जाजरकोट । माध्यमिक शिक्षा परीक्षा (एसईई) को पहिलो दिन नै जाजरकोटको शिवालय गाउँपालिकामा अंग्रेजी विषयको प्रश्नपत्र बाहिरिएको छ। बिहीबारदेखि सुरु भएको परीक्षामा प्रश्नपत्र परीक्षा सुरु भएको एक घण्टाभित्रै सामाजिक सञ्जालमार्फत बाहिरिएको छ।
विशेष सूचनाका आधारमा, प्रश्नपत्र शिवालय–७ स्थित वीरेन्द्र मावि जुँगाथापाचौर परीक्षा केन्द्रबाट बाहिरिएको हुनसक्ने बताइएको छ। म्यासेन्जर र ह्वाट्सएपमार्फत समूह बनाएर प्रश्नपत्र फैलाइएको दाबी गरिएको छ।
तर परीक्षा केन्द्रका केन्द्राध्यक्ष शेरबहादुर खत्रीले प्रश्नपत्र बाहिरिएको विषयमा कुनै पुष्टि नभएको बताए। “परीक्षा मर्यादित ढंगले सञ्चालन भएको छ, निगरानी कडा पारिएको छ, विद्यालयबाट अहिलेसम्म कुनै प्रश्नपत्र बाहिर नगएको हाम्रो दाबी छ,” उनले भने।
यस विषयमा थप अनुसन्धान जारी रहेको र सम्बन्धित निकायले आवश्यक कदम चाल्ने जनाइएको छ।







विनोद कुमार घर्ती (रिदम) । २०८१ चैत्र ७ गते बिहिवार