
रिदम बाबु घर्ती
जाजरकोट । जाजरकोट जिल्लामा सुरक्षित र गुणस्तरीय खानेपानीको सुनिश्चितता गर्न खानेपानी परीक्षण प्रयोगशाला स्थापना भएको छ । खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थान विभाग र जाजरकोट खलंगा सहलगानी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको आर्थिक सहयोगमा उक्त प्रयोगशाला सन्चालनमा ल्याइएको हो ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को प्राविधिक सहयोगमा सन्चालन गरिएको प्रयोगशालामा विभिन्न १२ वटा प्यारामिटरमा पानीको गुणस्तर जाँच गर्न सकिने उपभोक्ता समितिका अध्यक्ष किरण कुमार भण्डारीले बताए । उक्त प्रयोगशालामा डिस्टिल वाटर समेत उत्पादन गरिने अध्यक्ष भण्डारीको भनाई छ ।

प्रयोगशालाको उद्घाटन गर्दै भेरी नगरपालिकाका मेयर चन्दप्रकाश घर्तीले खानेपानीको जाँचले उपभोक्ताहरुको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने बताए । दुषित खानेपानीका कारण विभिन्न रोग लाग्ने र त्यसले स्वास्थ्य संगै आर्थिक क्षेत्रमा समेत क्षेति गर्ने भन्दै मेयर घर्तीले प्रयोगशाला स्थापनापछि खानेपानीमा शुद्धता ल्याई स्वस्थ जीवन जिउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
प्रयोगशालामा आफ्ना उपभोक्तालाई निशुल्क रुपमा खानेपानीको गुणस्तर जाँच गरिने छ भने अन्य उपभोक्तालाई शुल्क लिएर परिक्षण गरिने उपभोक्ता समितिका अध्यक्ष भण्डारीको भनाई छ ।
जाजरकोटमा स्थापना गरिएको प्रयोगशाला कणर्ाली प्रदेशकै दोश्रो हो । यसअघि यस्तो प्रयोगशाला सुर्खेतमा मात्रै रहेको थियो । यस प्रयोगशालाबाट जाजरकोटसहित अन्य छिमेकी जिल्लाका नागरिकहरुले समेत सेवा प्राप्त गर्न सक्नेछन ।







विनोद कुमार घर्ती (रिदम) । २०८१ कार्तिक २५ गते आइतवार