रुकुम पश्चिमको मुसिकोटमा भिषण वन डढेलो, ५ सय हेक्टर क्षेत्रमा आगो फैलियो

परिचन्द्र खत्री, रुकुम पश्चिम । रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ६ खारादह देखि वडा नम्बर १ को छिङ र जन्ती बस्ने लेकसम्म फैलिएको वन डढेलो नियन्त्रणमा समस्या आएको छ। शुक्रवार राति सिस्ने गाउँपालिका–७ र ८ को सिमानामा पर्ने जामाखोलाबाट आगो सुरु भएको थियो। शनिबार दिनभर डिभिजन वन कार्यालय, नेपाली सेना, नेपाल प्रहरी र मुसिकोट नगर प्रहरीले आगो नियन्त्रणका लागि प्रयास गरेपनि, आगो नियन्त्रणमा आउन सकेको छैन।

डिभिजन वन कार्यालय रुकुम पश्चिमका प्रमुख शेरबहादुर परियारका अनुसार आगो भिरालो भूभागमा फैलिएकोले नियन्त्रणमा ल्याउन गाह्रो भएको छ। “डिभिजन वन कार्यालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, मुसिकोट नगर प्रहरी र स्थानीयवासी गरी २०० जनाको टोली खटिएको थियो, तर आगो नियन्त्रण गर्न सफल हुन सकेनौं,” प्रमुख परियारले भने।

७ घन्टासम्मको प्रयासपछि पनि आगो पूर्ण रूपमा नियन्त्रणमा नआएपछि स्थानीयवासीलाई सतर्क रहन आग्रह गरिएको छ। बस्तीमा आगो नपस्ने भनेर मुसिकोट नगर प्रहरी प्रमुख उमेश केसीले अग्नि रेखा निर्माण गरिएको जानकारी दिए।डढेलोका कारण करिब ५ सय हेक्टर क्षेत्रको वन जलेर नष्ट भएको छ। आज पनि नगर प्रहरी जंगलमा खटिएको छ र डढेलो नियन्त्रणका लागि प्रयास जारी रहेको छ।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया