
जाजरकोट । दलित जेनजी एलाइन्स नेपालले कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले दिएको विवादास्पद अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संगठनले उक्त अभिव्यक्तिले दलित समुदायको आत्मसम्मानमा ठेसपुर्याएको भन्दै निष्पक्ष छानबिन र कानुनी कारबाहीको माग गरेको छ।
संयोजक जीवन तिरुवाका अनुसार अध्यक्ष बस्नेतले सार्वजनिक कार्यक्रममा दलित समुदायप्रति अपमानजनक, विभेदकारी र असंवेदनशील अभिव्यक्ति दिएको भन्दै त्यसप्रति आपत्ति जनाइएको हो। “संविधानले सुनिश्चित गरेको समानता, सामाजिकन्याय र छुवाछुतविरुद्धको व्यवस्था विपरीत जनप्रतिनिधिबाट यस्तो अभिव्यक्ति आउनु निन्दनीय र अस्वीकार्य छ,” उनले भने।
नेपालको संविधानको धारा २४ ले छुवाछुत तथा जातीय विभेदलाई दण्डनीय अपराधको रूपमा स्पष्ट व्याख्या गरेको स्मरणगराउँदै संगठनले जिल्ला प्रशासन कार्यालय जाजरकोटमार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराएको जनाएको छ।साथै, जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन, २०६८ अनुसार यस्ता कार्य कानुनी अपराध भएको पनि उल्लेखगरिएको छ।
संगठनले राखेका प्रमुख मागहरूमा अभिव्यक्तिको आधिकारिक छानबिन, दोषी ठहरिएमा कानुनअनुसार कडा कारबाही, दलित समुदायसँग सार्वजनिक रूपमा क्षमायाचना तथा भविष्यमा यस्ता गतिविधि नदोहोरिने प्रतिबद्धता समावेश छन्।
साथै, मागहरू सम्बोधन नभएमा चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनीसमेत दिइएको संयोजकतिरुवाले जानकारी दिए।
उक्त ध्यानाकर्षण पत्रको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालय, राष्ट्रिय दलित आयोग, राष्ट्रिय मानवअधिकार आयोग तथा जिल्ला प्रहरी कार्यालय जाजरकोटलाई पठाइएको जनाइएको छ।
“आत्मसम्मानमाथि आक्रमण सह्य हुँदैन, विभेदविरुद्ध हाम्रो संघर्ष जारी रहनेछ,” विज्ञप्तिमा उल्लेख गरिएको छ। प्रमुखजिल्ला अधिकारी राजु प्रसाद पौडेलले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा आजै पत्र पठाउने बताए ।







द मालिका पोष्ट । २०८२ फाल्गुन ९ गते शनिवार