जाजरकोटमा ह्वाट्सएपमार्फत शिक्षककै संलग्नतामा कक्षा १२ को परीक्षामा चिट चोराएको खुलासा, केन्द्राध्यक्ष समेत जोइन

जाजरकोट । जाजरकोटको शिवालय गाउँपालिकामा जारी कक्षा १२ को परीक्षामा ह्वाट्सएप ग्रुपमार्फत चिट चोराइएको खुलासा भएको छ। सरस्वती माध्यमिक विद्यालय सीमाका नेपाली शिक्षक तिलक विसीले ह्वाट्सएप ग्रुप बनाएर परीक्षाका प्रश्नहरूको उत्तर बाँडफाँड गरेका छन्।

शिक्षक विसीले निर्माण गरेको ग्रुपमा वीरेन्द्र माविका केन्द्राध्यक्ष शेर बहादुर खत्री, नेपाल राष्ट्रिय माविका प्रधानाध्यापक गोपाल पुनसमेत जोडिएको खुलेको छ। आज (बुधवार) भएको मेजर अङ्ग्रेजी विषयको परीक्षामा विसीले प्रश्नको उत्तर लेखेर ग्रुपमा पठाएको प्रमाणस्वरूप एक परीक्षार्थीले तस्बिर ‘द मालिक पोष्ट’ लाई पठाएका छन्। यस विषयमा शिक्षक विसीलाई सम्पर्क गर्दा आफूले चिट चोराएको सहजै स्वीकार गरे ।

गल्ती स्वीकार्दै भने, ‘मैले ग्रुप बनाएको त होइन, मिस्टेक भएर कतै ग्रुप बनाएको होला र बाइ मिस्टेकले उत्तरहरू पनि ह्वाट्सएपमा गएका होलान्।,’ उनले आगामी दिनमा यस्ता गल्ती नदोहोरिने प्रतिबद्धता जनाए । यस्तै नेपाल राष्ट्रिय माविका प्रअ गोपाल पुनले आफू ग्रुपमा जोडिएको कुरा थाहा नभएको दाबी गरे। ‘मलाई कसैले जोडे होलान्, यस्तो बारे जानकारी छैन। यदि जोडिएको रहेछु भने ग्रुपबाट हट्छु।,’

सरस्वती माविका केन्द्राध्यक्ष शिव नेपालीले आफ्ना शिक्षकले चिट चोराएको सही भएको पुष्टि गरे । ‘हाम्रो शिक्षकले ग्रुप बनाएर चिट चोराएको सही रहेछ। सोधपुछ गर्दा उहाँले स्वीकार गर्नुभयो,’ उनले भने, ‘अब यस्तो दोहोरिन नदिन लिखित स्पष्टीकरण सोधिनेछ।” उनले उक्त ग्रुप हटाइएसँगै मोबाइलसमेत बरामद गरिएको जानकारी दिए। यता शिक्षा विकास तथा समन्वय इकाइका प्राविधिक सहायक तिलक भट्टराईले शिक्षकले ग्रुप बनाएर चिट चाेराएको भएमा केन्द्राध्यक्ष र शिक्षकलाई लिखित रूपमा तत्कालै स्पष्टीकरण सोध्ने बताए ।

‘यो त गलत हो यदि यस्तो गलत भएको रहेछ भने हामी तुरुन्तै स्पष्टीकरण सोध्छौ।,’ उनले भने । जिल्ला प्रशासन कार्यालय जाजरकोटका सूचना अधिकारी समीर गौतमले पनि उनीलाई स्पष्टीकरण सोधेर कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने बताए ।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया