सुख्खा पहिरोमा परी नलगाडमा चारजना घाइते


जाजरकोट । नलगाड नगरपालिका–१० घ्यारगाउँमा सुख्खा पहिरो जाँदा चार जना घाइते भएका छन् ।
WFP को आर्थिक सहयोगमा सञ्चालित खानेपानी परियोजनाका लागी गिट्टी कुट्ने कार्य भइरहँदा एक्कासी माथिबाट सुख्खा पहिरो खस्दा स्थानीय चार जना घाइते भएका हुन् । आज विहान करिब १० बजे उक्त घटना भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए ।

प्राप्त जानकारी अनुसार, पहिरोले आंशिक रूपमा पुरिएका घाइतेहरुलाई तत्काल उद्धार गरी नलगाड नगरपालिकाको एम्बुलेन्स मार्फत उपचारका लागी नगर अस्पताल, दल्ली पठाइएको प्रहरी प्रमुख पाण्डेले बताए ।
पहिरोमा परी घाइते हुनेहरूमा ५० वर्षीया कलधरी नेपाली, ४५ वर्षीया डम्मरीकुमारी बोहरा, ४५ वर्षीया लालसरी नेपाली र ३० वर्षीया कमला विक रहेका छन् ।
प्रहरी निरीक्षक राजुप्रसाद चौधरीले घटनाबारे जानकारी दिँदै भने, ‘घाइतेहरूको अवस्था सामान्य छ । आवश्यक उपचारका लागि अस्पताल पठाइएको छ ।’




  • फेसबुकबाट तपाईको प्रतिक्रिया