
कहिलेकाहीँ जीवनमा केही मानिसहरू यति नजिक आउँछन् लाग्छ अब यो मान्छे कहिल्यै टाढा जानेछैन । उसको हाँसोमा आफ्नो खुसी भेटिन्छ ।,
उसको दुःखमा आफ्नो मन दुख्छ र उसको एउटा सानो सन्देशले पनि पूरा दिन उज्यालो बनाइदिन्छ । मलाई पनि त्यस्तै लागेको थियो । एउटा पराही मान्छे मेरो जीवनमा आएको दिनदेखि प्रेमको अर्थ नै बदलिएको थियो । उसले बोल्दा घण्टौँसम्म सुनिरहन मन लाग्थ्यो । कति रात अनिदो बसेको थिए । उसले रिसाउँदा मनाउन मन लाग्थ्यो । ऊ चुप लाग्दा उसको मौनता भित्र लुकेका कुरा बुझ्न मन लाग्थ्यो । मैले उसलाई कहिल्यै आफ्नो भनेर दाबी गरिनँ । तर मनले भने उसलाई आफ्नो बनाइसकेको थियो ।
हामीबीच धेरै कुरा थिए—अनगिन्ती कुराकानी,रातभरिका फोन,सँगै देखेका सपनाहरू र भविष्यका ती मीठा कल्पनाहरू उसले पनि भन्थी, “तिमीबिना म अधुरो हुन्छु ।” तिमि मेरो पराण हौं..। त्यही एउटा वाक्यमा मैले संसार जितेजस्तो महसुस गरेको थिएँ । तर प्रेममा सबैभन्दा ठूलो गल्ती के रहेछ भने–कसैको शब्दलाई आफ्नो भविष्य सम्झिनु । दिनहरु बित्दै गए हामि दैनिक जसो दुरीले टाढा भएपनि फोनमा संगै हुन्थ्यौं । मैले सबै थोक बिर्सेर उ संग सबै थोक साट्न थाने,बर्षौ देखि सुख दुःखमा साथ दिएका साथीहरु टाढा भए । मैले सबैथोक ठानेर उसको त्यो सुरुवातको मायामा प्रभावित भए ।
तर त्यो खुसि धेरै दिन टिक्न सकेन् । उसको व्यवहार बिस्तारै बदलिन थाल्यो । पहिले घण्टौँ कुरा गर्ने ऊ अब केही मिनेटमै सिमित हुन थाली“पछि कुरा गरौँला” किन कल गरेको ? के काम थियो ? भन्न थाली । पहिले मेरो सानो दुःखमा पनि चिन्ता गर्ने ऊ अब मेरो आँसु देख्दा पनि मौन बस्न थाली अझ भनौ नामर्दको उपनाम दिन थाली ……।
मैले एक दिन गम्भीर भएर सोधेँ, “के भयो ?” उसले भनिन्, “केही भएको छैन । ” तर प्रेम गर्ने मान्छेले ‘केही भएको छैन’भित्र धेरै कुरा भएको बुझ्दो रहेछ । केही दिनपछि उसले आफैँ सत्य भनिन् । “म तिमीलाई छोड्न चाहन्नँ, तर मेरो जीवनलाइ तिमिले बुझदेउ ।” म केही बोल्न सकिनँ । उसको जीवनमा अर्को मान्छे थियो । त्यो मान्छे,जसलाई उसले परिवारको इच्छा,परिस्थितिको बाध्यता र आफ्नो भविष्यसँग जोडेर हेर्न थालेकी थिई ।
मैले धेरै प्रश्न गर्न सक्थेँ । ‘म के कम थिएँ ?’ ‘तिमीले गरेका वाचा कहाँ गए?’ ‘मसँग देखेका सपना कसरी यति सजिलै बिर्सियौ ?’ तर ती प्रश्नहरूको उत्तर पाए पनि मेरो प्रेम फर्किने थिएन । त्यसैले चुप लागेँ आफुलाई मौनतामा हराए । अन्तिमपटक उसले भनिन्, “मलाई माफ गर ।” मलाई धेरै निग्रानी,फोन गरेको मन पर्दैन् । मैले आफनो दुःख साटौला भनेर साथी रोजेको हुँ । मलाइ बारम्बार कल गरे मलाइ रिस उठ्छ । मैले मुस्कुराउँदै भनेँ, “तिमी खुसी हुनु ।” त्यो मेरो मुस्कानभित्र कति पीडा थियो,त्यो उसले देखिन । फोन काटिएपछि म धेरैबेरसम्म त्यही स्क्रिन हेरेर बसिरहेँ । उसको अन्तिम ‘माफ गर’ अझै कानमा गुञ्जिरहेको थियो ।
त्यो रात पहिलोपटक थाहा भयो—कसैलाई गुमाउनु भनेको मान्छे गुमाउनु रहेनछ । उसँग जोडिएका आफ्ना सपना,बानी,आशा र भविष्यका कल्पनाहरू पनि गुमाउनु रहेछ । हो, अब म साँच्चै थाकिसकेको छु । कसैको माया पाउनको लागि बारम्बार आफूलाई प्रमाणित गर्नु पर्दा आफ्नो अस्तित्व नै सानो लाग्न थाल्दो रहेछ । म तिम्रो समयको लागि, तिम्रो ध्यानको लागि,तिम्रो एउटा सानो म्यासेजको लागि दिनभरि पर्खिने मान्छे बनेको थिएँ । फोनको स्क्रिनमा तिम्रो नाम देखिन्छ कि भनेर सयौँ पटक फोन अनलक गर्थेँ । हरेक नोटिफिकेसन आउँदा मुटु एकछिन खुसी हुन्थ्यो, तर फेरि थाहा हुन्थ्यो,त्यो तिमी होइनौ ।सायद तिमीलाई कहिल्यै थाहा भएन,कसैलाई यति धेरै सम्झिनु कति पीडादायी हुन्छ भनेर । तिमी व्यस्त थियौ होला,आफ्नै दुनियाँमा रमाइरहेका थियौ होला । तर म भने तिम्रो एउटा “कस्तो छौ ?“ भन्ने शब्दको आशामा पुरै दिन बिताइरहेको थिएँ । म सधैँ तिम्रो लागि उपलब्ध भएँ । तिमी दुःखी हुँदा साथ दिएँ,तिमी टुट्दा सम्झाएँ,तिमी एक्लो हुँदा समय दिएँ । तर जब म आफैँ भित्रभित्रै टुटिरहेको थिएँ,त्यो कसैले देखेन । सायद मैले आफ्नो पीडा धेरै लुकाएँ । म यति धेरै ठिक छु भन्न बानी परेँ कि कसैले मेरो आँखाभित्रको थकान पढ्न सकेन ।
अब मैले बुझ्न थालेको छु,मायाले जबर्जस्ती कसैलाई रोक्न सक्दैन । जसलाई बस्न मन हुँदैन,उसलाई हजार कारण दिए पनि उ जान्छ । र जसले साँच्चै माया गर्छ,उसले कहिल्यै आफूले माया गरेको मान्छेलाई यति धेरै एक्लो महसुस गराउँदैन । तिमीले बिस्तारै मबाट टाढा हुन सिक्यौ ।… म पनि अब तिमी बिनाको जीवनमा आफूलाई बानी पार्दै छु । पहिला तिम्रो म्यासेज नआउँदा निन्द्रा लाग्दैनथ्यो,अहिले भने फोन नै साइलेन्टमा राख्न सिक्दै छु । पहिला तिम्रो एउटा रिप्लाईले दिन राम्रो हुन्थ्यो,अहिले भने आफ्नै मन बुझाउन सिक्दै छु । साँचो कुरा के हो भने, म अझै पनि तिमीलाई नराम्रो मान्न सक्दिनँ । किनकि केही मान्छेहरू हाम्रो जीवनमा खुसी भएर होइन, पाठ बनेर आउँछन् । तिमीले मलाई एउटा ठुलो पाठ सिकायौ ।
समय बित्दै गयो । उनि आफ्नो संसारमा अघि बढिन् । म आफ्नै एक्लोपनसँग बाँच्न सिकेँ । कहिलेकाहीँ उसको सम्झना आउँदा मनले अझै सोध्छ “यदि परिस्थितिले साथ दिएको भए,के ऊ मेरी हुन्थी ?” तर आज उत्तर थाहा छ । अरूको मान्छे कहिल्यै आफ्नो हुँदो रहेनछ । जति माया गरे पनि,जति सम्झिए पनि,जति आँसु बगाए पनि–मनले चाहेको मान्छे आफ्नो भाग्यमा लेखिएको नहुदो रहेछ । प्रेम भनेको पाउनु मात्रै रहेनछ । कहिलेकाहीँ प्रेम भनेको आफूले सबैभन्दा धेरै माया गरेको मान्छेलाई आफ्नै हातले बिदाइ गर्नु पनि रहेछ ।
मलाइ आज पनि उसको सम्झना आउँछ । तर अब उसलाई पाउने चाहना छैन । बस्, मनबाट एउटा प्रार्थना निस्कन्छ “जहाँ भए पनि खुसी रहनू । तिमी मेरो हुन नसके पनि, मेरो जीवनको सबैभन्दा सुन्दर अध्याय बनेर सधैँ रहिरहनू ।” किनकि केही प्रेमहरू विवाहमा पुग्दैनन्, साथमा पुग्दैनन्,गन्तव्यमा पुग्दैनन् । तर पनि ती प्रेमहरू झुटा हुँदैनन् । ती अधुरा हुन्छन् । र अधुरो प्रेमको सबैभन्दा ठूलो सत्य यही रहेछ “मनले आफ्नो मानेको मान्छे पाउँन भाग्यले आफ्नो नबनाउनु पर्दो रहेछ ।” आफ्नो मूल्य त्यहाँ खोज्नु हुँदैन जहाँ तिमीलाई बारम्बार बेवास्ता गरिन्छ भनेर । अब म कसैको पछाडि दौडिन चाहन्नँ । अब म आफूलाई गुमाएर कसैलाई पाउन चाहन्नँ ।किनकि अन्त्यमा, सबैभन्दा धेरै साथ दिनुपर्ने मान्छे आफू नै रहेछ । हो,केही रात अझै गाह्रो हुनेछन् । केही यादहरूले अझै आँखा रसाउनेछन् । कतिपटक मन फेरि तिमीलाई सम्झेर कमजोर हुनेछ,तर म बिस्तारै निको हुँदै जानेछु ।
लेखक: रबिन्द्र खड्का, जाजरकोट






द मालिका पोष्ट । २०८३ भाद्र ३१ गते बुधवार