
तिहारको रौनक सहरदेखि गाउँसम्म फैलिएको छ। घर आँगन दीपले झिलिमिली छ, फूलको सुवासले वातावरण सुवासित बनेको छ। तर मेरो मनमा भने एक प्रकारको खालीपन छ मौन र चिसो। तिहार त फेरि आयो, तर मेरा प्यारा दाजु यो साल पनि घर आएनन्।
घरको एकान्त कुनामा बसेर आँखा रसाइरहेकी मेरी दिदी र बहिनीलाई सम्झिन्छु जो दाजुको प्रतीक्षामा छन्। पक्कै पनि तिनीहरूको मन भक्कानिएको छ। भाइटिकाको दिन, दाजु बिना तिहार के रमाइलो? के उत्सव?
बहिनी, मलाई थाहा छ तिमीले माया गर्ने दाजु यो तिहार पनि घर आउन सकेन। मलाई सम्झेर तिम्रा आँखाबाट आँसु बग्छ होला। तर विश्वास गर, म यहाँ विदेशमा बसेर रिन तिर्दै छु त्यो रिन, जुन बुबा–आमाले मलाई विदेश पठाउनका लागि लिनुभएको थियो। म यहाँ भए पनि मेरो मन भने तिमीहरूकै साथमा छ।
मन लाग्छ नेपालमै कामको अवसर पाइन्थ्यो भने कति नेपाली दाजुहरू घरमै हुन्थे र कति बहिनीहरूको तिहार यसरी अधुरो हुने थिएन होला।
तिमीहरूका साथीहरूका दाजुहरू घर फर्कंदै छन्, टिका लगाइरहेका छन्, देउसी–भैलो खेल्दै रमाइरहेका छन्। उनीहरूको हाँसो, रमाइलो, माला र मिठाइको बीचमा तिमीको मन कहाँ होला? एउटै कुरा मनमा खेलिरहेको होला—“मेरो दाजु किन आएनन् ?
म त घरमै छु कान्छो छोरा। मेरा दुई दाजु प्रदेशमा छन्। यो साल पनि उनीहरूसँग रमाउन पाइएन। घरमा भएकी बहिनीले भने कम्तीमा मसँग टिका लगाएर मन बुझाउनेछन । तर जसको एउटै दाजु पनि परदेशमा छ, उसले कसरी मन बुझाउछीन होला?
तिहार नजिकिँदै छ नेपालीहरूको महत्वपूर्ण चाड गाउँघरमा रमाइलो गरेर रोटी बनाउँदै देउसी भैलो खेल्दै गरेको दृश्य सामाजिक सञ्जालमा देख्दा मेरो मन झनै भकानीएर रून्छ ।
यति बेला म कल्पना गर्छु तिमी एक्लो कोठामा गहभरि आँसु बोकेर चुपचाप बसिरहेकी छौ। तिहारको भीडमा सबै रमाइरहेका छन्, तर तिमीले भने दाजुको अभावलाई मनभित्र गहिरो गरी महसुस गरिरहेकी छौ।
साँचिकै भन्नुपर्दा विदेश जानेहरूको घरमा तिहार आउँदा उज्यालो भन्दा पनि आखाँमा आँसु र मनमा कालो बादल लाग्छ । आशा छ, त्यो बादल चाँडै हट्नेछ र अर्को सालको तिहारमा हामी सबै जनासँगै बसेर खुसीयाली मनाउने छौँ ।
लेखक : अर्जुन शाही उज्यालो कर्णाली अनलाइनका सन्चालक हुन ।






द मालिका पोष्ट । २०८२ कार्तिक १ गते शनिवार