
जाजरकोट । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भेरी नगर कार्यसमितिको सभापति पदका लागि शशिराम बुढा र रमेश कुमार शर्मा चुनावी प्रतिस्पर्धामा उत्रिने भएका छन्।
नगर सभापति चयनका लागि दुवैबीच प्रजातान्त्रिक विधिअनुसार निर्वाचन हुने नेपाली कांग्रेस भेरी नगर समितिका उपसभापति विर्ख बहादुर कार्कीले जानकारी दिए।
बुढा यसअघि भेरी नगर कार्यसमितिको सभापतिको जिम्मेवारीमा थिए भने शर्मा भेरी नगरपालिका–११ का वडा सभापति थिए।
उपसभापति कार्कीका अनुसार भेरी नगर सभापति चयनका लागि हुने निर्वाचनमा ३१२ जना मतदाता सहभागी हुनेछन्। नगर कार्यसमितिमा सभापतिसहित ४३ सदस्य रहनेछन्। कार्यसमितिमा भेरी नगरपालिकाका प्रत्येक वडाबाट एक जना पुरुष र एक जना महिला प्रतिनिधित्व रहने व्यवस्था गरिएको छ।
निर्वाचन समितिले सार्वजनिक गरेको तालिकाअनुसार मनोनयन दर्ता बिहान १०ः३० बजेदेखि ११ः३० बजेसम्म हुनेछ। प्रथम नामावली बिहान ११ः४५ बजे प्रकाशन गरिनेछ।
उम्मेदवारीउपर दाबी–विरोधका लागि अपराह्न १२ बजेसम्मको समय तोकिएको छ। त्यसपछि उम्मेदवारको नामावलीउपर जाँचबुझ अपराह्न १२ः३० बजेसम्म गरिनेछ भने अन्तिम नामावली अपराह्न १२ः४५ बजे प्रकाशन गरिनेछ।
निर्वाचन कार्यक्रमअनुसार मतदान दिउँसो १ बजेदेखि ५ बजेसम्म हुनेछ। मतदान सकिएलगत्तै मतगणना सुरु गरिने र मतगणना सम्पन्न भएपछि निर्वाचन परिणाम घोषणा गरिने निर्वाचन समितिले जनाएको छ।
निर्वाचनका लागि मतदान स्थल जिल्ला समन्वय समिति सभाहलमा तोकिएको छ।

यसैबीच, नेपाली कांग्रेस जाजरकोटका सहसचिव एवं प्रवक्ता छवि पन्तले जिल्लाका सातवटै पालिकामा हुने अधिवेशनमा सकेसम्म निर्वाचनमा नजाने र आपसी छलफल तथा सहमतिबाट कार्यसमिति चयन गर्ने प्रयास भइरहेको बताए।
“नेताहरूबीच आपसी सल्लाह र सहमतिका आधारमा निर्विरोध कार्यसमिति चयन गर्ने हाम्रो प्राथमिकता हो। सहमति हुन नसकेको अवस्थामा भने पार्टीको लोकतान्त्रिक विधिअनुसार निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गर्नेछौँ,” पन्तले भने।
जाजरकोटमा आज जिल्लाका सातवटै पालिकामा नेपाली कांग्रेसको अधिवेशन हुँदैछ। सहमतिबाट नेतृत्व चयन गर्ने प्रयास भइरहे पनि सहमति हुन नसकेको अवस्थामा लोकतान्त्रिक प्रक्रियाअनुसार निर्वाचनबाट नेतृत्व चयन गरिने कांग्रेसले जनाएको छ।






विनोद कुमार घर्ती (रिदम) । २०८३ असोज ७ गते बुधवार