अत्यधिक रक्तस्राव भएकी महिलालाई हेलिकप्टरमार्फत उद्धार


जाजरकोट ।
जुनिचाँदे गाउँपालिका ६ की राजु कुमारी शाहीलाई डेलिभरीपछि अत्यधिक रक्तस्राव भएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत प्रादेशिक अस्पताल, कालागाउँ, सुर्खेत पठाइएको छ।
गत शनिवार बेलुका ५ बजे आफ्नो श्रीमान् बिष्णु कुमार शाहीसहित प्राथमिक स्वास्थ्य केन्द्र, जुनिचाँदे गर्खाकोट ल्याइएको राजु कुमारी शाहीले सोही दिन राति ११ बजे सामान्य रूपमा शिशुको जन्म दिएकी थिइन्। डेलिभरी सफल भए पनि पछि अत्यधिक रक्तस्राव सुरु भएपछि स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको थियो।

उक्त अवस्थालाई मध्यनजर गर्दै आज दिउँसो २ बजे नेपाली सेनाको हेलिकप्टरमार्फत उनलाई थप उपचारका लागि सुर्खेत लगिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख पुरुषोतम प्रसाद पाण्डेले बताए ।

महिलाको उद्धार कार्यमा ईलाका प्रहरी कार्यालय, गर्खाकोटबाट प्रहरी निरीक्षक (प्र.नि.) नवराज बुढा क्षेत्रीको कमाण्डमा ५ जना सुरक्षाकर्मीको टोली खटिएको थियो। उद्धारस्थल प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटबाट करिब ४ सय मिटर दक्षिणतर्फ रहेको अन्य बस्ती क्षेत्रबाट महिला सुरक्षित रूपमा उद्धार गरिएको हो।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया