एमाले सुर्खेतको अधिवेशन आजदेखि, को–को छन् नेतृत्वको दाबेदार ?

जाजरकाेट । नेपाल कम्युनिस्ट पार्टी नेकपा (एमाले) सुर्खेतको जिल्ला अधिवेशन आज (बिहीबार)देखि वीरेन्द्रनगरमा सुरु हुँदैछ । वीरेन्द्रनगरको सिटी हलमा हुने नवौँ अधिवेशनको उद्घाटन एमाले महासचिव शङ्कर पोखरेलले गर्ने कार्यपालिका रहेको छ । महासचिव पोखरेलले अधिवेशनको उद्घाटन दिउँसो १२ बजे गर्नेछन् ।
गत फागुन ४, ५ र ६ गते हुने भनिएको अधिवेशन दुई समूहमा विभाजित एमाले सुर्खेत नेतृत्वको विषयलाई लिएर विवादका कारण स्थगित भएको थियो । अध्यक्ष बिसीले गत १७ माघमा एकलौटी लिखित विज्ञप्ति जारी गर्दै अधिवेशन स्थगित गरेका थिए । उनले आठौँ जिल्ला अधिवेशनबाट हालसम्म आइपुग्दा जसरी पार्टी साझा तरिकाले चल्नु पर्ने हो त्यसरी चलाउन नसकिएको बताएका थिए ।
साथै अध्यक्ष बिसीले आफूमाथि पटक पटक अपमान भएको समेत उल्लेख गरेका थिए । त्यसपछि अधिवेशन पुनः चैतलाई सारिएको थियो । आज हुने अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्नेछ । प्रदेश राजधानीको जिल्लासमेत भएकाले पनि एमाले सुर्खेत जिल्ला अधिवेशनलाई चासोको साथ हेरिएको छ।केपी ओलीको सुर्खेत आउने अनिच्छाका कारण महासचिवले अधिवेशन उद्घाटन गर्नेछन् ।
यसका लागि ९ वटा स्थानीय तह र पार्टीका विभिन्न जनवर्गीय संगठनबाट गरेर करिब ४ सय ९५ जना प्रतिनिधि छनौट भइसकेका छन् । ६९ जना दलित क्लस्टरबाट प्रतिनिधि छनोट भएका छन् । एमाले सुर्खेतको नेतृत्वका लागि हालसम्म दुई जनाले मात्रै आकाङ्क्षा देखाएको प्रचारप्रसार विभाग प्रमुख गंगाराम तिमिल्सिनाले मालिका पोष्टलाई जानकारी दिए ।
उनकाअनुसार आकाङ्क्षीमा हालको उपाध्यक्ष कुलमणि देवकोटा र वर्तमान अध्यक्ष अमृतबहादुर बिसी रहेका छन् । बिसी अध्यक्ष पदमा पुन दोहोरिन चाहान्छन भने देवकोटा जिल्लाको नेतृत्व लिन चाहन्छन् । प्रतिनिधि छनौटलाई आधार मान्दा देवकोटा बिसी भन्दा बलिया उम्मेदवार समेत मान्छिन् । देवकोटा स्थायी कमिटी सदस्य यामलाल कँडेल र प्रदेश सचिव ध्रुवकुमार शाहीलेका विश्वासपात्र मानिन्छन् ।
आठौँ अधिवेशनमा कँडेलकै लाइनबाट अध्यक्ष बनेका बिसी अहिले अर्का स्थायी कमिटी सदस्य एवम् सुर्खेत जिल्ला इन्चार्ज गोरखबहादुर बोगटी निकट बनेका छन् । सार्वजनिक रूपमा यी दुई जनाले मात्रै आकाङ्क्षा देखाएपनि तारा केशर गौतम अध्यक्ष पदका लागि अर्का दाबेदार हुन। यद्यपि एमालेले भने सर्वसहमतिरुपमा नेतृत्व चयन गर्ने दाबी गर्दै आएको छ ।
तर जानकारहरूका अनुसार सर्वसम्मत हुन कठिनाइ देखिएको छ । वर्तमान अध्यक्षले आफू दोहोरिनकै लागि फागुनमा हुने भनिएको अधिवेशन नै स्थगित गरेका थिए ।सर्वस्वसहमतिमै जिल्ला अध्यक्ष बनाउने एमाले सुर्खेतको तयारीमा बिसी र देवकोटाको दाबीले निर्वाचन हुने निश्चित जस्तै छ।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया