प्रतिनिधिसभा निर्वाचनको तयारीस्वरूप जाजरकोटमा नमुना मतदान


जाजरकोट । फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को तयारीस्वरूप जाजरकोटमा नमुना मतदान तथा सुरक्षा सिमुलेसन अभ्यास सम्पन्न भएको छ ।
मतदाता शिक्षालाई प्रभावकारी बनाउने उद्देश्यले जाजरकोट खलंगामा नमुना मतदान गरिएको हो । ७ वटै स्थानीय तहलाई लक्षित गर्दै मतदातालाई मतदान प्रक्रिया, मत हाल्ने तरिका तथा सुरक्षाबारे जानकारी दिन नमुना मतदान सञ्चालन गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयको समन्वयमा सशस्त्र प्रहरी बल नेपाल हेडक्वाटर जाजरकोटको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा निर्वाचन अवधिमा उत्पन्न हुन सक्ने सम्भावित सुरक्षा चुनौती, आकस्मिक अवस्था, भिड/हुलहुज्जत व्यवस्थापन, मतपेटिका ओसारपसार, अन्तर–निकाय समन्वय तथा कमाण्ड कन्ट्रोल प्रणालीलाई प्रभावकारी बनाउने उद्देश्यले संयुक्त रूपमा सुरक्षा सिमुलेसन अभ्यास गरिएको थियो ।

सिमुलेसन अभ्यासअन्तर्गत मतदान हुनुभन्दा एक दिनअघि अज्ञात समूहद्वारा राखिएको बमलाई नेपाली सेनाले सफलतापूर्वक निष्क्रिय पारेको दृश्य प्रस्तुत गरिएको थियो । साथै, फरक–फरक दलका मतदाताबीच उत्पन्न भएको विवाद र आन्दोलनलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा नेपाली सेनाको संयुक्त टोलीले शान्तिपूर्ण रूपमा नियन्त्रणमा लिएको अभ्यास गरिएको थियो ।

नमुना मतदानमा जम्मा २२ वटा मत खसालिएको थियो । साथै अपाङ्ग, असक्त तथा ज्येष्ठ नागरिकलाई कसरी सहज र सुरक्षित रूपमा मतदान गराउने भन्ने विषयमा निर्वाचन सुरक्षाकर्मीहरूको भूमिका र जिम्मेवारीबारे व्यावहारिक प्रशिक्षण दिइएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेलले निष्पक्ष, स्वतन्त्र र सुरक्षित निर्वाचन सम्पन्न गराउन सबै सुरक्षा निकायबीच समन्वय अत्यन्त आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “निर्वाचन लोकतन्त्रको आधार हो । यसलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन प्रशासन, सुरक्षा निकाय र निर्वाचन कार्यालयबीचको सहकार्य अनिवार्य हुन्छ ।

आज गरिएको नमुना मतदान तथा सुरक्षा सिमुलेसन अभ्यासले वास्तविक निर्वाचनका बेला आउने चुनौती व्यवस्थापन गर्न ठूलो सहयोग पुग्नेछ ।” प्रमुख जिल्ला अधिकारी पौडेलले मतदातालाई कुनै पनि डर, दबाब वा प्रलोभनमा नपरी आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गर्दै कार्यक्रमको समापन गर्नुभएको थियो ।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया