
जाजरकोट । जाजरकोटकी प्रतिनिधिसभा सदस्य पार्वती विकले नलगाड नगरपालिका–१० र ११ बीच पर्ने तासुगाड खोलामा तत्काल पुल निर्माण गर्न नेपाल सरकारसँग माग गरेकी छन् । वर्षायाममा खोलामा बाढी आउँदा स्थानीय नागरिकले वर्षौंदेखि जोखिमपूर्ण आवतजावत गर्नुपरेको र पछिल्लो समय मानवीय क्षतिको जोखिमसमेत बढेको भन्दै उनले प्रतिनिधिसभा बैठकमार्फत सरकारको ध्यानाकर्षण गराएकी हुन् ।
भेरी करिडोरअन्तर्गत पर्ने तासुगाड खोलाले नलगाड नगरपालिका–११ दमकाका रत्नबहादुर दमाईलाई खोलाले बगाएर बेपत्ता बनाएको छ । सोही स्थानमा यसअघि पनि एक महिलालाई खोलाले बगाएपछि बल्लतल्ल स्थानीय युवाहरु र नेपाल पुलिसको सहायतामा उद्धार गरिएको स्थानीयले बताएका छन् ।
गत साउन २९ गते आएको बाढीले तासुगाड खोलाको पुल बगाउनुका साथै पाँच वटा घर तथा पसलसमेत बगाएको थियो । पुल बगाएपछि स्थानीयको दैनिक आवतजावत थप जोखिमपूर्ण बनेको छ । स्थानीयका अनुसार पुल निर्माणका लागि ठेक्का भएको वर्षौं बितिसक्दा पनि निर्माण कार्य अघि बढ्न सकेको छैन । पुल निर्माणमा ढिलाइ हुनुमा ठेकेदारको लापरबाही र सम्बन्धित निकायको बेवास्ता रहेको स्थानीयको गुनासो छ । पटक–पटक ताकेता गर्दा पनि निर्माण कार्यले गति नलिएको उनीहरूको भनाइ छ ।
वर्षायाममा तासुगाड खोलामा पानीको बहाव बढेपछि विद्यालय जाने विद्यार्थी, स्थानीय बासिन्दा तथा भेरी करिडोरमा आवतजावत गर्ने यात्रुहरू समेत जोखिममा पर्ने गरेका छन् । स्थानीयले सुरक्षित आवतजावतका लागि तत्काल स्थायी पुल निर्माण गर्न सरकारसँग माग गरेका छन् ।
प्रतिनिधिसभा बैठकमा सांसद विकले आफ्नै निर्वाचन क्षेत्रका नागरिकले वर्षौंदेखि भोग्दै आएको यो पीडालाई सरकारले गम्भीरतापूर्वक लिएर तासुगाड खोलामा तत्काल पुल निर्माणको काम अघि बढाउनुपर्ने बताएकी छन् । नागरिकको ज्यान जोखिममा पर्ने अवस्था आउँदा पनि पुल निर्माणमा ढिलाइ हुनु दुःखद भएको भन्दै उनले सम्बन्धित निकायको ध्यानाकर्षण गराएकी हुन्।
तासुगाडमा पुल नबन्दा हरेक वर्ष वर्षायाममा स्थानीयको ज्यान जोखिममा पर्ने अवस्था दोहोरिँदै आएको छ । पछिल्लो घटनाले भने पुल निर्माणमा भइरहेको ढिलाइप्रति थप गम्भीर प्रश्न उठाएको छ ।
Video Link
https://www.facebook.com/share/v/1UGYEbTcAP/






विनोद कुमार घर्ती (रिदम) । २०८३ भाद्र २६ गते शुक्रवार