
जाजरकोट। बारेकोट गाउँपालिकाको आर्थिक सहयोग तथा कृषि विकास शाखा लिम्साको आयोजनामा २२ औं राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव आज भव्य रुपमा सम्पन्न भएको छ। “धान बालिमा सघनता, खाद्य सुरक्षा र आत्मनिर्भरता” भन्ने मूल नारासहित लिम्सा स्थित चिफलगौरा ज्यूला खेतमा विशेष कार्यक्रम गरी रोपाईं महोत्सव मनाइएको हो।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष वीर बहादुर गिरीले हलो जोतेर औपचारिक उद्घाटन गर्नुभयो भने, जनप्रतिनिधि, कर्मचारी, किसान र स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो। खेत जोत्ने, धान रोप्ने, हिलो खेल्ने लगायतका रमाइला क्रियाकलापसहित कार्यक्रमले उत्साहपूर्ण र सांस्कृतिक माहोल सिर्जना गर्यो।

नेपाल कृषि प्रधान देश भएकाले यस्ता कार्यक्रमहरूले कृषि चेतना विस्तार, परम्परागत संस्कृति जगेर्ना र खाद्य आत्मनिर्भरताको मार्ग प्रसस्त गर्ने आयोजकको भनाइ छ। असार १५ लाई प्रतीकात्मक रूपमा ‘आशा रोपाइँ’ को दिन मानिँदै आएको छ, जसले कृषकहरूको श्रम, परिश्रम र राष्ट्रिय समर्पणको प्रतिनिधित्व गर्छ।
बारेकोट गाउँपालिकाले यस वर्षको रोपाईं महोत्सवलाई विशेष उत्सवका रूपमा मनाउँदै गाउँमा कृषि चेतनाको सन्देश फैलाएको छ।







विनोद कुमार घर्ती (रिदम) । २०८२ असार १५ गते आइतवार