२२ वर्ष पछिको भेट: एउटा गाउँले किशोरीको अधुरो सपना “कथा”

त्यसपछी के हुन्छ ? Story

खोलाहरु छुट्टिए पछि बिरलै भेट हुन्छ । सारिका र यमुना छुट्टिएको बाईस वर्ष पछि बागबजारको टेलरिङ्ग सेन्टरमा भेट हुन्छ । ऊ यसोधा जस्तै मिल्ने नजिककी साथी थिई।तर एक व्याच सिनियर मात्र । मिल्ने साथीहरु जति नै समय पछि भेट हुँदा पनि उनीहरु खुल्छन्। बग्छन् । जम्दैनन् । त्यहाँ सिमाहरू छेकबारहरु आफै भत्किन्छन् एकै बसाईमा ।
यस्तै भयो। यमुना पनि अर्को हप्ता अमेरिका जानूलाई साडी किन्नु आएकी हुन्छे। संयोगले सारिकाको टेलरिङ्ग सेण्टरमा । उस्को राम्रै घरमा विहे भएको हुन्छ । बुढा पनि सरकारी जागिरे ऊ पनि शिक्षक काठमाडौमै दाईको छोराको दिक्षान्त समारोहमा उस्लाई बोलावट भएर उतै बाट दाईले खर्च पठाईदेर घुम्न जान लाकी उस्ले बिस्तार लाउछे ।
यसोधाको पनि कुरा गर्छन । तर सारिका आफ्नै कथा सुनाउछे । चिया बसाईमा ।
सारिकाले चिया ल्याउन इसरा गरेर आफ्नो कहानी सुनाउछे ।

दुई घण्टामा बाईस बर्ष लामो कहानी सुनाईसक्छे ।
कथा यस्तो छ ।

एस एल सीको जाँच को अन्तिम दिन । एक दशक सङ्गै हुर्किदै पढेका साथीहरु छुट्टिने दिन पनि । सारिकाको भूगोल ऐच्छिक विषय अन्तिम पेपर । उस्को पढाई मध्यम स्तरकै थियो । ऊ कपि बुझाएर बाहिर निस्किदा स्कुलको चौरमा एकजना मात्र अलि पर एक्लै देख्छे । अरु सबै माथी कता कता पुगिसकेका देखिन्थे । उस्ले पैतलाहरुलाई छिटो छिटो बढाई चौरमा देखिने साथीलाई भेट्न।

स्कुल बेसीमा थियो । यो स्कुलले यस अघि धेरैलाई विदाई गरिसकेको थियो । सारिका अहिले सम्मकै अन्तिम व्याच थिई । अर्को व्याचले परीक्षा नदिदा सम्म । यो स्कुलले ठुला ठुला मान्छेहरु पनि जन्माएको कुरा त्यो डाडा पारी सम्म, चारैतिर नाघेर जिल्ला सम्म पनि चर्चा थियो ।

उस्ले चौरमा देखेकी अन्तिम साथी अरु कोई नभएर अलि माथी गए पछी, उस्को घर नपुग्दै एउटा खोला आउँछ सोही खोला भएर बायाँ उकालो लागे पछी अर्को पाखामा उस्को घर थियो । स्कुल बाहेक उनीहरुको जङ्गल एउटै थियो, घाँस दाउरा गर्ने । जहाँ उनीहरु बिदाका दिन बस्तुलाई घाँस काट्न आउँदा मात्र भेट्थे । उनीहरुको घर जङ्गलले छेकिएको थियो । भेट गराउने भनेकै घाँस दाउरा र गोठाला आउँदा मात्र हुन्थ्यो ।

उस्ले नजिकै पुग्न लाग्दा चौर कटेर बाटोमा उक्लनै लागेकी साथीलाई उस्को जीउमा नलाग्ने गरि सानो ढुङ्गाले हानी पठाई, तर ढुङ्गाले उस्को कालो मेडीले ढाकेको पुठालाई निसाना लगाई छाड्यो । भुक्क हिर्काई छाड्यो । ऊ पुर्लुक्क पछाडी फर्की । क्यारी छौ ? ढुङ्गो सानै रैच र ? नभए बिताउनी रैछेउ केरे ? भनेर सारिकालाई भनी । यसोधाले ।

दुबै जना ब्राह्मण जातीबाट डिमोसन भएका जैसीका छोरीहरु थिए ।
जाँच त सकियो क्यारी । अबो रिजल्ट नआउँदा सम्म गोठालो गर्नी त होला । यसोधाले भन्छे ।
त्यसै त होला नि ? तिम्ले का पढ्ने बिचार अरेकी छ्यौ ? सारीका सोध्छे।

आ का पड्नी पड्नी ? घरकाले बुटोला नपठाउनी रे, यतै जिल्लामै पढ्नी त होला ! यसोधा भन्छे । बाले बुटोला पढ्नी भए सक्दिन भनेका छन् । क्यार्नी त ? पढ्नै पर्नी त होला ? हैन र ? यसोधाले बिस्तार लाउदै भन्छे ।

तिम्लाई पढाउने त भैछन । मलाई त के पढाउलान ? तीन्टी हामी र चार भाई अरु अझै पढाउनै छ बाले । आमैलाई सघाउने त होला । सारीका पीर गर्दै भन्छे ।

पढ्ने नपढ्ने छिनोफानो सकिदै छुट्टिने बाटो आईपुग्छ । एक बजिसकेको छ । बिहानै गएका उनीहरु । जाँच दिन ।
बिहान घरबाट निस्किदै गर्दा, जाँच सकार बेलैमा आईज के रे ? अलमल नगरी । आमैले भनेको याद गर्छे । सारिका।
दुबैलाई भोकले नि सताई सकेको हुन्छ । बिहानै खाली पेट गएका दुबै जना । छुट्टिने बाटोमा बासको धारोमा कलकल बगेको पानी पिउछन । पेटलाई शान्त पार्न ।

यसु आमैले चाडै आईज भनेकी छन् । म अझै उलालो जानै छ , भोलि जङ्गला आउछेउ त होली ? दाउरा लिन ? अहिले छुट्टिम के रे । अरु साथीहरु त छुट्नै नपाई गैचन, पास भैएछ भनी भेट होला क्यारे सर्टिफिकेट लिने बेला । तिमी र म मात्र त छौ यो गाउँका । आईज ल भोलि जङ्गला !

दुबैजना छुट्टिन्छन्।

सरिता सानी कदकी भए पनि सप्रेकी । गोरी, मिलेका दन्तहार, पुटुक्क छाती, त्यसमाथी सेतो सर्ट र कालो मेडी अनि कालै जाली चप्पल लाए पछि, स्कुलमै राम्री । ऊ अनुशासित उस्तै थी । गाउँमा उस्लाई माया नगर्ने कोहि थिएनन् । सायद ।

यसोधा सङ्ग छुट्टेर पनि पौने घण्टा अझै उकालो हिड्नु पर्थ्यो । सारिकालाई । घर पुग्दा त ! जाडो महिना भएर पनि निथ्रुकै भिजेर उस्का सेतै फर्सीका मुन्टाहरु सेतै सर्टलाई छेडेर बाहिर आउनै लागे जस्ता देखिन्थे । उस्लाई उकालोको धपेडी र अनिश्चित भविष्य को पिरले हुन सक्छ ज्यादा पसिना आको । सन्तान धेरै भएकैले जैसीनी आमैले उस्लाई समिज नि पुर्याउन सकेकी थिनन् । उन्ले पनि जवानी केहीले छोपिनन् अहिले के छोप्थिन र ? गाउँमा उस्का उमेरका अरुले नि समिज सार्है लाउदैन्थे । सबै त्यस्तै लाउने भएर खासै वास्ता गर्दैन्थे पनि उतिसारो । पसिनाले भिजेका फर्सी देख्ने धन्न कोई थिएनन् । घरमा । उस्लाई लाज लाग्ने थियो नभए । भर्याङ्ग उक्ली सकेकी थिइन, केही खुट्किला बाकी नै थिए, कसैको आवाजले पशुपतिको घण्टहरुले आरती गर्दा गौशालातिर झ्यालका पर्दाहरु हल्लाउँदै छिरेको ध्वनी झै उस्को कान गुन्जियो ।

ऊ घण्टी जस्तै परिचित, आर्ने बाजेको नाति थियो । मौसम ।
भूगोल राम्रै अरिस ? कि कसो अरिस? सारिका ।
कुनै कुनै आवाज जो हरदम सुनिएको हुन्छ ! सजिलै चिन्न सकिने हुन्छ । जसरी मन्दिरका घण्टीहरुको आवाज चिन्न घण्ट हेर्नू पर्दैन ।
उस्ले उक्लिदै भनी ! भूगोल जस्तै भयो । कस्तो हुनि हो र ? फुई लाको होलास आफूले राम्रो अरेर । ध्यान मोड्न उस्लाई चिड्याउने जवाफ फर्काकी थिई उस्ले ।
ध्वनीको गति भन्दा प्रकासको गति तेज भए झै उस्ले सुन्नू पहिले नै तिघ्राहरु बीच पसिनाले भिजेका शंखे किराहरुले, उस्का ध्यान तानी सकेको थियो । किनकी ऊ विज्ञानमा अब्बल विध्यार्थी थियो क्लासमा ।
पाप नसोचे पनि उस्ले आफैलाई उत्तर दियो, भूगोल त जस्तो अरे नि ! भित्र नि सतह जस्तै रैच क्यारे यस्को भूगोल । सारिकालाई यसरी उस्ले हेर्न खोजेको होइन दुर्घटनाहरु कहिले भने जसरी घट्दैनन् । घटे भने ती दुर्घटना भन्दा ज्यादा योजनाहरु हुन्छन् । त्यसैले दुर्घटनाहरु भव्यतव्य झैँ माफी योग्य हुन्छन् । योजनाहरु घटना हुन्छन् माफियोग्य हुदैनन् । उस्ले देखेको दुर्घटना थियो । नदेखे झैं जवाफ नफर्काई बाटो लाग्छ । जिब्रो टोक्दै । ऊ । किनकी त्यसरी हेर्नू उस्को लागि अनर्थ हुनसक्छ । योजना हुनसक्छ । जसरी कानूनको नजरमा अनविज्ञता क्षम्य हुँदैन ।

सारीकाको पनि मनसाय थिएन । देखाउने । दुर्घटना नै थियो । बाध्यता थियो । कट्टु किन्ने सामर्थ उस्को थिएन । प्रचलन बनिसकेको थिएन । प्रचलन नहुदैमा संवेगहरु नआउने हुँदैन । उत्तेजनाहरु सेलाउने हुँदैन । यो त प्राकृतिक हो । मौसमले दुर्घटना ठानेर बिर्सिदियो । सारिकाले दुर्घटना भन्दा ज्यादा बाध्यता ठानी र सोचमा डुब्न पुगी चिनीमा कमिला झुम्मिए जस्तै । उस्ले सोची । अनर्थ भयो आज । मौसमले नदेख्नु पर्ने देख्यो । म असुद्द त भैन कतै ? प्रश्न गरि । यो उस्ले पनि मौसमलाई नहेरी कोठामा गएर सोचेकी हो । तर कोठाको दूलोबाट ऊ आगन कटेको निश्चित गर्न एकफेर भने हेरेकी थिई । ला गाउँ भरी हल्ला फिजाएर के के पो भन्नी हो ? त्रास र दुविधाले उस्लाई घेरेको थियो । त्रास, दुविधा र शंकालाई चिर्ने भनेको तथ्यले हो । भावनाले होइन ।

उस्ले फेरि आफूलाई बलियो बनाउने प्रयास गरी ।
आ नदेख्न नि सक्छ क्यारे ।
यस्तैमा उस्की आमा आगनमा आएको चप्पलको आवाज कानमा ठोकिन्छ ! जसरी उस्ले मौसमलाई नहेरी चिनेकी थिइ उस्को आवाज । मन्दिरको घण्ट जस्तै ।

ऊ बाहिर निस्किन्छे ।
पधेराट पानी लेर आईज ! आज पाहुना आउदैछन । भरे पानी नपुग्ला । जाँच राम्रै अरिस त होला ?

गुल्मीतिर यो जैसी बाहुनको घरमा पानी ल्याउन धाउनै पर्थ्यो, अरु गाउँले झैँ । यिनलाई नि छुट थिएन । गाउँका साझा समस्या यिनका पनि साझा नै थिए ।

गाग्री बिसाउदै उस्ले पाहुनाहरु देखी ।
सबैलाई नजर लाएर हेर्न भने भ्याईन । एकजना उस्कै बाउ जस्तै बुढा र एक जना रातो कमिज लाका मात्र याद गरि उस्ले । अनि नबोली भान्सामा छिरी ।

सारीकालाई आमैले लाडले सरु भन्छिन् ।
सरु ! गोटा सात गिलास चिया पकार ले त ?

चिया । बाड्छे ।
भान्सा भित्र छिर्छे।
घण्ट जस्तो प्रष्ट त होइन तर अन्तिम कुरा भने सुन्छे ।

राम्री रैछिन क्यारे । हामी त यिनको हात माग्न आका क्या रे ? यत्तिकी भए छोराले पिर गर्नू पर्दैन ।
सारिकाका बा टुप्लुक्क आई पुग्छन् । एकछिनमा सल्लाह हुन्छ । पाहुना आज यहि बस्ने कुरा हुन्छ ।

सारीकालाई चोखो खाना बनाउन भन्छिन आमैले ।
ऊ भान्सा पस्छे ।
सबै जना पिढिमा बस्छन । जाडो मौसम आउनै लाको हुन्छ । आगो नचाहिने जाडो ।
टुक्की बालेर खोपीमा राखेर भित्र छिर्छे ऊ ।
केटोले भखर खर्दारमा नाम निकालेको हो।
जागीर काठमाडौ भयो । यस्लाई एउटी भात पकाउने चाहियो, अनि हात माग्न आका क्यार्नी त नि । केटाका बाउले प्रस्तताव गर्छन ।

आ एकफेर घर जानी जातलाई कुटुम्ब आएसी नदिनी भन्नी हुन्छ र ? हैन त सरुकी आमै ?
दैव आए छन । रित्तै फर्काउन हुन्न । सरुकी आमैले मनमनै भन्छिन ।
बुढाको कुरो काटेर क्यार्नी होला ? रीत थीत मिल्ने, जातपात मिल्ने यस्ता कुटुम्ब आका बेला दुईफेर सोचेर हुन्न ? बुढालाई हौस्याउछिन ।
काठमाडौं जादा बास पनि खाचो भैन अब । लसपस नि नहुनी । छोरी भए ढुक्क भैगो नि ।
जागीरेका सासू ससुरा भैयो ।
केटा चुइसे नै थियो । भान्साबाट उस्ले छाँया मात्र देखेकी । टुक्कि बाले पनि छेक्केर लामै छाँया देखिएको थियो ।
आज कस्तो दिना आए मलाई माग्न । बाआमैले मानिसके सके, हुन्न कसरी भन्नि ? जागीरे रैछन । पाल्लान् त होला । सारिका मनमै कुरा खेलाउछे बाहिरका कुरा सुनेर । आजै एस एल सी को जाँच सक्किएको, आजै मौसमले भूगोल देखेको, आजै वर पनि आको कस्तो साईत परेछ त नि ? अलि अलि मख्ख ! अलिकती पढ्न नपाको पिरले मात्रै पिरोल्छ उस्लाई । घरमा आमै आजभोलि छिन ! हामी त आजै पो बिचार अरेर आका ? खाना खाईसके पछि केटाका बाउले प्रस्ताव गर्छन ।


खाना पछी…
सार्है मीठो पकाईछ्न ।
हुने वाला सम्धीलाई सुनाउँछ । मन्जीलको बाउ ।
सारीका आगनमा जुठो भाडा मस्काउदै छे ।
दिउसो स्कुलको चौरमा ढुङ्गो यसोधाको पुठामा बुरुक्क उफ्रेको झलक्क याद आउँछ ..
अब खर्दारले मट्याङ्ग्राले हान्ने त भए, क्यार्नी र । यहाँ बसे नि जुठो भाडा मस्काउनी हो, बरु विहे गरे शहर देख्न पाईनी, खर्दारले मलाई मस्कार टल्काउनी भए.. लजाउछे, कसैले देख्दैन । क्याम्पस जाने यत्तिकै हो । भाडा थन्काउनै लाग्दा । अब हिन्ने त होला क्यार्नी ? भोलि पनि जानै पर्नी ! लौ तयार अर्दिनु परो ।

उस्लाई भाउन्न हुन्छ । काउकुती लाउछ । बाहिर कुरा सुनेर । अघि आफैले लिपेको भुईमा चिप्लीन्छे । खुट्टा चिप्लेर । भित्र टुकी बली रहेको छ कुनामा । विरालो दुलाबाट दूध खान छिरे जस्तो आवाज आउँछ । कसैले याद गर्दैनन् । बाउहरु कुरा छिन्दै हुन्छन । जैसीनी सुत्न बुईगल गैन कि यताउती देखिन्निन् । विरालो जस्तै लुसुक्क मन्जील भान्सामा छिर्छ । हुनेवाला दुलही लडेको देख्छ । क्यारेकी भुइँमा क्यार्न हो सुतेकी, कानैमा गएर सासले बोल्छ । गाउँतिर धान पिस्ने डिजेल मिल पड्के जस्तै ढुकढुकी बढ्छ । मुख रातो हुन्छ । टुकीको उजेलोमा नदेखिनी गरि । हुनेवाला पतिलाई देखेर उठ्नै लजाउछे । नभए उठि सक्थी । उठ्नलाई हात दिन्छ । जुरुक्क उचाल्दा उस्का हातले बरफ पोखिएको गाला समात्न पुगे जस्तो हुन्छ । सारिकाको गुन्यू खुस्केर हातले चाकलाई छोएका रैछन । सेता गालामा चुम्दा चिसो भए जस्तै भयो उस्लाई । ऊ सम्हालिन्छे । ऊ नबोली बाहिर निस्किन्छ ।

उस्ले दिउँसो यसोधाको मेडी लगाको चाकमा ढुङ्गाले हिर्काको दृश्य झुलुक्क सम्झिन्छे । के भाको होला । नचिनेका मान्छेले । त्यो पनि हातले मेरा पुठ्ठामै निसाना लाए त ? हुन त अब यिनै हात्ले कति लिप्नी हुन, आजैबाट लिप्न शुरु गरे। बिहान भुइँ पोत्ने छदैछु, ती हातले अधेरा पोत्नी भए । नरम रैछन बरा । कलम समा हात पो । मख्ख पर्छे । बैँसले भरिएकी उस्को मनको हासो फुट्छ, गुलेलीबाट निस्केको मट्याङ्ग्रा ढुङ्गालाई निसाना बनाएर टक्राए जस्तै। कसैले सुन्दैन उस्लाई ।
रातभोरी सुत्दैनन दुबै पक्ष । जैसीनी जैसीलाई ओछ्यानमा नआको चाल पाएर तल पिढितिर कान लाउछे । भाले बास्नी बेला भै सक्न लागो । लौ हामी त लिएरै जान्छौ । हात दिन परो क्यार्नी । हुनेवाला सम्धीको आवाज कानमा छिर्छ । जैसीनी तल झर्छे ।
बाहिर पश्चिम तिरको पहाडमा टेक्नै लागे जस्तो देखिन्छ । अहिले टुकी जस्तै भएको छ जून पनि । सेता कुहिराले छेकेर । छोरीलाई बिदाई गर्छन् । जैसीका बुढा बुढीले।
जून पहाड पछाडी लुक्छे । उजेलो हुने अन्तिम अधेरोमा यस्तै हुन्छ । अन्तिम तिर पर छोरीको छाँया मात्र देखिन्छ । उकालोमा ।

बिहे पछी…
मन्जीलको काठमाडौं जाने दिन आउँछ । सारिकालाई अगाडि लाउछ । झोला बोकेर अगाडि लाग्छे । सदरमुकाम भएर आउनी बस चढ्न उनीहरु ओरालो झर्छ्न । बिहानको खाना खाएर । बस आउने ठाउँ सम्म पुग्न साझको ६ बज्ने रैछ । मन्जील पछाडी हुन्छ खोला कटे पछि घरबाट देखिन छाड्यो । दुलही त राम्री पायो केरे । खर्दार्ले चिठ्ठा पार्यो । भखारकी पाठी जस्ती । मन्जिलको बाउले बुढिलाई सुनाउँछ ।

क्यार्छौ त । आफ्ना दैलो लिप्ने नछुट्ने भयो । क्यार्नी त । पाठी होस कि … बुढी बकबकाउछे ।
अझै त तिमी पोती हाल्छेउ । तिम्ले मस्का जस्तो अर्ले मस्काको मलाई राम्रो लाउदैन । तिमी मेसैले गर्छेउ क्यारे ! खर्दारलाई कस्ले मस्काइदिन्छ त नि । दुलही तिमी सितै बस्दे?

बुढी लजाउदै जवाफ नफर्काई दैलो भित्र छिर्छिन। बाजे पनि पछि पछि लाग्छन । मन्जील र सारीका गएको बाटो खोला तरे पछी मोडिएको छ । देखिन छाडे खर्दारका जोडी । खोलो सुकेको बगर मात्र देखिन्छ ।

एक वर्ष पछि…

सारीका दुई जिउकी भै । उनीहरु पल्लो महिना सन्तान हुनेवाला छ । दुवै मख्ख छन् ।
अफिस सकार मन्जील बुढीलाई सक्दो सहयोग गर्छ । बुढीलाई दिनै केही न केही खाने कुरा बोकेर कोठा फर्किन्छ । कहिले केरा त कहिले अनारका दाना बोकेर आको झ्यालबाट देख्छे सरीता । कति माया गर्नु भाको के ? कहिले त रित्तै फर्किनू । खाई सकेकै छैन पहिले ल्याईदेकै । मन्जीललाई सुनाउछे । सारिकाको पेट ठूलो हुन्छ । बेला बेला ढाड दुख्यो भनेर सुनाउछे । काठमाडौमा उस्लाई बाहेक कस्लाई सुनाओस बिचरी । तर आज उस्लाई असाध्य नै दुखेको छ । सुत्ने बेलामा तोरीको तेल तताउँछ । मालिस गर्नलाई खर्दारले ।

आज तेल लाम्नी हो केरे । तिम्रो ढाड बिशेक हुन्छ कि?
रातमा बत्ती बालेर बुढीलाई हेरेको थिएन पहिले । सुत्ने बेला बत्तीको सुईच थिचेर मात्र खाटमा चढ्थ्यो । बत्ती नबालेरै हातहरुले लस्काउथे । खोज्थ्यो।
आज तेल लाउदा बत्ती बाल्नै पर्ने भयो ! तै पनि जिरो वाट कै बाल्छ ।
कतै जुम्ल्या पाउनी त हैनौ ? पेट त ठुलै छ ।
बहाना बनाएर बोल्छ । मनले भने उस्को सेती नदि जस्तो गहिरो नाईटोले ध्यान भङ्ग गर्दिन्छ । नाईटो नहेरेकै धेर भैसकेको हुन्छ । उस्ले । उस्का औलाहर्ले ।
उता फर्किउ ! पेटीकोट सार्दै ढाडमा तेल खन्याउछ । उस्ले माग्न गएको दिन उस्का हातहरुले देखेको बाहेक उस्का पुठ्ठा उजेलोमा देखेको थिएन । अलि सानै भएको मात्र याद छ । हातले छुदा ।
ठुल्ठुला दुई सेता फर्सी मोटाको देख्छ । पेट मात्र हैन रैहिछ । कालो कपाल सपक्क पारेर बाधेकी उस्लाई पछाडीबाट देखे पछी, बाहुनले केरा पाए पछि नछोड्ने जस्तै यादमा डुब्छ । आफैलाई सम्हाल्छ । अब कति नै छ र ! अर्को महिना त बाउ बनिहाल्छु क्यारे । ढाडमा फेरि तेल थप्छ । तेल दल्दै बेला बेला उस्का हातहरु फर्सीका बीचमा चिप्लेर पुग्छन । बुढी निदाए पछी उ पनि बत्ती अफ गरेर खाटमा सङ्गै ढल्किन्छ ।

एक महिना पछि…
प्रसुती गृहमा उस्ले जुम्ल्या सन्तान जन्माउछे । एउटा छोरा र छोरी । नाम यूग र यूगिना राख्छन् ज्योतिषले । दुबै जना खुसी हुन्छन् । जन्मेको तीन महिना पछी छोरोलाई ज्वरो आउँछ । अस्पताल सबै तिर चहार्छन् । तर उस्लाई निको हुन्न । छोरो बित्छ । एकहप्ता पछि ।
सारीकालाई मन नराम्ररी दुख्न थाल्छ तर छोरीको मन हेरेर आफूलाई सम्हाल्छे । सन्तान गुमाको पीडा सबैलाई उस्तै हुन्छ । तर पनि ऊ भखर बीस मात्र टेकेकी छे । बुढाले छिटै छोरा जन्माईदिने भनेर उस्लाई सम्झाउछन् । छोरी पनि सङ्गै जन्मेकाले उस्कै रेखदेखमै भुलाउछे । आफूलाई ।

सात महिना पछि …….।
छोरी निदाए पछी, मन्जीलको मनमा बुढिको ढाडमा तेल खन्याउदै गर्दा सेतो पुक्क उठेका पुठ्ठाको बीचमा तेल बगेर पुग्दा सोर्दै ढाड मालिस गरेको यादले काउकुती लगाउन सुरु गर्छ । तर उस्लाई अलि बिसन्चो जस्तो भएको हप्ता दिन जति भएको हुन्छ । कहिले काहीँ मनको अगाडी शरीरले हार्छ । उस्ले तिनै फर्सी हरुलाई उत्तानो पारेर केलाउछ । अधेरोमै । हप्तादिन देखि बिसन्चो ऊ बिहान उठ्न नसक्ने गरि थला पर्छ । छोरीलाई बोकेरै मन्जीललाई अस्पताल पुर्याउँछे । महिना दिन सम्म अस्पताल नै बास हुन्छ । तै पनि उन्नाईसको बीस हुन्न । मन्जील । छोरीको स्याहार, बिमारीको स्याहार गर्दै हाडछाला देखिन थाल्छ उस्को । तै पनि मनलाई बलियो पार्छे ।
महिना दिन देखि थलिएको मन्जील घर फर्किदैन । उस्ले अस्पतालकै बेडमा प्राण छोड्नु अगाडि उस्लाई भन्छ, छोरीको ख्याल गर्देउ है ! लेखान्त यस्तै रैछ ।

मन्जीलको मृत्यु पछि………
उस्लाई बिहे गरेको दुई वर्षमा जस्तो बज्रपात सायद कसैलाई परेको छैन । उस्को गाउँ घर र सबै तिर । त्यो भन्दा छोरा र नाति टोक्नि अल्छिना भनेर गाउँतिरबाट के के खबर मात्र आईपुग्छ, तर घरतिरका फर्केर आएनन् । मन्जीलको सतगत गरेर गाउँ फर्केपछि । उस्लाई गाउँ पनि बोलाएनन । उस्को मनमा ढुङ्गाले थिचेको थियो । जसरी केरा पकाउन बोरालाई ढुङ्गाले थिचेर राखिन्छ र केरा पाक्छ र खाने हुन्छ, केरा राखेको थैलो मगमगाउने हुन्छ । उस्को मनको थैलोलाई एकपछी अर्को पीरहरुले गह्रौ बनाउदै लान्छ र उ मगमगाउन सक्दिन । बिस्तारै केरा जस्तै गल्दै जान्छे मात्र । आफैलाई आफू बेकार सडेको केरा सम्झिन थाल्छे । बास्नादार हैन । उस्को अगाडि विकल्प हुँदैन । छोरीलाई स्याहार गर्ने । शहरको बसाई त्यो पनि साथमा छोरी । छोरीलाई माड खुवाउन खर्दारको तलब आउदैन थियो । महिनै पिच्छे । पहिले जस्तो । तर उस्को होस ठेगान मै थियन तर छोरीलाई हुर्काउनै थियो । माइतीबाट उस्ले सक्दो माया पाई । अन्न, पैसा धेरै हौसला र माया । तर उस्ले माईती फर्किन मानिन । उस्लाई बेला बेला गाउँबाट बाउ आमा खाने कुरा बोकेर उस्को डेरामा आउँथे । हप्ता दिन बसेर सम्झाई बुझाई फेरि गाउँ फर्कन्थे।

बाउ आमाको साथ र छोरीको मायाले उस्का मनका पालुवाहरुले ऊ फेरि तङ्ग्रीन थाली । ऊ डिप्रेसनमा गैसकेकी हुन्छे । तर साथ सहयोगले मात्र थप बाच्ने प्रेणा मिल्छ । उस्लाई धेरै पटक त मरु मरु नलागेको होइन, तर छोरी युगिनाको ममता र बाउआमाको साथले उस्लाई मर्न दिएन । बिहान साझ छाक टार्नै मुस्किल थियो । एकदिन उस्लाई सिलाई बुनाई सिक्ने रहर जाग्छ । उस्ले घरेलु अफिसबाट निशुल्क छ महिने तालिम लिन्छे । आफूलाई खाजा खर्च पाएको भत्ताले छोरीलाई ६ महिना सम्म हुर्काउछे । तालीममा बेस्तता बढ्दै गएपछि उस्का मनका घाउहरु बिस्तारै पुरिदै जान्छन । तालीममा प्रथम हुन्छे । उस्ले दुईटा सिलाई मेसिन पुरुस्कार पाउछे । बालेको दियो ननिभ्नलाई बेला बेला तेल थप्दै जानू पर्छ । त्यस्तै निभ्न लागिसकेको उस्को मनलाई बाआमाको हौसला, छोरीको मायाले बिस्तारै उस्ले माया गर्न सिक्दै छे । त्यस्मा उस्ले प्रथम पुरुस्कार स्वरुप पाएको सिलाई मेसिनले झनै मनको दियोमा तेल थप्ने काम गर्छ ।

बीस वर्ष पछी…
उस्ले शहरमा ठुलै टेलरिङ्ग सेन्टर खोलेर चर्चा कमाई सकेकी छे । बेलाबेला सफल महिलाको कथामा नारी पत्रीकाका कभर पेजहरु पनि ढाकिन्छन् । एफएम रेडियो र टेलिभिजनमा वर्षमा दुईचार अन्तर्वाता दिन बोलाउछ्न् । बलिसके पछी सबैले तापछन् । उस्को बिजिनेस नेपालमा दिनप्रतिदिन छलाङ्ग मार्दै हुन्छ । एउटा छोरीलाई नेपालमै पुग्दो कमाईसकेकी छे । युगिना आमा जस्तै राम्री छे । उस्की आमाले स्कुले शिक्षामा उच्च शिक्षा हासिल गर्न नपाए पनि अनुभव र ठक्करहरुले उस्लाई विश्वविद्यालय धाएर धेरैले पाएको सर्टिफिकेट भन्दा धेरै सिकेकी थिई । सफल थिई ।
के थाहा यो हन्टर र ठक्करले नसिकाको भए उस्ले खर्दारको तलबले यति सुबिधा र खुसी भोग्न पाउथी या नपाउन पनि सक्थी । जागिरेको जीवन अभाव नै नभए पनि, भने जस्तो धक फुकाएर बाच्न नसक्ने तीतो यथार्थ उस्ले नजिकबाट देखेकी थिई यी वर्ष हरुमा ।

उनीहरुलाई गुमाएका धेरै वर्ष उस्का पुठ्ठाहरु सुकेर हावा खुस्केको भलिबल भएका थिए , अनुहारका कान्तिहरु उडेर गुडमा एक्लै रन्थनिएको परेवाकी जोडी जस्तै थिए । मनहरु सुकेका काक्राको झाल जस्तै भए । सम्हालिई, साथ सहयोगले, आफ्नै प्रेरणाले आफ्नै मेहनतले ।

उ भखर चालीस मात्र टेकेकी छ । उस्का रङ्गहरु झन थपिदै छन् । आमा छोरीलाई दिदी बहिनी भन्न मिल्नेगरी फिटनेस कायम राखेकी छे । मनलाई गोडमेल गरेर जीवन दिन सक्ने उस्का लागि नाथे शरीर मेन्टेन गर्नु खासै पहाड फुटाउनु पर्ने थिएन । मनका घाउहरु ईतिहास बन्दै गएपछि उस्को चालिसे जवानीले आफ्नै एस एल सी पास गर्दाको जवानीलाई चुनौती दिएको थियो । उस्को उहिले मागी बिहे भएको थियो । युगिना छोरी पनि सार्है सप्रेकी छे । उ जस्तै । पढ्न पनि उस्तै, साईन्समा ए प्लस ल्याएर युनिग्लोबलबाट पास गरेकी छे । उस्ले कसैलाई प्रेम गर्दी रैछे । सायद । उस्ले एकदिन आफ्नो डिपेन्डेट भिजामा उस्को ब्वाईफ्रेण्डलाई लिएर उच्चशिक्षा पढन अस्ट्रेलिया जाने निर्णय सुनाई ।
युगिनाको खुसीकै लागि उस्ले आफ्नो जवानी कुर्बानी दिएकी थिई । मर्नबाट बार बार पछाडी हटेकी थिई । उस्को खुसीलाई नकार्ने कुरै थिएन । तर आफ्नै व्यवसाय सम्हालेर बस्न नभनेकी होइन । अन्तत युगिना उच्चशिक्षा अध्ययनको लागि अस्ट्रेलिया जाने भिजा पाएपछि बेखुसी हुन सकिन र फेरि आफूलाई सम्हाली ।

युगिनालाई एअर्पोट छाडेर फर्के पछि…
रातीको फ्लाईट थियो । घरमा एक्लै खाना मन लागेन, उस्को गाडी मैतीदेवी, डिल्ली बजार दाहिना हुँदै दरबारमार्गतिर डिनरको लागि मोडियो । पार्किङ्ग लटमा गाडी पर्किङ्ग गर्नै लाग्दा लुकिङ्ग ग्लासबाट पुरानो चिनेजाने जस्तो अनुहारमा उस्को आँखा जान्छ । जो भर्याङ्ग उक्लिदै गर्दा भूगोल कस्तो अरिस भनेर उस्को पेन्टी नलाएकैले फ्रक मुनिको भूगोललाई देखेर जिव्रो टोक्दै भाग्ने उहीआर्ने बाजेको नाति जस्तै थियो । गाडीबाट ओर्लेर उस्लाई नमस्कार गरि । एक दशक एउटै स्कुल पढेका, मेलापातमा भेटेका, सानैमा कबड्डी खेलेका, ठम्याउन कसैलाई गाह्रो भएन । ऊ हतारमा रैछ । साथी सङ्ग कफि खान मात्र छिरेको रे । साथीकै गाडीमा । जादा जाँदै फेसबुकमा भने जोडिन्छन् । यो त परमपरा जस्तै भएको छ आजभोलि । गाडीमा जाँदै गर्दा लुकिङ्ग ग्लासबाट उस्लाई वाई गर्छ ।
ऊ पनि बूढो भएकै रैन्छ । कालो कोटले टिसर्टलाई ढाकेको । ब्राउन कलर जुत्ताले उ खुलेको दृश्य उस्लाई पर जादा सम्म खोइ किन हो तान्यो । हेरी राख्छे । गाडीहरुकै लस्करमा हराउँछ । एकैछिनमा । ऊ होटेलमा छिर्नै लाग्दा सिक्युरिटीले चिनेर सलाम गर्छ । कुनाको टेबुलमा गएर बस्छे । डिनर अडर गर्छे । वैटरले २० मिनेट कुर्नु पर्ने जानकारी गराउछ । मोवाईलमा वाईफाई कनेक्ट गर्छे । ऊ बिजि भएर दुईचार दिनदेखी मोबाइल चलाकै हुन्न । बिजनेस डिल गर्ने मेलहरु आएका रैछन । सबै भन्दा पहिले युगिनाको मेलले उस्को मन तान्छ ।

मेल ओपन गर्छे । जस्मा लेखिएको हुन्छ..
प्राण प्रिय मामु
धेरै माया ।
हुन त म उच्चशिक्षा अध्ययनको लागि व्वाईफ्रेण्ड सङ्गै अस्ट्रेलिया उड्दै छु । मेरो मनले तिम्रो माया र आफ्नो भविष्य के छान्ने भन्ने कुरामा धेरै प्रश्न गर्यो, आखिर मेरो मनले आफ्नै भविस्य रोज्न पुग्यो, मेरै खुसी रोज्न पुग्यो । मैले एकदिन कसैलाई रोज्नै पर्थ्यो ! आखिर मैले भविष्य र जीवन यस्मै देखे । मेरो खुसीमा आफ्नो खुसी देख्ने तिमी महान छौ । आमा । मलाई यहि बसेर पनि पुग्ने मनग्गे पुग्ने कमाईदेकै छ्यौ । थाहा छ ।
आमा तिमिले युगलाई गुमाउँदा, मेरा बालाई गुमाउँदा र त्यस पछी घरबाट अल्छिना भनेर बाजे बजैले गरेको घृणा र एकफेर फर्केर नहेर्दा पनि तिमी कमजोर भैनौ । तिमी यो युगकै साईकोलोजिस्ट हौ । तिमीले यो शहरमा जसरी मलाई हुर्काउदै आफ्नो ख्याती कमाकी छेउ, मलाई गर्व लाग्छ तिम्रो छोरी हुनूमा ।
मेरो यादमा डगमगाउने तिमी छैनौ । आफूलाई खुसी राख्न जोड दिने छ्यौ । तिम्ले गर्ने योगा मेडिटेसन र पूजापाठ कहिले नछाड्नु । साईकोलोजिस्टहरुले पनि यिनै कुरा सिकाउने हुन् । विश्वविद्यालय नगएर जे सिकेउ सायद जानेहरुले सिक्छन या सिक्दैनन । मैले सिक्छु सिक्दिन भविस्यकै गर्वमा छ । अनि म अस्ट्रेलिया आउनु अगाडि नै भन्न खोजेकी थिए तर सकिन र आज यो मेल लेखेर पठाकी छु । तिम्रो गाडी एर्पोर्टबाट बाहिरिएपछी हामीलाई वैटिङ्ग रुममा दुई घण्टा बस्नु पर्ने भयो । यो कुरा फेरि भन्ने समय मिल्ला नमिल्ला भनेर लेख्दै छु ।
आमा उ बेला तिम्रो मेरै उमेरमा सबै गुमिसक्दा पनि आशाको दियो निभ्न दिईनौ । पहिले श्रीमान मरे पछी महिलाहरु सती जान्थे रे ? सती त एकपटक गए सक्कियो । तर सती जानू राम्रो हो भन्न खोजेकी पक्कै होइन तर सती जानेहरुले जीउँदै मर्दा पाएको प्रातड्ना भन्दा असंख्य खुसीहरूलाई सती पठाकी छौ । घृणाको आगोमा सती गएकी छौ । अभावको भेलमा हाम फालेर पसिनाहरुलाई सती पठाकि छयौ । तिम्रा साथीहरु श्रीमानको खाटमा उफ्रिदै मायामा डुब्ने रातहरु तिमीले आफ्नो जवानीलाई सति पठाकि छ्यौ ।
अझै म कहिले सम्म यो देश फर्किन्न, ठेगान छैन !
तिमी म जस्तै सुन्दर छ्यौ । तिम्रा मनहरु मेरा जस्तै कलिला छन् । जोसहरु जवान नै छन् । त्यसैले छोरीको आग्रह हो अब एउटा मन भुलाउने मनलाई तिम्रो दरबारमा भित्राउ है । म आफ्नो लागि आफै गर्छु । अब । मेरा लागि जति गरेउ इनअफ छ मलाई । मलाई आफ्नै संसार बनाउने प्रेणा दिने तिमी आमा महान छ्यौ ।

अन्तमा….
नेपाल आउँदा बा आमालाई देख्न पाउँ ।
उही
युगिना ।

वैटरले टेबुलमा राखेर गएको डिनर चिसो भै सकेको हुन्छ ।
उस्का खुशी र दुखका आँसुहरु बग्दै हुन्छन् ।
टिस्युपेपरले आँसु पुच्छे ।
वैटरलाई बोलाउछे । ह्वाइट वाइन मगाउछे ।
उस्ले डिनर अगाडि एक पेग वाईन खाने मुड बनाउछे । उस्ले यश अघि कहिले खाएकी थिइन ।
यी बिसौ वर्षहरुमा कति हन्टर, ठक्कर, घृणा पिएर पनि मातिन ! खुट्टा लरखराईन ! साथीहरूले खान कर लाउदा उस्ले थोप्पै पनि पिउन रहर गरिन ।

आज ऊ एक पेग पिउन चाह्न्छे । छोरीको महान सोचलाई पिएर सलाम भन्न चाहन्छे । तर उस्ले भनेको बा कस्लाई खोज्ने ? बनाउने ? धर्म संकटमा सहि निर्णय गर्न पनि पिउन चाहान्छे । छोरीको मेल पढे पछि, अघिको मौसमलाई फेसबुकमा एड गर्छे । ऊ अनलाईन नै हुन्छ । संयोग ।

नमस्कार!
उताबाट मौसमले हाई सङ्गै खुसीको स्माईली पठाउँछ ।
अघि कति बोल्ने मन थियो । एकैछिन नअड्डेर गैहाल्नू भो ? क्यार्नी । हो है । मलाई नि तेस्तै फिल नभाको हैन । साथीको गाडीमा लिफ्ट भएर … सङ्गै रोएको स्माइली पनि ।
ए कहाँ हो र बसाई ? प्रश्न गर्छे ।
किर्तिपुर । सातदोबाटो नजिकै । एउटा रुम छ ।
उस्ले प्रश्न गरेर अल्झाउन चाहान्छे ।

के गर्नु हुन्छ?
टि यु मा समाजशास्त्र पढाउछु।
अनि घर बनाउनु भको छैन ?
के खाएर घर बनाउनू ? यो जागिरले । बिहे त गर्न सकेको छैन ।
साच्ची ? केटी खोज्दिम त ? यताबाट जिब्रो तानेर स्माइली पठाउछे उस्ले पनि ।
एक पेग सकिन्छ । अर्को पेग मगाउछे । एक पेगले कुरा सकिएन । वरपरका टेबुलहरु खाली भै सकेका थिए ।
एक जोडी मात्र काउन्टरमा बिल पे गर्दै गरेक बाकी थिए । अब । उस्ले हासेको स्माइली पठाउँछ मात्र ।
किन हासेको ? हिम्मत छ ? आउनी ? केटी मन पर्छ पर्दैन, आउ म भेट गराईदिन्छु । आजै ।
आज त के मा आउनि र ! यस्बेला गाडी पाउदैन । धन्यवाद भोलि भोलि भेट होला नि ?
म गाडी लिएर आम ? मन छ भने ? भेटाईदिन्छु ?
चोकमा आईराख्नू भन्ने मेसेज सेण्ड गरेर ऊ किर्तिपुर तिर हुँईकिन्छे ।

त्यसपछी के हुन्छ……?

कथा बाकी नै हुन्छ ।
फेरि चिया आउँछ ।
उनीहरु चिया पिउन थाल्छन ।


कथा लेखक:

लाल बहादुर चन्द , सशस्त्र प्रहरी नायब उपरीक्षक

हाल कार्यरत सशस्त्र प्रहरी बल नेपाल अश्रित गुल्म, जाजरकोट 




  • फेसबुकबाट तपाईको प्रतिक्रिया