
ढकढक !
मैले भित्रबाट तीनपटक ढोका ढकढक गरेपछि बाहिरबाट कोही जंगियो- के हो ? के भयो ?
मैले मसिनो आवाजमा भनेँ ।
‘खोल् !’
चर्को आवाजमा आदेश आयो ।
म (हामी- वीरशमशेर घर्ती, ठगेन्द्र लोहारसँगै) कोठाभित्र थिएँ । ढोकाको चुकुल भित्रै थियो । निसन्देह: चुकुल हामीले खोल्दा खुल्थ्यो । बन्द गर्दा बन्द हुन्थ्यो । तर, त्यो अधिकार हाम्रो हातमा थिएन ।
रातिमा बाहिरको आदेश नआई ढोका खोल्न मिल्थेन । कहिलेकाहीँ त आदेश आउन ढिला हुँदा पाइन्ट/हाफफाइन्टमै पिसाब चुहाउनुपर्थ्यो । रोक्नै मुस्किल हुन्थ्यो ।
ढोका ढकढक गर्दै आवाजको भोल्युम बढाउनुपर्थ्यो- सर… पिसाब लाग्यो !
तर, चर्को बोल्ने हिम्मत हुन्थेन । अझै भनौं चर्को बोल्न मनाही थियो । डरले यसै त्राहीत्राही बितिरहेका थिए, दिनहरू । रातहरू ।
यस्तो लाथ्यो- हावाले चल्न पनि कसैको आदेश पर्खिनुपर्छ ! उनीहरूको आदेशविना बहन मिल्दैन बतास ।
कुरा २०६२ फागुनतिरको हो ।
देश राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकाल थियो । गाउँमा विद्रोही माओवादीको जगजगी उस्तै । द्वन्द्व उत्कर्षमा थियो ।
हामी सदरमुकामनजिकैको गाउँका बासिन्दा दुई ढुंगाका तरुलजस्ता थियौं ।
माओवादीहरू घरमाथिको डाँडामा आएर नाराजुलुस गर्थे । बम पड्काउँथे । पारि बोहोरागाउँमाथि रहेको शाही सेनाको ब्यारेकलाई लक्षित गरे तथानाम गाली गर्थे । उनीहरूले फ्याँकेको ग्रिनेट, पड्काएको बारुदको धुँवा हाम्रो घरसम्म आइपुथ्यो । नाक पिरो हुन्थ्यो । आँखा भतभत पोल्थे ।
जब–जब यसरी बमबारी हुन्थ्यो, हामी उठेर ढोकाको चेपमा अडेस लाथ्यौं । हामी अर्थात्, मुवा, भाइ र म । बुवाले त प्राय: कमाउनका लागि भारतमै बिताउहुनुथ्यो ।
कयौं रात मुवाले हामीलाई काखमा च्यापेर रुँदै बिताउनुभएको छ । आफू भित्तातिर अडिएर हामीलाई काखपट्टी राख्नुहुन्थ्यो । मुवालाई लाग्थ्यो- गोली बरु मेरो पिठ्युँमा लागोस्, तर मेरा छोराहरूको छातीमा नलागोस् ।
पारि ब्यारेकबाट आर्मीहरू उस्तै तथानाम गाली गर्थे । हाम्रो गाउँतर्फ सोझ्याएर फायर खोल्थे । धन्न गोली हाम्रो गाउँसम्म आइपुग्थेन । मकै भुटेजस्तो भुटुटु आवाज आइरहन्थ्यो । आमाचकारी गालीका आवाज आइरहन्थे ।
एकपटक मंसिरको महिना आर्मी ब्यारेकबाट हानिएको एट्टीवान (८१ इञ्ज) रकेट मोर्टारले छिमेकी घरनजिकैको रयाँजको रुख उत्तानो पार्यो । हामीले घाँसदाउरा गर्ने जंगलको बाटैमा ठूलो भ्वाङ परेको थियो । ढुंगा टुक्राटुक्रा भएको थियो । बारीका कान्लामा पड्किन बाँकी ग्रिनेटहरू कति भेटिन्थे, कति । कुनै दिन सुनाउँला ग्रिनेटको कहानी ।
मलाई सकेसम्म सदरमुकाम जानु नपरेहुन्थ्यो भन्ने लाग्थ्यो ।
त्योबेला केही काम परेर सदरमुकाम जानुपर्दा माओवादीको गाजस (गाउँ जनसरकार)को सिफारिसविना मिल्दैनथ्यो । सिफारिसविना नाका पार गरे माओवादीको कारबाहीको भागिदार हुनुपर्थ्यो । हामी बच्चाहरूलाई त त्यस्तो केरकार थिएन, तर हाम्रा अभिभावकले भोगेको सास्ती र बेहोरेको पीडा हिसाब गरिसाध्य छैन । शब्दमा जीवन्त बनाउन सकिँदैन, त्यो समय । त्यो त्रास । त्यो पीडा । त्यो त हामी भोग्नेहरूको मुटुमा खिल बनेर गाडिएको छ ।
माओवादीको सिफारिस लिएर नाका पार पर्यो । बजार पुग्दानपुग्दै सिफारिस फालिसक्नुपर्थ्यो । साथमा सिफारिस भेटिए प्रहरी र शाही सेनाले जे पनि गर्न सक्थे । सिफारिस नहुँदा पनि दिने दु:ख कहाँ कम थियो र !
सिफारिसविनै पुगे माओवादीको आरोपमा केरकार गर्थे । बिक्री गर्न लगिएका तरकारी र दहीदूध लुट्थे । बाटोमा फालिदिन्थे । धेरैपटक सदरमुकाम गइरहे यता माओवादीले ‘शाही सरकारको सुराकी’को बिल्ला भिराउँथे । जनकारबाहीको डन्डा चलाउन खोज्थे ।
यो पीडादायी समयको भुक्तमान हाम्रा अभिभावक अझै जीवित हुनुहुन्छ ।
एकपटक म काँक्रो बेच्न बजार गएँ । उद्देश्य एउटै थियो- काँक्रो बेचेको पैसाले कापीकलम किन्ने । हामी त कापीकलम समेत किन्न नसक्ने अवस्थाका न थियौं । सेना प्रहरीसँग बोल्नै डर लाग्थ्यो । त्यसैले काँक्रोको मूल्य डटपेनले काँक्रामै लेखेको थिएँ ।
‘यो गोठालोको १० भनेको के हो ?’
एउटा ठूलोवाला काँक्रो हेर्दै शाही सेनाको एउटा अधिकारीले सोध्यो ।
म झसङ्ग भएँ । पाइन्टमै पिसाब आउलाजस्तो भयो । डरले मुटु बाहिर निस्किएलाजस्तो भयो । बोल्नै सकिनँ । बल्लबल्ल हिम्मत जुटाएर भनेँ- गोठालोको होइन सर, यो ठूलोको १० भनेको हो ।
खासमा मैले त्यो काँक्रोको मूल्य १० रूपैयाँ तोकेको थिएँ । उसले ५ रूपैयाँ मात्र दिएर गयो । उसले थमाएको पैसा लिनुबाहेक विकल्प थिएन ।
सोँचे- कम्तीमा ५ रूपैयाँ भएपनि आयो ।
गाउँमा माओवादीले पारिवारिक रूपमा हामीलाई खासै दु:ख दिएनन् । एकहिसाबले भन्ने हो भने हाम्रो घर माओवादीको सेल्टर नै थियो । हाम्रा कयौं आफन्त माओवादी हुनुहुन्थ्यो । म कयौंपटक घरभन्दा पर डाँडामा पुगेर सेन्ट्री गरेको छु । तर, मलाई उहाँहरूले कहिले पनि माओवादी बन्न प्रेरित गर्नुभएन ।
‘माओवादीलाई पाल्ने’ भन्दै प्रहरीले मुवाको छातीमा बुट बजारेका दृश्य अहिले पनि मानसपटलमा ताजै छ ।
यी अलि पहिलेका कुरा भए ।
जब देश द्वन्द्वको भुङ्ग्रोमा थियो, शासनसत्ता ज्ञानेन्द्रको हातमा थियो, त्यसका बाछिटाहरू हाम्रो जिल्ला, गाउँसम्म पुगिसकेका थिए ।
सदरमुकाम जान नपरेहुन्थ्यो भन्ने लागे पनि जानैपर्ने बाध्यता आइलाग्यो । त्यो पनि झन्डै एक महिनाभन्दा बढी समयका लागि ।
म विजय मावि काफलचौरमा कक्षा ९ मा पढ्थेँ । मेरै स्कूलमा कक्षा १० मा पढ्ने छिमेकी गाउँका ठगेन्द्र लोहार (दुवै आँखामा समस्या भएर) को एसएसली परीक्षा मैले दिनुपर्ने भनेर अनुरोध आयो । म कक्षाको प्रथम विद्यार्थी भएकाले मैले लेख्दा पास हुन्छु भन्ने उहाँमा विश्वास हुँदो हो शायद ।
विद्यालयका शिक्षकहरूले समेत भनेपछि मैले नाइँ भन्ने कुरा भएन । आफ्नो वार्षिक परीक्षाको मुखैमा म ठगेन्द्रजीको एसएसलीका लागि अरू विद्यार्थीसरह सदरमुकाम गएँ ।
हामी रानागाउँस्थित साथी वीरशमशेर घर्तीको घरमा बस्यौं, जुन घर जिल्ला प्रहरी कार्यालयबाट मुस्किलले ३/४ सय मिटरको दूरीमा थियो । वीरशमशेरजी पनि त्यही वर्ष एसएलसी दिँदै हुनुहुथ्यो । उहाँको घरमा बसेपछि ठगेन्द्रजीलाई भाडा लागेन । मलाई ठगेन्द्रजीले भाडामा लिएकाले मेरो पनि भाडा लाग्ने कुरा भएन ।
जिप्रकानजिकै घर भएकाले सुरक्षित महसुस हुनुपर्ने हो । तर, मैले निकै असुरक्षा महसुस गरिरहेको थिएँ । निकै डर महसुस गरिरहेको थिएँ । माओवादीले आक्रमण गरे भने हामी बसेको घर पक्कै पनि ध्वस्त हुन्छ भन्ने लाग्थ्यो । एकातिर आफ्नो वार्षिक परीक्षा र ठगेन्द्रजीलाई एसएससी पास गराउनुपर्ने दायित्व, अर्कातिर रातभर निदाउनै गाह्रो पर्ने समय, अहो ! ती दिनहरू !
जब–जब साँझ पर्दै जान्थ्यो, मनमा डरको कालो बादल मडारिन थाल्थ्यो । कुनैदिन साँझमा बन्दुक पड्किए भने त पाइन्टमै पिसाबै आउँथ्यो ।
साँझ ढल्दै गर्दा युनिफाइड कमान्डोका सुरक्षाकर्मीहरू हातहतियारसहित बस्तीमा आइहाल्थे । ९ बज्दानबज्दै बत्ती निभाउन उर्दी जारी गर्थे । मट्टितेलको बत्तीमा पढिरहेका हामीलाई आदेश पालना गर्नुको विकल्प थिएन, झ्याप्प बत्ती निभाउँथ्यौं ।
कतिसम्म भने राति पिसाब लाग्दा पनि उनीहरूले बाहिरबाट ढोका खोल्ने आदेश नदिइकन हामीले खोल्न पाउँदैन थियौं । घरमा शौचालय थिएन । घरनजिकैको झाडीतिर गएर तुर्क्याउनुपर्ने बाध्यता थियो ।
उनीहरूको आदेशपछि हामी पिसाब फेर्ने स्थलतिर जान्थ्यौं । र, पछिपछि युनिफाइड कमान्डका सुरक्षाकर्मी आउँथे । हामी पिसाब फेर्दै गर्दा उनीहरू हतियारसहित छेउमा उभिन्थे । मनमा सधैँ डर हुन्थ्यो– यही बेला माओवादीले आक्रमण गरे भने !
बेस्सरी च्यापेको पिसाब पनि उनीहरू छेउमा हुँदा राम्ररी आउँदैनथ्यो । पिसाब गरेर सकेपछि उसैगरी उनीहरू हाम्रो पछिपछि आउँथे । हामी भित्र पसेर ढोका लगाउँथ्यौं । लामो सास फेर्थ्यौं । लाग्थ्यो- एकछिनलाई भए पनि बाँचियो ।
अहिले लाग्छ- हामी त ठूलै मान्छे पो रहेछौं क्यारे त्यतिबेला, पिसाब फेर्दा पनि पुलिसले सुरक्षा दिन्थ्यो ! हैट !
०००
एसएसलसी परीक्षा आयो । हाम्रो विद्यालयको परीक्षा केन्द्र आर्मी ब्यारेकनजिकै रहेको बुद्धि निमावि बोहरागाउँमा पर्यो । बजारबाट त्यहाँ पुग्न २०/२२ मिनेट लाग्थ्यो । डरैडरले परीक्षा केन्द्र पुग्यौं ।
परीक्षा हलमा पस्नुअघि सेनाले हामीलाई बेस्सरी खानतलासी गर्यो । मानौं, हामी यो दुनियाँको खुंखार आतंकावादी हौं । हामी शरीरमा आत्मघाती बम बोकेर परीक्षा केन्द्र पुगिरहेका छौं । हामीले बोकेको प्रवेशपत्र सत्ता ढाल्ने माओवादीको कुनै योजनापत्र थियो ।
त्रासको चरम मनोविज्ञानसहित हामी परीक्षा हलमा छिर्यौं । संयोगले मेरो अर्थात् ठगेन्द्रजीको सिटप्लानिङ झ्यालनेर पर्यो । उज्यालो आयो । तर, त्यो उज्यालोले मनमा गडिएको डरको अँध्यारो भगाउन सकेन । बेला-बेला झ्यालनेर आएर सेनाले हतियार सोझ्याउँदा मनमा के बितेको थियो, परीक्षा हलभित्रको तीन घण्टा कसरी बित्यो, म सम्झिनँ चाहन्नँ ।
एकदिन त ब्यारेलले ढाडमा घोच्यो । डराउँदै पछि फर्किएँ । भन्यो- अलि वर बस् !
कति कुरा बिर्सिएकै जाति हुँदो रहेछ । म यी कुनै कुरा सम्झिन चाहन्नँ । तर, स्मृतिमा धूमिल बन्दै गएका चित्रहरू चलायमान बनाउन बेलाबेला कुनै हावा चल्दोरहेछ । जब–जब त्यस्तो हावा चल्छ- स्मृतिमा तिनै कहालीलाग्दा दिनहरू घुम्न थाल्छन् । उही कम्ब्याट ड्रेस, उही बन्दुकको ब्यारेल, उही ट्रिगर र उही डर पुनर्ताजकी हुन्छ ।
०००
एसएसली सकेर हामी घर फर्कियौं । घर फर्किने दिन मनमा कति उत्साह थियो कुरै नगरौं । मृत्युको मुखबाट फर्किएझैं लाग्यो । सैनिक इलाका पार गरेपछि कामना गरेँ- अब फेरि कहिल्यै सदरमुकाम आउनु नपरोस् ।
तर, यो मेरो फगत एउटा कामना मात्र न थियो । फेरि आफ्नो परीक्षाका लागि जानैपर्थ्यो, अर्को वर्ष ।
खुशीको कुरा, परीक्षा सकेर फर्किएको एक महिनापछि देशमा लोकतन्त्र आयो । र, असारमा एसएसलसीको नतिजा पनि आयो ।
दूर्भाग्य ! म पास भइनँ । अर्थात् ठगेन्द्रजी पास हुनुभएन । पूरक पर्नुभयो । उहाँ पूरक दिएर पास हुनुभयो ।
तपाईंलाई रेगुलर पास गराउन नसकेकोमा सरी ठगेन्द्रजी !






द मालिका पोष्ट । २०८१ चैत्र १७ गते आइतवार