
जाजरकोट । जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गत साउन ३० गते आएको बाढीपहिरोबाट प्रभावित परिवारलाई पाँचथरको तुम्बेवा गाउँपालिका-५ हाङ्गुमस्थित इन्द्रावती माध्यमिक विद्यालय पूर्व शिक्षक-विद्यार्थी अक्षयकोष तथा मिलन केन्द्रले राहत सामग्री उपलब्ध गराएको छ। बाढीपहिरोबाट प्रभावित नागरिकको अवस्था बुझ्दै संस्थाका प्रतिनिधिसहितको टोली रिझाङ पुगेको हो । टोलीले प्रभावित परिवार तथा बालबालिकालाई राहत सामग्री हस्तान्तरण गरेको छ। राहत वितरणमा भेरी नगरपालिका–४ का पूर्व वडा अध्यक्ष खम्बजंग शाह, नेपाल पत्रकार महासंघ जाजरकोटका पूर्व अध्यक्षबालकुमार शर्मा लगायत सहभागी थिए ।
संस्थाले विपद्बाट प्रभावित परिवार तथा बालबालिकालाई लक्षित गरी राहत उपलब्ध गराएको जनाएको छ। राहत सामाग्री अन्तर्गत १४ घरपरिवारका ४३ जनालाई संस्थाको लोगो अंकित ट्र्याकसुट,पाँच जना आमा तथा दिदीबहिनीलाई धोती-साडी,चौबन्दी र जुत्ता उपलब्ध गराइएको छ। त्यस्तै १४ घरपरिवारलाई ब्ल्याङ्केट र रोटी सेक्ने तावा तथा अन्य आवश्यक सामग्रीसमेत वितरण गरिएको छ। बाढीपहिरोका कारण विद्यालय जाने सामग्रीसमेत गुमाएका प्रभावित ११ जना विद्यार्थी बालबालिकालाई स्कुल ब्याग, कापी, कलमलगायत स्टेशनरी सामग्री प्रदान गरिएको संस्थाका संस्थापक संयाेजक भोजकुमार खड्काले बताए । राहत वितरण कार्यक्रममा सहभागी प्रभावित नागरिक तथा अन्य उपस्थितलाई नास्तासमेत उपलब्ध गराइएको उनकाे भनाइ थियो।

रिसाङमा बाढीपहिरोबाट ठूलो क्षति भएपछि संस्थाले प्रभावित नागरिकको आवश्यकतालाई मध्यनजर गर्दै राहत वितरणका लागि प्रभावितहरुकाे नामावली भेरी नगरपालिका–२ सँग अनुमति मागेको थियो । संस्थाले आफ्नो सामाजिक सेवाको उद्देश्यअनुसार रिसाङका थप प्रभावित परिवारलाई समेत आवश्यकताका आधारमा सहयोग गर्ने जनाएको छ । राहत वितरणका क्रममा थप आवश्यक सामग्री पहिचान भएमा त्यसको विवरणसहित पुनः सहयोग गर्ने प्रतिबद्धता पनि संस्थाले जनाएको छ। राहत वितरणका क्रममा बाढीपहिरोबाट प्रभावित नवराज विकको परिवारलाई समेत संस्थाले सम्झिएर आवश्यक सामग्री उपलब्ध गराएको थियो । संस्थाले केही थप पीडित व्यक्तिलाई कपडा तथा अन्य सामग्री सहयोग गरेको जनाएको छ। गत साउन ३० गते रिसाङमा आएको बाढीपहिरोले घर, गोठ, खाद्यान्न तथा दैनिक उपभोगका सामग्रीमा क्षति पुर्याएपछि प्रभावित परिवार अझै पुनः स्थापनाको पर्खाइमा छन् ।







विनोद कुमार घर्ती (रिदम) । २०८३ असोज ९ गते शुक्रवार