
जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका-१ र २ को बीचमा पर्ने बौलाह खोलामा आएको बाढीले घरटहरा, पसल तथा विभिन्न संरचनामा ठूलो क्षति पुर्याएको छ। भदौ २८ गते राति परेको अविरल वर्षापछि आएको बाढीले बैरीताल क्षेत्रमा स्थानीयले सञ्चालन गर्दै आएका व्यवसाय तथा अस्थायी संरचना बगाएको हो।
बाढीले मानबहादुर विकको तीन कोठे अस्थायी टहरा, बविता महराको अस्थायी टहरा तथा किराना पसल, कृष्ण महराको एक कोठे टहरा र बलबहादुर विकको किराना पसल रहेको टहरा पूर्णरूपमा बगाएको छ।
त्यस्तै मेघराज कुमाईको बोइलर कुखुराको दाना राख्ने टहरा, नन्दे महरको कपडा पेल्ने मेसिनसहितको टहरा र जनक भण्डारीको फ्रेश हाउस पूर्णरूपमा क्षतिग्रस्त भएका छन्। फ्रेश हाउसमा रहेका करिब १०० वटा बोइलर कुखुरा समेत बाढीले बगाएको प्रमुख जिल्ला अधिकारी नवराज बरालले जानकारी दिनुभयो।
प्रजिअ बरालका अनुसार दले कामीको किराना पसलमा हिलो तथा पानी पसेर आंशिक क्षति पुगेको छ। छवि महरको भे १ ह २६३३ नम्बरको अटो र हिरालाल घर्तीको ग १ त ७२७८ नम्बरको ट्र्याक्टर समेत हिलो तथा माटोले पुरिएर आंशिक क्षति भएको छ। यस्तै नलगाड नगरपालिका–२ का सत्यदेव चनाराको पानीघट्ट पनि बाढीले पूर्णरूपमा बगाएको छ।
बाढीका कारण भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ। सडक अवरुद्ध हुँदा उक्त सडकखण्डमा आवतजावत प्रभावित भएको छ।
घटनाबारे भदौ २९ गते बिहान ६ः४५ बजे इलाका प्रहरी कार्यालय दल्लीमा जानकारी प्राप्त भएपछि प्रहरी निरीक्षक किरण सापकोटाको कमाण्डमा १० जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो। उद्धार तथा क्षतिको विवरण संकलनका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीसमेत घटनास्थलमा पुगेको छ।
घटनामा हालसम्म मानवीय क्षति नभएको र भौतिक तथा व्यावसायिक संरचनामा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक बुद्धिसागर पुरीले बताउनुभयो। उहाँका अनुसार क्षतिको थप विवरण संकलन भइरहेको छ। अवरुद्ध सडक खुलाउन सुरक्षाकर्मी तथा सम्बन्धित निकायले आवश्यक पहल गरिरहेका छन्।






विनोद कुमार घर्ती (रिदम) । २०८३ भाद्र २९ गते सोमवार