
जाजरकोट। नलगाड बहुमुखी क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाल विद्यार्थी संघ (ने.वि.संघ) र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को साझा प्यानल विजयी भएको छ।
निर्वाचन समितिका अनुसार सभापतिमा ने.वि.संघका विशाल विक्रम चनारा ५१ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिस्पर्धी अखिल क्रान्तिकारीका नन्दलाल रावलले ४१ मत प्राप्त गरे। सचिवमा अनेरास्ववियुका टिकाराम चनारा ५४ मत ल्याएर निर्वाचित भए, भने उनका प्रतिस्पर्धी अखिल क्रान्तिकारीकी जुनमाया परियारले ३७ मत मात्र प्राप्त गरिन्। कोषाध्यक्षमा अनेरास्ववियुकी सपना विक ५३ मत ल्याएर विजयी भइन्। सदस्य पदमा अनेरास्ववियुका बालकृष्ण बुढा ५८ मत, ने.वि.संघकी पवित्रा थापा ५३ मत प्राप्त गर्दै निर्वाचित भए। अनेरास्ववियुकी रविना गिरी भने निरविरोध निर्वाचित भएकी छन्।

विजयीपछि आयोजित उत्सव कार्यक्रममा अनेरास्ववियुका केन्द्रीय सदस्य दिनेश गौतमले भने, “हामी विद्यार्थी हकहितका सवालमा सधैं अगाडि रहनेछौं। यो जित शिक्षाको गुणस्तर सुधार्ने र विद्यार्थी अधिकार सुनिश्चित गर्ने अभियान हो।”
ने.वि.संघ जाजरकोटका अध्यक्ष अनिश कार्कीले भने, “यो जित विद्यार्थीहरूको विश्वासको जित हो। हामी विद्यार्थीका हक–अधिकार र क्याम्पस विकासका लागि संयुक्त रूपमा काम गर्नेछौं।” उनले अखिल क्रान्तिकारीलाई लक्षित गर्दै भने, “हामीले संयुक्त गठबन्धनको बलियो प्रदर्शन गर्दै जित हात पारेका छौं। आगामी चुनावमा पनि हाम्रो सहकार्य यसरी नै रहनेछ।”
विजयी उत्सवमा विद्यार्थीहरूको उत्साहजनक उपस्थिति रहेको थियो। नव–निर्वाचित टोलीले विद्यार्थीका समस्याहरू समाधान गर्दै सकारात्मक परिवर्तन ल्याउने प्रतिबद्धता जनाएका छन्।







विनोद कुमार घर्ती (रिदम) । २०८१ चैत्र ५ गते मङ्गलवार