जाजर्कोट । जाजरकोटको कुशे गाउँपालिका-५ दम्दलामा ट्याक्टरको ठक्करबाट एक किशोरको मृत्यु भएको छ।शुक्रबार करिब ६:०० बजे कुशे गाउपालिका ५ दम्दलाबाट सरिया लोड गरी पाँचकटिया आउँदै गरेको एस के निर्माण सेवा कम्पनीको रा.१ त. ४४७१ नम्बरको ट्याक्टरले भेरी नगरपालिका-२ तिमिलेका लक्ष्मण सिंहका छोरा १५ वर्षीय सन्तोष सिंहलाई ठक्कर दिएको थियो।
स्थानीयवासीले घटना स्थलमै मृत्यु भएको जानकारी दिँदै साँझ ६:३० बजे प्रहरी चौकी पाँचकटियालाई टेलिफोन मार्फत खबर गरेका थिए। सूचना प्राप्त भएलगत्तै प्रहरी चौकी पाँचकटियाबाट इञ्चार्ज यम बहादुर गुरुङको कमाण्डमा ५ जनाको टोली घटनास्थलतर्फ खटिएको थियो।
प्रहरीका अनुसार ट्याक्टर चालक घटना भएलगत्तै फरार भएका छन् ।, उनको खोजी कार्य जारी रहेको छ। ट्याक्टरलाई भने प्रहरी नियन्त्रणमा लिइएको छ।
घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट प्रहरी निरीक्षक सन्तोष चन्दको कमाण्डमा ११ जनाको टोली घटनास्थलतर्फ परिचालित भएको जिल्ला प्रहरी जाजरकोटले जनाएको छ । घटनास्थल जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट करिब ३६ किलोमिटर उत्तर पर्ने बताइएको छ। प्रहरीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ ।
ट्याक्टरको ठक्करबाट १५ वर्षीय किशोरको मृत्यु

विनोद कुमार घर्ती (रिदम) । २०८१ चैत्र ८ गते शुक्रवार