जाजरकोट दरबारमा भूकम्प र वर्षाको दोहोरो प्रहार, ऐतिहासिक सम्पदा जोखिममा

यो दरबार तत्कालीन जाजरकोट राज्यको शाही निवास मात्र नभई प्रशासनिक केन्द्रको रूपमा पनि प्रयोग गरिन्थ्यो । जाजरकोट राज्य बाइसे–चौबिसे राज्यहरूमध्ये एक हो, जुन नेपाल एकीकरणअघि स्वतन्त्र शासकीय एकाइका रूपमा परिचित थियो।

विनोद कुमार घर्ती, जाजरकोट । जाजरकोटको ऐतिहासिक सेतो दरबार भूकम्प र वर्षाको दोहोरो प्रहारले गम्भीर जोखिममा परेको छ । गत वर्ष कार्तिक १७ गते गएको विनाशकारी भूकम्पपछि चर्किएको दरबारमा गएराति परेको अविरल वर्षाले थप क्षति पुर्‍याएको हो ।
जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीका अनुसार, निरन्तर वर्षाले दरबारको केही भाग पूर्ण रूपमा भत्किएको छ ।
‘जाजरकोट दरबार’ का नामले चिनिने सेतो दरबार विक्रम संवत् १८५२ मा तत्कालीन राजा इन्द्रनारायण शाहको पालामा निर्माण गरिएको हो । यो दरबार तत्कालीन जाजरकोट राज्यको शाही निवास मात्र नभई प्रशासनिक केन्द्रको रूपमा पनि प्रयोग गरिन्थ्यो । जाजरकोट राज्य बाइसे–चौबिसे राज्यहरूमध्ये एक हो, जुन नेपाल एकीकरणअघि स्वतन्त्र शासकीय एकाइका रूपमा परिचित थियो।
खलंगा बजारको सबैभन्दा अग्लो स्थानमा अवस्थित यो दरबार समुद्री सतहदेखि करिब १ हजार३ सय ५० मिटरको उचाईमा रहेको छ । यहाँबाट वरपरका पहाड, गाउँबस्ती र प्राकृतिक दृश्यहरू प्रस्ट देखिने भएकाले पर्यटकीय हिसाबले पनि यो स्थल आकर्षक मानिन्छ ।


परम्परागत नेपाली वास्तुकलामा ढुंगा, काठ र माटो प्रयोग गरी निर्माण गरिएको दरबार सेतो रङमा रंगिएकोले ‘सेतो दरबार’ भन्ने नाम पाएको हो । १९९० सालको महाभूकम्प आउनुभन्दा ३८ वर्षअगाडि बनेको दरबार समयसँगै जीर्ण हुँदै गइरहेको थियो । पछिल्लो भूकम्पले दरबारको संरचना गम्भीर रूपमा चर्काएको थियो भने, अबिरल वर्षाले त्यसलाई थप भत्काएको छ । अहिले दरबारका पर्खाल, छाना र भित्री कोठाहरू पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् ।
नेपाल सरकारले सेतो दरबारलाई देशका एक सय प्रमुख पर्यटकीय गन्तव्यहरूमध्ये एकको रूपमा सूचीकृत गरेतापनि संरक्षण र पुनः निर्माणतर्फ अपेक्षित ध्यान नदिएको गुनासो स्थानीयवासीले गर्दै आएका छन् ।


भेरी नगरपालिका–३ का कर्ण बहादुर खत्री भन्छन्, “समयमै उचित संरक्षण नभए यो अमूल्य सम्पदा सधैंका लागि हराउनेछ ।” उनका अनुसार दरबार जोगाउन सरकारको सक्रियता अत्यावश्यक छ ।
खत्रीले थपे, “यो दरबार केवल भवन होइन, हाम्रो पहिचान र इतिहास हो। यदि आज हामी मौन बस्यौं भने, भोलिको पुस्ताले यसलाई केवल तस्बिरमा मात्र देख्नेछ ।”
अहिलेको आवश्यकता भनेको सेतो दरबारलाई थप क्षतिबाट जोगाउँदै यसको पुनःनिर्माण कार्यलाई राष्ट्रिय प्राथमिकता दिनु हो ताकि भावी पुस्ताले पनि यस गौरवशाली सम्पदाको अध्ययन, अनुभव र सम्मान गर्न सकोस् ।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया