुलेन्द्र शाही । २०८२ बैशाख २९ गते सोमवार