दशैं-तिहार नजिकिँदा भेरी-७ का सयौँ घरधुरी अन्धकारमा

जाजरकोट । दशैं-तिहार नजिकिँदै गर्दा जाजरकोटको भेरी नगरपालिका-७ का पुन्मा, मिथ्याङ्ग्रा र रूपकोटमा तीन दिनदेखि विद्युत सेवा अवरुद्ध हुँदा करिब ६-७ सय घरधुरी अन्धकारमा छन्।

स्थानीय खिमबहादुर अधिकारीका अनुसार विगत एक सातादेखि विद्युतको भोल्टेज पटक–पटक घटबढ हुँदै आएको थियो। सोही क्रममा तीन दिनअघि ट्रान्सफर्मर बिग्रिएपछि बस्तीमा पूर्ण रूपमा विद्युत सेवा अवरुद्ध भएको हो।

विद्युत सेवा बन्द हुँदा विद्यार्थीको पढाइ, मोबाइल चार्ज, इन्टरनेट तथा सञ्चार सेवा, विद्युतीय उपकरणको प्रयोगसँगै स्थानीय व्यवसायसमेत प्रभावित भएको कालीबहादुर वलीले बताए।

दशैं-तिहारजस्ता प्रमुख चाडपर्व नजिकिँदै गर्दा पनि विद्युत सेवा सञ्चालनमा नआएपछि स्थानीय थप चिन्तित बनेका छन्। उनीहरूले तत्काल ट्रान्सफर्मर मर्मत वा नयाँ ट्रान्सफर्मर जडान गरी विद्युत सेवा सञ्चालन गर्न माग गरेका छन्।

नेपाल विद्युत प्राधिकरण जाजरकोटका कार्यालय प्रमुख राजेन्द्रलाल देवका अनुसार लगातारको वर्षाका कारण बिग्रिएको ट्रान्सफर्मरको स्थलगत निरीक्षण गर्न समस्या भइरहेको छ। ट्रान्सफर्मरको अवस्था हेर्न तथा मर्मतका लागि सफा मौसम र घाम आवश्यक पर्ने भएकाले वर्षाका कारण तत्काल प्राविधिक टोली पुग्न नसकेको उनले बताए।

उनका अनुसार मौसम खुलेपछि ट्रान्सफर्मरमा आवश्यक ट्रान्सफर्मर आयल हालेर मर्मत गर्ने प्रयास गरिनेछ। त्यसबाट समस्या समाधान नभए वैकल्पिक उपाय अपनाएर भए पनि दशैंअघि नै गाउँमा विद्युत सेवा सञ्चालन गर्ने प्रयास भइरहेको देवले जानकारी दिए।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया