
जाजरकोट । चालु आर्थिक वर्ष ०८१/०८२ को शिवालय गाउँपालिका गाउँसभाबाट स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत कृषकहरूलाई टनेल (सल्पाउलिन प्लाष्टिक) र हाते ट्याक्टर वितरण गरिएको छ । पालिकाले परम्परागत कृषि प्रणालीलाई यान्त्रिकरण र व्यवसायीकरणतर्फ उन्मुख गराउने लक्ष्यका साथ यो कार्यक्रम सञ्चालन गरेको हो । गाउँपालिकाका कृषि प्राविधिक सहायक विश्वामित्र शर्माका अनुसार पालिकाका ९ वटै वडाका ५२ जना कृषकलाई ६० प्रतिशत अनुदानमा टनेल तथा १० जना कृषकलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरिएको हो ।

करिब १ लाख ५० हजारमा टनेल ४ लाख रुपैयाँमा हाते ट्याक्टर वितरण गरीएको उनले बताए । टनेलको प्रयोगबाट कृषकलाई बेमौसमी तरकारी उत्पादनमा सहजता हुने विश्वास उनको छ । यस्तै हाते ट्याक्टरको प्रयोगले खेत तथा पाखोबारीमा सजिलै गर्न सकिने र लागतमा न्यूनीकरण हुने भएकोले कृषकहरू आधुनिक कृषि प्रणालीमा जोडिने अपेक्षा गरिएको पालिकाको दाबी छ । कृषकको माग र आवश्यकताको आधारमा कृषि सामग्री वितरण गरिएको उल्लेख गर्दै शर्माले आगामी दिनमा अझ प्रभावकारी र व्यावसायिक कार्यक्रम ल्याउने प्रतिबद्धता जनाए ।

गाउँपालिकालाई तरकारी तथा कृषि उत्पादनको ‘हब’ बनाउने दीर्घकालीन लक्ष्य रहेको गाउँपालिका अध्यक्ष शेरबहादुर शाहीले जानकारी दिए । ‘यहाँका सबै क्षेत्रलाई सागसब्जी र कृषिमा नमूना बनाउने लक्ष्यका साथ अघि बढेका छौँ,’ अध्यक्ष शाहीले भने, ‘किसानको लागत साझेदारीमा सामग्री वितरण गरिएको छ, अबका दिनमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन हुन्छन् ।,’







कुलेन्द्र शाही । २०८२ जेष्ठ १ गते बिहिवार