
सुर्खेत । कर्णाली प्रदेश सरकारले रणनीतिक र पर्यटकीय महत्वका सडकहरूको स्तरोन्नति कार्य तीव्र बनाएको छ । पछिल्ला दुई दिनमा प्रदेश सरकारले दुई वटा सडक स्तरोन्नतिको काम अगाडि बढाएको हो । कर्णाली प्रदेश सरकारले हाल रणनीतिक महत्वका सडकको स्तरोन्नतिलाई प्राथमिकता दिएको छ । सरकारले हालै दुई दिनमा रणनीतिक र पर्यटकीय महत्वका दुई वटा सडक स्तरोन्नतिको काम अघि बढाएको छ । आइतबार सरकारले मुलपानी–रानीघाट–तेलपानी–भुरीगाउँ सडकअन्तर्गत सुरुवाती बिन्दु फलाटे–रानीघाटखण्डको झन्डै सात किलोमिटर सडकको स्तरोन्नति गर्ने प्रक्रिया सुरु गरेको छ ।
कर्णाली सरकारका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीलाई तराईसँग जोड्ने छोटो मार्गको पहिलो खण्ड स्तरोन्नतिको काम शुभारम्भ गरेका हुन् । पूर्वाधार निर्देशनालय सुर्खेतले पहिलो खण्डको स्तरोन्नतिसहित कालोपत्रे गर्न ठेक्का प्रक्रिया अगाडि बढाएको थियो । निर्देशनालयले ३२ करोड रुपैयाँ स्रोत सुनिश्चित गरी पहिलो खण्डको स्तरोन्नतिको कामका लागि ठेक्का आह्वान गरेको थियो । कुल १० किलोमिटर सडकमध्ये ७ किलोमिटर सडकको स्तरोन्नतिसँगै कालोपत्रे गर्न बहुवर्षीय ठेक्काअन्तर्गत निर्माणको काम थालनी भएको हो । आगामी ३० पुस २०८३ मा सम्पन्न गर्ने कार्यदेशसहित १८ करोड ५२ लाख २३ हजार आठ सय ५१ रुपैयाँ (भ्याटसहित) लागतमा पूर्वाधार निर्देशनालय र बसना निर्माण सेवा स्युना कालीकोटबीच सम्झौता भई काम अघि बढेको हो ।
मुलपानी–रानीघाट सडकको दूरी १० किलोमिटरमध्ये मुलपानीदेखि फलाटेसम्मको तीन किलोमिटर सडक कालोपत्रे सम्पन्न भइसकेको छ । आर्थिक वर्ष २०७६/०७७ यता कर्णाली प्रदेश सरकारले यो सडकलाई प्राथमिकतामा राख्दै आएको छ । तर, प्रगति भने निराशाजनक छ । २०७६/०७७ मा दुई खण्डमा विभाजन गरेर सडक निर्माणको ठेक्का भएको थियो । पहिलो खण्ड अन्तर्गत वीरेन्द्रनगर उपत्यकाको मुलपानीबाट रानीघाटसम्म १० किलोमिटर सडक स्तरोन्नतिका लागि ९ पुस २०७६ मा पूर्वाधार निर्देशनालय र श्याम एन्ड शङ्कर कन्स्ट्रक्सनबिच १० करोड २६ लाख ६१ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।
८ फागुन २०७८ सम्म निर्माण सम्पन्न गर्नुपर्ने समयावधि तोकिएको भए पनि सडकले अझै पूर्णता पाउन सकेको छैन । यही खण्डमध्येको केही उपखण्ड स्तरोन्नति गर्न २०७९ माघमा अर्को निर्माण कम्पनीसँग दुई करोड ७५ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । १३ मङ्सिर २०८० सम्ममा काम पूरा गर्ने सर्त भए पनि हालसम्म सात सय मिटर मात्र कालोपत्रे भएको छ ।
प्रदेश सरकारले उक्त खण्डको निर्माणको काम अघि बढाएसँगै रानीघाटमा पुल निर्माणका साथै रानीघाट–तेलपानीखण्डको सडक निर्माणमा आएको अवरोधलाई समाधान गर्न सरोकारवाला निकायलाई दबाब पुग्नेछ । सडक स्तरोन्नतिको काम शुभारम्भ गर्दै मुख्यमन्त्री कँडेलले पहिलो खण्ड स्तरोन्नतिको शुभारम्भ भएसँगै दोस्रो खण्डको जग्गा भोगाधिकार, रुख कटान तथा रानीघाटको पुल निर्माणमा दबाब पुग्ने बताए ।
कर्णालीका नागरिकले सदियौँदेखि प्रयोग गर्दै आएको तेलपानी–भुरीगाउँ सडकलाई पूर्णता दिन सके कर्णालीको समृद्धिमा नयाँपन थपिने उल्लेख गर्दै उनले यो मार्गलाई पूर्णता दिएरै छाड्ने दाबी गरे । यो सडकलाई पूर्णता दिएर चितवनको देवघाटपछि सुर्खेतको रानीघाटलाई धार्मिक क्षेत्रका रूपमा विकास गर्ने गरी प्रदेश सरकार अघि बढेको उनले बताए । तोकिएकै समयमा निर्माणको काम सम्पन्न गर्न निर्माण व्यवसायीलाई आग्रह गर्दै मुख्यमन्त्री कँडेलले आयोजनालाई पूर्णता दिन स्थानीय स्तरमा अनावश्यक विवाद सिर्जना गर्न नहुने बताए ।
छेडा–कल्याणकाँध सडकको स्तरोन्नति पनि सुरु
यसैबिच, प्रदेश सरकारले पर्यटकीय र ऐतिहासिक महत्त्व बोकेको छेडा–गढी–लेकगाउँ–कल्याणकाँध सडकको स्तरोन्नति पनि सुरु गरेको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पर्यटकीय महत्त्व बोकेको छेडा–गढी–लेकगाउँ–कल्याणकाँध सडक स्तरोन्नतिका लागि शिलान्यास गरे । वीरेन्द्रनगर नगरपालिका १४ देखि बराहताल गाउँपालिकाको कल्याणकाँध जोड्ने सात किलोमिटर सडकको स्तरोन्नति कार्यका लागि मुख्यमन्त्री कँडेलले सोमबार शिलान्यास गरेका हुन् ।
उनले सडकको शिलान्यास गर्दै विकासका काम भइरहँदा कर्मचारी र सरकारको भर नपरी यसमा सबैले साथ दिनुपर्ने बताए । मुख्यमन्त्री कँडेलले भने, “समुदायले विकास मेरा लागि हो भन्ने सम्झनुपर्दछ । प्रदेश सरकार यहाँका पूर्वाधार आवश्यकता पूर्ति गर्न निर्बाध अगाडि बढेको छ । विकास जनप्रतिनिधि र कर्मचारीले मात्रै गर्ने नभई हामी सबैको हो भन्ने सोचसहित सहयोग गर्न सबैलाई आग्रह छ ।” ऐतिहासिक तथा पुरातात्तिवक महत्त्व बोकेको गढीदेखि कल्याणकाँधसम्म निर्माण हुने सात किमी सडकले यहाँका स्थानीयको दैनिकीमा सहजता ल्याउने मुख्यमन्त्री कँडेलको विश्वास छ ।
पूर्वाधार विकास निर्देशनालय सुर्खेतका निर्देशक सूर्यबहादुर शाहीले करिब रु आठ करोडमा निर्माण हुने उक्त सडक तीन हजार पाँच सय मिटर पक्की र सोही बराबर दूरीमा ग्राभेल सडक निर्माण हुने जानकारी दिए । उनका अनुसार गत वैशाख २२ गते सम्झौता भएर सडक निर्माणको जिम्मा बिआईएस कन्स्ट्रक्सन प्रालि काभ्रेपलाञ्चोकले लिएको छ । सडक निर्माण अवधि विसं २०८३ असार मसान्तसम्म रहेको निर्देशक शाहीले बताए ।






कुलेन्द्र शाही । २०८२ जेष्ठ १४ गते बुधवार