जाजरकोटमा दुर्घटना न्यूनीकरण अभियान : मा.प.से. चेकिङदेखि ट्राफिक सचेतनासम्म

जाजरकोट । जाजरकोट जिल्लामा बढ्दो सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित यातायात व्यवस्थापनलाई प्रभावकारी बनाउन जिल्ला ट्राफिक प्रहरी कार्यालय जाजरकोटले विभिन्न अभियान सञ्चालन गरिरहेको छ।

ट्राफिक कार्यालय जाजरकोटका प्रमुख प्र.स.नि. शैलेन्द्र कुमार मल्लको कमाण्डमा भेरी नगरपालिका–४ गैरीखाली बजार क्षेत्रमा अव्यवस्थित तरिकाले सडक तथा बजार परिसरमा राखिएका निर्माण सामग्री हटाइएको छ। बजार क्षेत्रलाई व्यवस्थित बनाउँदै सवारीसाधन र पैदल यात्रुको आवागमन सहज बनाउन उक्त अभियान सञ्चालन गरिएको हो।

 

त्यसैगरी, बजार परिसरमा चालक, सहचालक तथा पैदल यात्रुहरूलाई लक्षित गरी ट्राफिक सचेतना कार्यक्रमसमेत सञ्चालन गरिएको छ। कार्यक्रममा ट्राफिक नियमको पालना, सवारी चलाउँदा अपनाउनुपर्ने सावधानी, हेल्मेट र सिटबेल्टको अनिवार्य प्रयोग तथा सडक सुरक्षासम्बन्धी विविध विषयमा जानकारी दिइएको थियो।

यसअघि गत महिनाको ३१ गतेदेखि जिल्ला ट्राफिक प्रहरी कार्यालयले सम्बन्धित निकायसँगको संयुक्त समन्वयमा सवारी दुर्घटना न्यूनीकरण अभियान सञ्चालन गर्दै आएको छ। अभियानअन्तर्गत बजार क्षेत्रमा नियमित रूपमा सवारी चेकजाँच गरिनुका साथै मादक पदार्थ सेवन (मा.प.से.) चेकिङ मेसिनमार्फत चालकहरूको परीक्षणसमेत भइरहेको छ।

ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरी सवारी चलाउने, तीव्र गतिमा सवारी हाँक्ने तथा ट्राफिक नियम उल्लङ्घन गर्ने प्रवृत्ति दुर्घटनाका प्रमुख कारण भएकाले यस्ता गतिविधि नियन्त्रण गर्न चेकजाँचलाई थप प्रभावकारी बनाइएको जनाएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयले सडक सुरक्षा र दुर्घटना न्यूनीकरणका लागि सञ्चालन गरिएका अभियानलाई आगामी दिनमा अझ प्रभावकारी बनाउँदै निरन्तरता दिइने जनाएको छ। साथै, सुरक्षित यात्राका लागि सबै चालक, सहचालक तथा सर्वसाधारणलाई ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रहसमेत गरेको छ।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया