
सुर्खेत । कर्णाली प्रदेशको कुल गार्हस्थ्य उत्पादन (उपभोक्ताको मुल्यमा) चालु आर्थिक वर्ष २०८१/०८२ का लागि ४.७४ प्रतिशत पुर्याउने प्रारम्भिक अनुमान गरिएको छ । गत आर्थिक वर्षमा प्रदेशले ४.२८ प्रतिशत योगदान पुर्याउने अनुमान गरेको थियो । केन्द्रीय तथ्याङ्क कार्यालयका अनुसार गत आर्थिक वर्षको तुलनामा यस वर्ष कर्णालीको कुल गार्हस्थ्य उत्पादन केही प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।
कार्यालयले बुधबार वीरेन्द्रनगरमा एक कार्यक्रमको आयोजना गरेर सार्वजनिक गरेको तथ्याङ्कअनुसार कर्णाली प्रदेशको कुल गार्हस्थ्य उत्पादनको मूल्यमा चालु आर्थिक वर्ष २०८१/०८२ का लागि करिब २ खर्ब ५५ अर्ब ५९ करोड हुने अनुमान छ । गत आ.व. २०८०/०८१ मा करिव रु. २ खर्ब ४४ अर्ब हुने अनुमान गरीएको थियो । चालु आर्थिक वर्षमा कर्णाली प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा धेरै योगदान कृषि, वन तथा मत्स्य क्षेत्र (३१.५) प्रतिशत) रहने र सबैभन्दा न्यून योगदान खानी तथा उत्खनन् क्षेत्र (०.१७ प्रतिशत) रहने प्रारम्भिक अनुमान रहेको छ ।
गत गत आर्थिक वर्ष २०८०/०८१ मा पनि कृषि, बन तथा मत्स्य क्षेत्र (३०.१ प्रतिशत) सहित अग्रस्थानमा हुने अनुमान र खानी तथा उत्खनन् क्षेत्रको योगदान अन्तिम स्थान (०.१७ प्रतिशत) मा रहने प्रारम्भिक अनुमान गरिएको तथ्याङ्क समन्वय कार्यालय सुर्खेतका तथ्याङ्क समन्वय अधिकृत विनोद आचार्यले बताए । उनकाअनुसार कर्णाली प्रदेशमा क्षेत्रगत रूपमा हेर्दा गत आर्थिक वर्ष २०८०/०८१ का लागि कुल मूल्य अभिवृद्धि वृद्धिदर सबैभन्दा धेरै आवास तथा भोजन सेवा (२१.७ प्रतिशत) को र सबैभन्दा थोरै (१.१६ प्रतिशत) निर्माण क्षेत्रको रहने संशोधित अनुमान गरिएको छ । कर्णाली प्रदेशबाट प्रशासनिक सहयोग सेवा क्षेत्रको योग्दान जिडीपीमा सबैभन्दा न्यून छ । उनले पछिल्लो समयमा कर्णालीमा कुल गार्हस्थ्य उत्पादन वृद्धि हुने क्रममा रहेको बताए ।
प्रतिव्यक्ति जीडीपी बागमतीमा धेरै
आर्थिक वर्ष २०८१/०८२ मा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सबैभन्दा धेरै बागमती प्रदेशको र सबैभन्दा कम मधेश प्रदेशको हुने प्रारम्भिक अनुमान रहेको छ । गत आर्थिक वर्ष २०८०/०८१ मा पनि प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन सबैभन्दा धेरै बागमती प्रदेशको र सबैभन्दा कम मधेश प्रदेशको रहने संशोधित अनुमान गरिएको हो । चालू आर्थिक वर्षमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन अमेरिकी डलरमा बागमती प्रदेशको २६०२, गण्डकी प्रदेशको १६१९, कोशी प्रदेशको १४०१, लुम्बिनी प्रदेशको १२०१, सुदुरपश्चिम प्रदेशको ११५३, कर्णाली प्रदेशको १०८९ र मधेश प्रदेशको ९३२ हुने प्रारम्भिक अनुमान गरिएको छ । चालू आर्थिक वर्षका लागि राष्ट्रिय तहमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन अमेरिकी डलरमा १४९६ हुने प्रारम्भिक अनुमान गरिएको छ ।
यस हिसाबले बागमती र गण्डकी प्रदेशबाहेक अन्य प्रदेशको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन राष्ट्रिय औसतभन्दा कम रहेको देखिएको छ । चालु आर्थिक वर्षमा सबैभन्दा बढी गण्डकी प्रदेशको जीडीपी ४.४५ प्रतिशत रहने अनुमान गरिएको छ । यस्तै लुम्बिनी प्रदेशको ४.०५ प्रतिशत, बागमती प्रदेशको ३.९६ प्रतिशत, मधेश प्रदेशको ३.७८ प्रतिशत, कोशी प्रदेशको ३.५१ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ३.४१ प्रतिशत कुल गार्हस्थ्य पुग्ने अनुमान गरिएको छ । चालु आर्थिक बर्षमा समग्र नेपालको कुल गार्हस्थ्य उत्पादन भने ३.८७ प्रतिशत वृद्धि हुने अनुमान छ ।
कुल गार्हस्थ्य उत्पादन तथ्याङ्गका स्रोतहरु
तथ्याङ्क समन्वय अधिकृत आचार्यले प्रादेशिक कुल गार्हस्थ्य उत्पादन तथ्याङ्गका स्रोतहरुमा महालेखा नियन्त्रक कार्यालय, आन्तरिक राजस्व विभाग, नेपाल राष्ट्र बैंक, विभिन्न मन्त्रालय तथा सरकारी निकाय, विभिन्न गैर सरकारी निकाय लगायत रहेको बताए । उनले अर्थतन्त्रको आकार सबैभन्दा सानो कर्णाली भएको जिकिर गरे । उनले कर्णालीमा अझै पनि अन्य प्रदेशलाई भेटाउन मेहनत गर्नुपर्ने बताए । यस्तै कर्णालीमा उद्योग धन्दा नभएकाले आर्थिक क्षेत्रको योगदान कम भएको बताए ।
आर्थिकको योगदानमा कृषि नै पहिलो : सचिव शर्मा
यता आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रदेश सचिव रविलाल शर्माले आर्थिक क्षेत्रको योगदानका लागि कृषि नै पहिलो भएको उल्लेख गरे । उनले कृषि क्षेत्रमा अझै प्रदेश सरकारले लगानी गर्नेपर्ने बताए । उनले कर्णालीमा आन्तरिक पर्यटक भित्राउन सकेमा कर्णालीमा कुल गार्हस्थ्य उत्पादन बढाउन सहज हुने बताए । साथै त्यसको लागि प्रदेश सरकारले मात्रै एक्लैको प्रयासले यो सम्भव नभएको बताए । साथै उनले कर्णालीमा वितरणमुखी अर्थतन्त्र भएकाले पनि कम योगदान देखिएको दाबी गरे ।
अर्थतन्त्रको आकारमा सबैभन्दा गरिबको सुचीमा कर्णाली, कुल गार्हस्थ्य उत्पादन ४.७४ प्रतिशत पुग्ने अनुमान






कुलेन्द्र शाही । २०८२ जेष्ठ १३ गते मङ्गलवार