जाजरकोट । संघीय शिक्षा ऐन कार्यान्वयन गर्नका लागि कुशे गाउँपालिकाले प्रधानमन्त्रीलाई औपचारिक पत्र पठाएको छ। सोमबार, कुशे गाउँपालिकाले लेटरप्याडमा चलानी नम्बर १२६९ मा पत्र जारी गर्दै शिक्षकहरूको जायज मागहरूको समाधानका लागि आवश्यक सहजिकरण गर्न अनुरोध गरेको हो।
संघीय शिक्षा ऐन अझै जारी नहुँदा र शिक्षकहरूसँग भएका सम्झौताहरू कार्यान्वयनमा नआएको कारण नेपाल शिक्षक महासङ्घको आह्वानमा चैत २० गतेदेखि सुरु भएको अनिश्चितकालीन आन्दोलनले देशभरका शैक्षिक गतिविधिमा गम्भीर असर पारेको छ। यस आन्दोलनका कारण शैक्षिक सत्रको अन्त्यमा गर्नुपर्ने महत्त्वपूर्ण कार्यहरू जस्तै उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन, नतिजा विश्लेषण, नयाँ विद्यार्थी भर्ना, वार्षिक कार्ययोजना निर्माण जस्ता गतिविधिहरू प्रभावित भएका छन्।
कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र वस्नेतको हस्ताक्षरसहित पठाइएको उक्त पत्रमा नेपाल शिक्षक महासङ्घका जायज मागहरू यथाशीघ्र सम्बोधन गरी शिक्षण पेशामा संलग्न शिक्षकहरूलाई विद्यालयमा फर्काउने वातावरण मिलाउन आग्रह गरिएको छ।
निवेदनको बोधार्थमा माननीय मन्त्रीज्यू, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरबार, काठमाडौं, माननीय मुख्यमन्त्रीज्यू, कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल शिक्षक महासङ्घ, राष्ट्रिय समिति, सानोठिमी, भक्तपुर पठाइएको छ ।
विनोद कुमार घर्ती (रिदम) । २०८१ चैत्र २५ गते सोमवार