रिसाङबाटै सांसद बुढाले उठाए पुनर्निर्माणका समस्या, कार्यविधि संशोधनका लागि विपद् प्राधिकरणसँग संवाद

जाजरकोट । जाजरकोटको भेरी नगरपालिका–२, रिसाङबाटै जाजरकोटका सांसद खडकबहादुर बुढाले भूकम्पपछिको पुनर्निर्माणमा देखिएका प्रमुख समस्या समाधानका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक र सहसचिवसँग फोन संवाद गरेका छन्।

बाढीपहिरो प्रभावित नागरिकसँगै रहेर गरिएको संवादमा भूकम्पपछिको पुनर्निर्माणमा देखिएका कानुनी तथा कार्यविधिगत समस्याबारे छलफल गरिएको थियो।

सांसद बुढाले अंशबण्डाका कारण पुनर्निर्माण प्रभावित भएको, राष्ट्रिय राजमार्गको ३१ मिटर मापदण्डका कारण निजी आवास निर्माणमा समस्या भएको तथा जोखिमयुक्त स्थानमा निजी निवास निर्माणसम्बन्धी समस्या समाधान गर्न कार्यविधि संशोधन आवश्यक रहेको विषय उठाएका थिए।

प्रभावित क्षेत्रबाटै सम्बन्धित निकायका अधिकारीसँग प्रत्यक्ष संवाद गर्दै सांसद बुढाले स्थानीय नागरिकले भोगिरहेका समस्यालाई तत्काल सम्बोधन गर्न आग्रह गरेका छन्।

संवादमा भेरी नगरपालिका प्रमुख सिपी घर्ती मगर, भेरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुहरि तिमल्सेना, बारेकोट गाउँपालिकाका पूर्वअध्यक्ष महेन्द्र शाही तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता कमान खड्का लगायत सहभागी थिए। उनीहरूले पनि पुनर्निर्माणका क्रममा स्थानीय तहमा देखिएका व्यावहारिक समस्या तथा नागरिकका गुनासाबारे जानकारी गराएका थिए।

रिसाङमा बाढीपहिरोबाट ठूलो क्षति भएपछि प्रभावित नागरिकको अवस्था बुझ्न पुगेका सांसद बुढाले विपद् प्रभावित क्षेत्रमै पुगेर पुनर्निर्माण तथा राहतका विषयमा सम्बन्धित निकायसँग समन्वय गरेका हुन्।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया