‘मिटर ब्याजीका नाइके’ राजकुमार बराल पक्राउ, शक्ति केन्द्र र प्रभावशालीहरूसम्म फैलिएको सञ्जाल खुल्ने आशा


काठमाडौं ।  वर्षौँदेखि ‘मिटर ब्याज’का नाइकेका रूपमा चिनिँदै आएका राजकुमार बराललाई प्रहरीले पक्राउ गरेको छ। बरालविरुद्ध वर्षौंदेखि दर्जनौं उजुरी परे पनि उनी शक्ति केन्द्रको आडमा सजिलै उम्कँदै आएका थिए। उनको पक्राउलाई प्रहरी संगठनको एक महत्वपूर्ण उपलब्धि मानिएको छ।

बरालविरुद्ध काठमाडौं उपत्यका लगायतका क्षेत्रमा मिटर ब्याजमा ऋण दिई गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको, चेकमार्फत धम्की दिने, व्यक्तिलाई अपहरण गरि थुन्ने र सहयोग नपुगेमा झुटा मुद्दा लगाउने जस्ता आरोपहरू छन्।

कतारबाट फर्केर ‘नाइके’ बनेको कथा
कक्षा ८ मा फेल भएपछि २०६८ सालतिर कतार पसेका बराल चप्पल पड्काउँदै फर्किएपछि छोटो समयमा अकूत सम्पत्तिको मालिक बने। जनकपुरमा काकाको छोराको नाममा परीक्षा दिलाएको आरोपमा कारवाहीमा परेपछि उनी कतार गएका थिए। फर्किएपछि उनी काठमाडौंको बिजुली बजार क्षेत्रमा घर, गाडी, सहकारी संस्था चलाउन पुगे। उनका नाममा मात्र होइन, विना आयस्रोत रहेका आफन्त—बैनी, ज्वाइँहरूको नाममा समेत सम्पत्ति छ।

‘मिटर ब्याज’को नाममा त्रास र बेपत्ता
स्रोतका अनुसार बरालको धम्की र अत्यधिक ब्याजको दबाबका कारण बिजुली बजार क्षेत्रकै एक जना घरधनीले आत्महत्या गरेका थिए। त्यस्तै, बानेश्वर बस्ने सतिश श्रेष्ठ नामक व्यक्ति पनि बरालको डरले वेपत्ता छन्। श्रेष्ठका परिवारले प्रहरीमा उजुरी दिनसमेत सकेका छैनन्, बरालले उनीहरूलाई बारम्बार धम्की दिने गरेको उनीहरू बताउँछन्।

राजनीतिक संरक्षण र न्यायिक पहुँच
बरालविरुद्ध प्रहरी र अदालतमा उजुरी र प्रमाण पुगे पनि शक्ति केन्द्रको संरक्षणका कारण उनी अहिलेसम्म उम्कँदै आएका थिए। बरालका गतिविधिमा संलग्न व्यक्तिहरूमा पूर्वप्रशासक, भूपू प्रहरी अधिकारी, राजनीतिज्ञहरू र कानुन व्यवसायीहरू समेत रहेको खुलेको छ। दरबारमार्गस्थित एक घरको हकमा बरालका नजिकका माधव थापा नामक व्यक्तिको नाम समेत मिटर ब्याजमा संलग्नताका रूपमा उल्लेख गरिएको छ।

कुनै समय कांग्रेस नेताको ‘गाडी सहयोग’
बरालको नाममा रहेको हुन्डाई कम्पनीको नीलो कार (प्र.नं. बा. ११ च ०१४१) अपहरण र धम्कीका घटनामा प्रयोग भएको बताइएको छ। सोही गाडी कांग्रेस नेता रामहरी खतिवडाले केही समय प्रयोग गरेको स्रोत बताउँछ। सतिश श्रेष्ठ अपहरणमा सोही गाडी प्रयोग भएको, हाल गाडी पनि हराएको र कर समेत नतिरेको रिपोर्ट छ।

प्रहरीमाथि दवाव, अनुसन्धान रोक्न अनेक प्रयास
बराल पक्राउपछि अनुसन्धानमा प्रभाव पार्न उच्च नेतादेखि पूर्वप्रशासकसम्मका व्यक्तिहरूले दवाव दिएको काठमाडौं प्रहरी परिसरका एक अधिकृतले बताए। बरालविरुद्ध उजुरी दिनेहरूले प्रहरी र अदालत दुवैबाट न्याय नपाएको गुनासो गरेका छन्।

अब के हुन्छ?
बराललाई १५ दिनको म्याद लिएर अनुसन्धान थालिएको बताइएको छ। यदि निष्पक्ष अनुसन्धान गरियो भने मिटर ब्याजका थुप्रै पीडितको उजुरी सार्वजनिक हुने र शक्ति केन्द्रमा मौन बसेका अनुहारको मुखुण्डो फुक्लिने सम्भावना छ।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया