निर्वाचन आयोगद्वारा गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता

जाजरकोट । निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ। आयोगको शुक्रबार बसेको बैठकले थापालाई पार्टी सभापतिका रूपमा मान्यता दिएको हो।

नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि सहभागी विशेष महाधिवेशनबाट थापा सभापतिमा चयन भएका थिए। सभापति चयन भएपछि बिहीबार बसेको केन्द्रीय समिति बैठकको निर्णयसहित थापा पक्षले आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा आवश्यक कागजात पेश गरेको थियो। आयोगले सबै कागजात अध्ययन तथा परीक्षण गरेपछि थापा नेतृत्वको समितिलाई आधिकारिकता दिएको जनाइएको छ।

कांग्रेसको विशेष महाधिवेशन राजधानीको भृकुटीमण्डपमा पुस २७ देखि ३० गतेसम्म सम्पन्न भएको थियो। आयोगको निर्णयसँगै नेपाली कांग्रेसको चुनाव चिह्न रुख र चारतारे झण्डाको आधिकारिकता शेरबहादुर देउवा पक्षबाट गुमेको बताइएको छ।

यसअघि देउवा पक्षले पनि आफू नै आधिकारिक भएको दाबी गर्दै निर्वाचन आयोगमा कागजात बुझाएको थियो।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया