
जाजरकोट ३१ असोज । भूकम्पले क्षतिग्रस्त जाजरकोटको ऐतिहासिक दरबारमा बडादसैँको फूलपाती भित्राइएको छ।
शनिबार भेरी नगरपालिका ११ जगतिपुरबाट खड्गदेवतासहित फूलपाती भित्र्याइएको हो । ऐतिहासिक दरबारमा क्षति पुगे पनि जाजरकोटको इतिहास धार्मिक आस्था र सांस्कृतिक पहिचानसँग जोडिएको परम्परालाई निरन्तरता दिइएको छ।
परम्परागत विधिअनुसार जगतिपुरबाट ल्याइएको खड्गदेवता र फूलपाती जाजरकोट दरबारमा भित्र्याइएको प्रमुख जिल्ला अधिकारी नवराज बरालले बताए। बरालको संयोजकत्वमा असोज २८ गते बसेको बैठकले जगतिपुरबाट खर्कदेवता र फूलपातीलाई व्यवस्थित रूपमा दरबारमा भित्र्याउने निर्णय गरेको थियो। सोही निर्णयअनुसार यस वर्षको फूलपाती भित्र्याइएको छ । जाजरकोटका प्रमुख जिल्ला अधिकारी बरालले ऐतिहासिक तथा धार्मिक महत्व बोकेको परम्परालाई व्यवस्थित रूपमा निरन्तरता दिनुपर्ने बताएका छन्। जाजरकोटको मौलिक संस्कृति, धार्मिक आस्था र ऐतिहासिक पहिचानसँग जोडिएका परम्पराको संरक्षण गर्नु सबैको साझा दायित्व भएको उनको भनाइ छ। भूकम्पका कारण ऐतिहासिक दरबारमा क्षति पुगे पनि त्यससँग जोडिएका सांस्कृतिक र धार्मिक गतिविधिलाई निरन्तरता दिनु महत्वपूर्ण रहेको उनले बताए।
जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानका अध्यक्ष जनक केसीले जगतिपुरबाट खड्गदेवतासहित फूलपाती भित्र्याउने परम्परा जाजरकोटको ऐतिहासिक गौरव र सांस्कृतिक पहिचानसँग जोडिएको बताए। उनका अनुसार लामो समय रोकिएको परम्परालाई पुनः सुरु गरेर निरन्तरता दिनु जिल्लाको इतिहास र मौलिक संस्कृतिको संरक्षणका दृष्टिले महत्वपूर्ण छ। नयाँ पुस्तालाई आफ्नो इतिहास, परम्परा र सम्पदाबारे जानकारी गराउँदै यस्ता सांस्कृतिक अभ्यासलाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिए।

जाजरकोटको जगतिपुरबाट खड्गदेवता ल्याएर फूलपाती भित्र्याउने परम्परा लामो समयदेखि चल्दै आएको थियो। तर, सशस्त्र द्वन्द्वका कारण २०५५ सालतिर जगतिपुरबाट खड्गदेवता ल्याउने परम्परा रोकिएको थियो। त्यसपछि खलंगास्थित कालिका मन्दिरबाट फूलपाती ल्याएर दरबारमा भित्र्याउने गरिएको थियो।
लामो समय रोकिएको यो परम्परा २६ वर्षपछि २०८१ सालमा जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको नेतृत्वमा सुरु गरिएको थियो। त्यसयता जगतिपुरबाटै खड्गदेवतासहित फूलपाती भित्र्याउने परम्परालाई निरन्तरता दिइँदै आएको छ।
२०८० साल कात्तिक १७ गते गएको भूकम्पले जाजरकोटको ऐतिहासिक दरबारमा क्षति पुर्याएको थियो। ऐतिहासिक महत्व बोकेको दरबार संरक्षण र पुनर्निर्माणको विषय महत्वपूर्ण बनिरहेका बेला त्यहाँसँग जोडिएका धार्मिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिइनुले सम्पदा संरक्षणको महत्वलाई थप उजागर गरेको छ।
ऐतिहासिक संरचना भत्किए पनि त्यससँग जोडिएको संस्कृति र परम्परा जीवित राख्न सकिने सन्देश यस वर्षको फूलपातीले दिएको छ। जगतिपुरबाट खड्गदेवतासहित फूलपाती भित्र्याउने चलन जाजरकोटको ऐतिहासिक विरासतलाई नयाँ पुस्तासम्म पुर्याउने महत्वपूर्ण माध्यमसमेत बनेको छ।






द मालिका पोष्ट । २०८३ कार्तिक १ गते शनिवार