
जाजरकोट ।
भूकम्पबाट प्रभावित बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । भूकम्प प्रभावित विद्यार्थीहरूको शिक्षालाई प्रवद्र्धन गर्ने उद्देश्यले शैक्षिक सामाग्री वितरण गरिएको हो । भेरी नगरपालिका ३ को विजय प्राथमिक विद्यालयका ७० जना विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको छ । नेपाल विद्यार्थी संघ जाजरकोटका अध्यक्ष तथा सामाजिक अभियन्ता अनिश कार्कीको पहलमा उक्त सहयोग वितरण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदमराज विश्वकर्माले बताए ।

विद्यार्थीहरूलाई कापी, कलम, भित्ते पात्रो, बोर्ड मार्कर, डस्टर लगायत सिकाइका लागि आवश्यक सामग्रीहरू कार्कीले विद्यालयलाइ हस्तान्तरण गरेको उनको भनाइ । करिब ३० हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री काठमाडौँमा बस्ने जाजरकोटकी चेली एकता कार्कीको आर्थिक सहयोगमा प्रदान गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदमराज विश्वकर्मा र प्रधानाध्यापक शोभा सिंहको उपस्थितिमा सामग्री वितरण गरिएको थियो। “
शैक्षिक सामग्री पाएपछि विद्यार्थीहरू खुसी भएका छन् । भूकम्प प्रभावित विद्यार्थीहरूको शिक्षामा कुनै अवरोध नहोस् भन्ने उद्देश्यले सामाग्री हस्तान्तरण गरेको कार्कीले बताए । हामी सधैं यस्ता पहल गर्न तयार छौं जसले विद्यार्थिहरूलाई राम्रो शिक्षा प्राप्त गर्न सहयोग पुर्याउँछ ।“ “शिक्षा सबैको अधिकार हो, र म खुशी छु कि मैले यो सानो योगदान दिन सके। यी शैक्षिक सामग्रीले विद्यार्थीहरूको अध्ययनमा मद्दत पुर्याउनेछ ।“ कार्कीले गरेको सहयोग प्रति विद्यालय परिवारले धन्यवाद दिएको छ ।







विनोद कुमार घर्ती (रिदम) । २०८१ फाल्गुन १५ गते बिहिवार